वैदेशिक रोजगारीमा जानेलाई डलर सटहीमा कडाई «

वैदेशिक रोजगारीमा जानेलाई डलर सटहीमा कडाई

विदेशी विनिमय सञ्चितिमा ह्रास आउन थालेपछि सरकारले वैदेशिक रोजगारीमा जाने नेपालीले लैजान पाउने वैदेशिक मुद्राको सुविधामा कटौती गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार वैदेशिक रोजगारीमा जानेहरूले अबदेखि २ सय अमेरिकी डलरसम्मको वैदेशिक मुद्राको मात्र सटही सुविधा पाउने छन् । यसअघि ५ सय डलरसम्मको वैदेशिक मुद्रा साट्ने सुविधा थियो ।
नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जानेलाई २ सय अमेरिकी डलरसम्म मात्रै सटही सुविधा दिन मंगलबार निर्देशन जारी गरेको छ । रोजगारीमा जानेका लागि २ सय डलर पर्याप्त हुने दाबी गर्दे राष्ट्र बैंकले कामदार विदेश पुगेपछि उसको खर्च रोजगारदाता कम्पनीले गर्ने भएकाले ठूलो मात्रामा वैदेशिक मुद्रा बाहिरिन नदिन यस्तो व्यवस्था गरिएको जनाएको छ ।
विदेशी मुद्राको सञ्चितिको अवस्थामा अनुसार मंसिरसम्मको सञ्चितीले ७.८ महिनामात्रै आयात धान्न सक्छ । पछिल्ला महिनाहरूमा लगातार विदेशी मुद्रा संचिती घट्दै गइरहेको छ । सरकारकै नीतिका कारण विदेशी मुद्रा संचितीमा कमी आएको व्यवसायी बताउँछन् । सरकारले पनि बढ्दो आयात तथा नेपालीले विदेश घुम्नको लागि विदेशी मुद्रा खर्च भएको भन्दै नियन्त्रित गर्न खोजिरहेको छ । राष्ट्र बैकका अनुंसार हाल कुल विदेशी विनिमय सञ्चिति असार मसान्तको तुलनामा ३.३ प्रतिशतले कमी आइ मंसिर मसान्तमा १० खर्ब ६५ अर्ब ८० करोड रहेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७५ असार मसान्तको १० अर्ब ८ करोडबाट ७.९ प्रतिशतले कमी आई २०७५ मंसिर मसान्तमा ९ अर्ब २९ करोड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्