दोलखाका ९ स्थानीय तहको बेरुजु ३८ करोड «

दोलखाका ९ स्थानीय तहको बेरुजु ३८ करोड

दोलखाका ९ स्थानीय तहहरुको आर्थिक वर्ष २०७६/७७ को करिब ३८ करोड बेरुजु आएको छ । महालेखा परीक्षकको ५८ औं वार्षिक प्रतिवेदन अनुसार उक्त आर्थिक वर्षको स्थानीय तहहरुको बेरुजु रकम ३७ करोड ६६ लाख ९५ हजार रुपैयाँ रहेको पाइएको हो । त्यस मध्ये एक तिहाइ बेरुजु बैतेश्वर गाउँपालिकाको मात्र छ । बैतेश्वर गाउँपालिकाको बेरुजु १२ करोड ४८ लाख देखिएको छ ।
जिल्लाका दुई नगरपालिका र सात गाउँपालिकाको कुल ८ अर्ब ५७ करोड ७४ लाख ५३ हजार को लेखा परीक्षण गरिएको थियो । सो रकम बेरुजु देखिएको महालेखा परीक्षकको ५८ औं प्रतिवेदनमा उल्लेख छ ।
जिल्लाका स्थानीय तहमध्ये बैतेश्वर गाउँपालिकाको बेरुजु सबैभन्दा बढी रहेको छ । ८८ करोड ५८ लाख ६० हजारको लेखापरीक्षण गरिएकोमा १२ करोड ४८ लाख ४२ हजार बेरुजु देखिएको छ । यो रकम कुल रकमको १४ प्रतिशत हो । यो रकम ९ वटा स्थानीय तह मध्ये बैतेश्वरको मात्र एकतिहाइ बेरुजु देखिएको हो ।
मेलुङ गाउँपालिकाको ६५ करोड ३८ लाख ७१ हजारको लेखा परीक्षण गर्दा ४ करोड ३७ लाख ९८, गौरीशंकर गाउँपालिकाको ७१ करोड २२ लाख ३४ हजार लेखापरीक्षण गर्दा ४ करोड १० लाख ४१ हजार तथा शैलुङ गाउँपालिकाको ९५ करोड ८४ लाख ७० हजारको लेखा परीक्षण गर्दा ४ करोड ४६ लाख ३५ हजार बेरुजु रहेको छ ।
यसैगरी बिगु गाउँपालिकाको ७४ करोड ८५ लाख २४ हजारको लेखा परीक्षण गर्दा २ करोड ६७ लाख ५८ हजार, जिरी नगरपालिकाको ८७ करोड ७२ लाख २० हजारको लेखा परीक्षण गर्दा २ करोड ९२ लाख ३१ हजार तथा भीमेश्वर नगरपालिकाको १ अर्ब ६७ करोड ७४ लाख २० हजारको लेखा परीक्षण गरेकोमा ३ करोड ४६ लाख७८ हजार बेरुजु पाइएको छ ।
यस्तै तामाकोशी गाउँपालिकाको १ अर्व ७ करोड ९५ लाख ६० हजारको लेखा परीक्षण गरीएकोमा १ करोड ८६ लाख ९५ हजार र कालिञ्चोक गाउँपालिकाको ९८ करोड ४२ लाख९४ हजारको लेखा परिक्षण गर्दा १ करोड ३० लाख १७ हजार पाइएको छ ।
प्रतिशतका हिसाबले सबैभन्दा बढी बेरुजु बैतेश्वर गाउपालिकाको १४ दशमलव शून्य ९, मेलुङ गाउँपालिकाको ६ दशमलब ७, गौरीशंकर ५ दशमलव ७६, शैलुङ ४ दशमलव ६६ विगु ३ दशमलब ५७, जिरी नगरपालिका ३ दशमलब ३३, भीमेश्वर नगरपालिका २ दशमलव शून्य ७, तामाकोसी गाउँपालिका १ दशमलब ७३ तथा सबैभन्दा कम कालिञ्चोक गाउँपालिका १ दशमलव ३२ प्रतिशत रहेको छ ।
रकम तथा प्रतिशत दुवैको हिसावले सबै भन्दा बढी बेरुजु बैतेश्वर गाउपालिकामा तथा सबै भन्दा कम कालिञ्चोक गाउँपालिकामा देखिएको महालेखा परीक्षकको ५८ औं प्रतिवेदनमा उल्लेख छ । बैतेश्वर गाउँपालिकाको बढी बेरूजु देखिनुमा समयमा लेखा अधिकृतले भुक्तानी नदिँदा बढी देखिएको गाउँपालिकाकै एक कर्मचारीले बताए ।
समयमै काम सकिएको एक भवनको १० करोड भुक्तानी समयमा नै भुक्तानी नगरेर चेक काट्न बन्द भएको भोलि पल्ट मात्र भुक्तानी दिएका थिए । कानुनी रूपमा १० बेरूजु देखिए पनि व्यवहारिक रूपमा २ करोड मात्र भएको उनले दाबी गरे ।
गाउँपालिकाका लेखा अधिकृत सञ्जय शिवाकोटीले मूल्याङ्कन र बील भइ आएका फाइलसमेत लामो समय रोकि राख्दा यस्तो भएको स्थानीयको आरोप छ । ‘समयमा काम पनि नगर्ने, उपभोक्ता र व्यवसायी, सेवाग्राही कसैका फोन नै उठाउँदैनन्’ एक जना सेवाग्राहीले भने ‘सार्वजनिक पदमा बस्ने अनि अरु गुनासो त छाडौं सयौं पटक फोन गर्दा समेत उठाउनेसम्म गर्दैनन् ।’
मेलुङ गाउँपालिकाका प्रवक्ता हिरा थोकर पनि लेखा शाखाका कर्मचारीकै हेलचेक्रयाँङका कारण बेरूजु बढी देखिने बताउँछन् । लेखाका कर्मचारी जिम्मेवार बढी भएका ठाउँमा बेरूजु कम रहेको भन्दै बेरुजु बढी आउनु कार्यालय प्रमुख र लेखा प्रमुखको कार्यसम्पादन कमजोरी भएको बताए ।

प्रतिक्रिया दिनुहोस्