मनसुन अझै एक साता सक्रिय हुने «

मनसुन अझै एक साता सक्रिय हुने

सोमबारदेखि बदली भएको मनसुन अझै पनि १ सातासम्म सक्रिय रहने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । मनसुनी वायु सक्रिय रहेकाले सोमबारदेखि नै देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षा भइरहेको छ ।
सातादिनसम्म नै मनसुन सक्रिय रहेर अधिकांश स्थानमा पानी पर्नाले बाढी पहिरो जस्ता मनसुनजन्य जोखिम बढ्न सक्ने भन्दै सतर्कता अपनाउन मौसमविद्हरुले आग्रह गरेका छन् । मौसमविद् वरुण पौडेलले मनसुनको सामान्य प्रभावसँगै न्यून चापीय रेखा नेपाल भन्दा केही दक्षिणतिर रहेकाले अहिले प्रदेश नं १, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशमा बढी वर्षा हुने र सातादिनसम्म नै मनसुन सक्रिया हुँदा मौसम बदली हुने बताए । उनका अनुसार विहान र रातिको समयमा बढी वर्षा हुनेछ ।
महाशाखाले सोमबार जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान अनुसार मंगलबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन–चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
बुधबार देशको अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मेघ गर्जन–चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्