दशकमा पनि बनेन काभ्रे खानेपानी आयोजना «

दशकमा पनि बनेन काभ्रे खानेपानी आयोजना


बनेपा, पनौती र धुलिखेलका नागरिकलाई अविछिन्न शुद्ध र गुणस्तरीय खानेपानी उपलब्ध गराउने उद्देश्य र मुहानबाट दैनिक प्रतिसेकेण्ड ७७.७३ लिटर पानी प्राप्त गर्ने लक्ष्य बोकेको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोेजना ११ वर्षसम्म अधुरै छ । दुई वर्षमा सकिनुपर्ने आयोजना ११ वर्ष बित्दा पनि अधुरै छ । आयोजनाको तीन प्रतिशत बाँकी कम कहिल्यै पूरा नहुँदा अधुरै रहेको हो ।
२०६८ सालमा (सन् २०१० अक्टोवर २६) मा नेपाल सरकार र एसियाली विकास बैंकबीच ऋण सम्झौता भएको थियो । जिल्लाको कोलाँती, भुमेडाँडा र कुशादेवीस्थित मूलडोल खोला, सिसाखानी खोला, वैरमहादेव खोला र खारखोलाबाट ल्याइएको पानी तीन नगरपालिकाको विभिन्न स्थानमा बनाइएको ट्यांकीमा जम्मा गरी वितरण गर्ने योजना छ ।
आयोजना निर्माणको ठेक्का चिनियाँ निर्माण व्यवसायी कम्पनी निम्वो निङसिङ इन्टरनेसनल इङ्कले पाएको थियो । निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनीको सन् २०२० नोभेम्बर ३० बाट म्याद सकिएको छ ।
१९ डिसेम्बर २०१२ मा ठेकेदारसँग सम्झौता भएको आयोजनाको ठेकेदारले कामको सुरुवात भने १२ जुन २०१३ मा गरेको थियो । कार्य सम्पन्न गर्नुपर्ने मिति १२ जुन २०१५ मा भए पनि हालसम्म खानेपानीको काम सम्पन्न हुन सकेको छैन । ठेकेदारलाई अन्तिम १२औं पटक म्याद थपेर सक्नुपर्ने मिति ३० नोभेम्बर २०२० भए पनि ठेकेदारको लापरबाहीले गर्दा अहिले जुलाई २०२१ हुँदा पनि सकिएको छैन ।
म्याद सकिएको भन्दै काभ्रे उपत्यका एकीकृत खानेपानी व्यवस्थापन बोर्डले ठेकेदार कम्पनीलाई हर्जना तिराएर काम लगाएको छ । ठेकेदार र ठेकेदारको सुपरीवेक्षणमा खटिएका परामर्शदाताको ढिलासुस्तीले जनताले खानेपानी खान पाएका छैनन् । कम्तीमा पनि परामर्शदाताले ठेकेदारको कामलाई कडाइ गरिदिएको भए यो अवस्था नआउने जानकारको भनाइ छ ।
आयोजनाको कुल लागत भ्याट र कन्टिजेन्सी बाहेक ९९ करोड आठ लाख सात हजार ८२१ रुपैयाँ रहेको छ । सुरुमा लागत अनुमान ६७ करोड, ३४ लाख, ८३ हजार १२६ भए पनि चौथो भेरिएसन अर्डरबाट आयोजनाको सम्पूर्ण लागतको ४७ दशमलव १५ प्रतिशत रकम थप भई भ्याट र कन्टिजेन्सी बाहेक ९९ करोड आठ लाख सात हजार ८२१ रुपैयाँ पुगेको थियो

तीन प्रतिशत बाँकी भनेकै डेढ वर्ष भयो
खानेपानी योजनाको स्वामित्व रहेको काभ्रे उपत्यका एकीकृत खानेपानी व्यवस्थापन बोर्डका पदाधिकारी र कर्मचारीहरूले सबैलाई अब तीन प्रतिशतमात्रै काम सकिन बाँकी भनेको पनि डेढ वर्ष भइसक्यो । कहिले पुग्ने रहेछ तीन प्रतिशत स्थानीय उपभोक्ता भन्न थालेका छन् । आखिर किन तीन प्रतिशत काम सम्पन्न हुन सकेन त ? बोर्डले जानकारी नदिए पनि बनेपावासीसँग धारा जडान शुल्क भनेर रकम लिएको नगरपालिकाले सही जानकारी दिनुपर्ने स्थानीयले जानकारी दिए ।
२०७६ चैत ६ गतेबाट परीक्षण हुने भनेर सूचना नै निकालेर स्थानीय जनतालाई जानकारी गराए पनि अहिलेसम्म हुन सकेन । बनेपा नगरपालिकाले २०७१ सालभित्रै एकीकृत खानेपानी आउँछ भनेर लागत सहभागितावापतको रकम उठाइसकेको छ । बनेपाका उपभोक्ताले धारा जडानको रसिद बोक्न थालेको पनि साढे सात वर्ष पूरा भएको छ । स्थानीयले परामर्शदाता र बोर्डमा आएका नगरपालिका कर्मचारीहरूको जागिर लम्ब्याउने नियत पनि हुनसक्ने बताउँदै आएका छन् ।
“नत्र भने ९७ प्रतिशत काम सकियो भनेको खानेपानी किन जनताको घर–घरमा तोकेको मितिमा खस्दैन ? किन पटक–पटक पानी खस्ने मिति सारिन्छ ? बरु स्थानीय चुनाव हुनुअघि कर्मचारीहरूरुले बोर्ड हाँकेका बेला धेरै काम भएको देखिन्छ । जनप्रतिनिधि आएपछि किन काममा ढिलासुस्ती भएको हो, बोर्डमा प्रतिनिधित्व गर्नु भएका मेयरसाबले जवाफ दिने हिम्मत गर्न सक्नुपर्छ,” उनीहरूको तर्क थियो ।
बोर्डको कार्यालय पनि आइतबार र बुधबारबाहेक कार्यालय सहयोगीको भरमा खुल्ने गरेकाले खानेपानीका बारेमा जानकारी पाउन नसकिएको गुनासो रहँदै आएको छ । बोर्डको वेबसाइट डब्लूडब्लूडब्लू डट काभ्रेवाटरसप्लाइ डट ओआरजी डट एनपी र बोर्डको आधिकारिक फेसबुक पेजमा पुरानै सूचना रहेका छन् । कामको प्रगति सार्वजनिक माध्यमबाट सुसूचित गराउनु पर्नेमा यत्ति धेरै सजिलो माध्यम हुँदासमेत सहजै जानकारी उपलब्ध हुन सकेको छैन । बोर्ड गठन भएको लामो अवधि पुग्दासमेत बोर्डको पुनर्गठन भएको छैन ।
बनेपा–पनौती सडक विस्तारका क्रममा सडकको दायाँबायाँ रहेका अधिकांश पाइपलाइनमा क्षति पुगेको अवस्था सो सडकमा यात्रा गर्ने जोकोहीले पनि देख्न सक्छ ।
ती पाइपलाइन समयमै बन्नेमा आशंका उब्जिएको पनौती नैकिन्टारका बासिन्दाको भनाइ छ । यस्तै अवस्था पनौती–खोपासी सडक विस्तारमा समेत देखिएको छ । सडक बनाउने ठेकेदारले पाइपलाइनमा क्षति पुग्ने गरी काम गरिरहँदा समेत बोर्डबाट प्राविधिक र कर्मचारी स्थलगत गएर सडकका ठेकेदारलाई कारबाही नगरेको अवस्था छ ।

कपिल कोइराला

प्रतिक्रिया दिनुहोस्