मेलम्चीको ठेक्का रद्द गर्न एडीबी सकारात्मक «

मेलम्चीको ठेक्का रद्द गर्न एडीबी सकारात्मक

मेलम्ची खानेपानी आयोजनाको मुख्य विकास साझेदार एसियाली विकास बैंक (एडीबी) ले इटालियन ठेकदार कम्पनी सीएमसीसँगको सम्झौता रद्द गर्न ‘ग्रिन सिग्नल’ दिएको छ । मेलम्ची खानेपानी विकास समिति र एडीबीका प्रतिनिधिबीच भएको द्विपक्षीय छलफलमा सीएमसीसँग सम्झौता रद्द गरेर आयेजनाको सबै बाँकी काम सहायक ठेकदार कम्पनीमार्फत् गर्ने सहमति भएको हो । इटालियन कम्पनी सीएमसीका प्रतिनिधिहरू क्रिसमस र नयाँ वर्ष मनाउन भन्दै भागेपछि समितिले ठेक्का प्रक्रिया रद्द गर्ने प्रक्रिया अघि बढाएको छ । एडीबीले निर्माण कार्य अन्तिम चरणमा रहेको अवस्थामा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्दा समय धेरै लाग्ने भएकाले बाँकी कामहरुलाई एउटै प्याकेज बनाएर गर्नुभन्दा अहिले काम गरिरहेका सहायक ठेकदार कम्पनीमार्फत् गर्ने सुझाव दिएको छ । खानेपानी मन्त्रालयका अनुसार हालसम्म ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । समितिका प्रवक्ता एवं सिनियर डिभिजनल इन्जिनियर राजेन्द्रप्रसाद पन्तले आयोजनाको बाँकी कामहरुको लागत अनुमान गरेर सहायक ठेकेदारमार्फत् अगाडि बढ्न एडीबीले सुझाव दिएको बताए ।
सरकार र दातृ निकायले सहायक ठेकदार कम्पनीमार्फत् काम अगाडि बढाउने निष्कर्ष निकाले पनि सीएमसीले भुक्तानी दिन बाँकी रकम उपलब्ध नभएसम्म काम गर्न नसकिने बताउदै आएका छन् । सीएमसीले सहायक ठेकदार कम्पनीहरुलाई डेढ अर्बभन्दा बढी भुक्तानी दिन बाँकी रहेको बताइएको छ । समितिका प्रवक्ता पन्तले सहायक ठेकदार कम्पनीमार्फत् काम अगाडि बढाउन पुरानो बक्यौता रकम दिनुपर्ने भए पनि कहाँबाट उपलब्ध गराउने भन्ने विषयमा छलफल भइरहेको बताए । उनले सीएमसीलाई दिन बाँकी रकम समितिले उपलब्ध गराई सकेको पनि बताए ।
समितिका प्रवक्ता पन्तले सीएमसीसँग ठेक्का सम्झौता रद्द गरेलगतै राजस्व खातामा रोक्का रकम जम्मा गरिने बताए । समितिले सीएमसीको नेपाल इन्भेस्टमेन्ट बैंक र स्टाण्डर्ड चार्टर्ड बैंकमा रहेको २ अर्ब ५४ करोड रुपैयाँ रोक्का गरिसकेको छ । सीएमसीले ७ अर्ब ७१ करोड लागतमा जिम्मा लिएको आयोजनमा अहिलेसम्म ८ अर्ब ३६ करोड रुपैयाँ लगेको छ भने २ अर्ब ६० करोड बराबरको काम बाँकी रहेको अनुमान गरिएको छ ।
यसैबीच, मेलम्चीको पानी काठमाडौं आउने अन्योल भइरहेको बेला आयोजनाले घरघरमा पाइपलाइन बिछ्याउने कामलाई भने तिब्रता दिएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्चीको पानी वितरणका लागि काठमाडौं उपत्यकामा पाइपलाइन बिछ्याउने कामलाई तिर्बता दिएको बताएको हो । सुन्दरीजलमा पानी आएको १५ दिनभित्र वितरण गर्न सुरु गर्ने र धारा जोडेका सबै उपभोक्ताको घरमा पानी पु¥याउने निर्देशनालयको योजना छ । मेलम्चीको पानी वितरणका लागि काठमाडौं उपत्यकामा १ हजार किलोमिटर पाइपलाइन निर्माण गरिनुपर्नेमा निर्देशनालयले हालसम्म ७ सय ६० किलोमिटर पाइप बिछ्याइसकेको छ । निर्देशनालयका उपपरियोजना निर्देशक दिवाकरप्रसाद दाहालले पुराना पाइपहरु जीर्ण र काम नलाग्ने अवस्थामा रहेकोले नयाँ पाइपमार्फत् घरघरमा पानी वितरण गर्ने गरि काम भईरहेको बताए । उनले आउँदो असार मसान्तभित्र सबै पाइपलाइन निर्माणको काम सम्पन्न हुने बताए ।
निर्देशनालयका उप परियोजना निर्देशक दाहालले मलम्चीको पानी वितरणका लागि पानी ट्यांकी निर्माणको काम पनि अन्तिम चरण पुगेको पनि बताए । निर्देशनालयले काठमाडौं उपत्यकाभित्र आरुबारी, महाङ्काल, पानीपोखरी, बाँसबारी, कीर्तिपुर, बालाजु, सातदोबाटो, ठिमी, कटुन्जेलगायतका १० ठाउँमा पानी ट्यांकी निर्माण गरिरहेको छ । निर्देशनालयका उपपरियोजना निर्देशक दाहालले कटुन्जेबाहेक सबै ठाउँमा ९५ प्रतिशत काम सम्पन्न भईसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्