कर्णालीमा हिमपात : हवाइ र सडक यातायात समेत ठप्प «

कर्णालीमा हिमपात : हवाइ र सडक यातायात समेत ठप्प

  • अन्नपूर्ण पदमार्गमा रहेका पर्यटकलाई सचेतता अपनाउन आग्रह

कर्णालीमा तेस्रो पटक भारी हिमपात भएको छ । हिमपातका कारण बिहानैदेखि जनजीवन प्रभावित बनेको छ । झण्डै एक हप्तासम्म बादल देखिदै आएकोमा मंगलबार बिहानैबाट हिमपात भएको हो । जुम्ला संवाददाता सागर परियार अनुसार राती दुई बजेदेखि फाटफुट बर्षा भएकोमा जुम्लामा बिहान १० बजेपछि हिमपात सुरु भएको हो । हिमपातले खलंगालगायतका टुक्रेबजारको व्यापार ठप्प भएको छ । सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको संख्या निकै कम देखिएको छ ।
तर, किसानका लागि भने यो हिउँ अमृत समान भएको छ । तातोपानी गाउँपालिका २ का सुर बुढा हिउँ किसानका लागि अमृत हुने बताउँछन् । “यो वर्षको अहिलेसम्म हिउँ पनि परेन, वर्षा पनि भएन, हिउँदेबाली सुकेर नष्ट भइसकेको थियो,” उनले भने, “हिउँले किसानको बाली फक्रने छ ।” उनले दशक अघिसम्म पुस र माघ महिनामा झण्डै दर्जन भन्दा बढी पटक हिउँ पर्दथ्यो तर अहिले हिउँ देख्न झण्डै ६ महिना कुर्नुपर्ने बताए । कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ बालकराम देवकोटा हिउँले बोटविरुवा र उत्पादनमा सहयोग हुने बताउँछन् । । “हिउँ पोखरीमा हिउँ सहजै संकलन गर्न सकिन्छ, हावामा भएको आर्दता बढ्छ,” उनी भन्छन्, “पाखो क्षेत्रमा भएको हिउँदे बाली फलफूलमा सहयोग पुग्नुका साथै भाइरल रुघाखोकी समेत नियन्त्रण हुन्छ भने सबै प्रदुषण निर्मुल हुन्छ ।”
मुगु संवाददाता दानबहादुर बुढाका अनुसार हिमपातले विद्यालय बन्द भएका छन् भने हवाई र सडक यातायात समेत अबरुद्ध भएको छ । हिमपातले कर्णालीका हुम्ला डोल्फा, जुम्ला, मुगु जिल्लामा सञ्चालन हुदै आएका हवाई सेवा पनि बन्द छन । मुगुबाट नेपालगञ्ज जाने यात्रु ताल्चा विमानस्थलमा अलपत्र परेका छन् । मुगुमा गएको पुस महिनाको दोस्रो सातामा हिमपात परेको थियो । हिमपातले चिसो बढेसँगै जनजीवन प्रभावित भएपनि क्षतिको जानकारी भने अहिलेसम्म आइपगुेको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए ।
गए रातीबाट हिमपात हुँदा चिसोले विद्यालय बन्द भएका हुन् । यसैगरी रारा ताल्चा विमानस्थल र नाग्म गमगढी सडक समेत बन्द भएको छ । उच्चबस्तीका बृद्धाबृद्ध र बालबालिकासमेत हिमपातबाट प्रभावित बनेका छन् । यस्तै पशुचौपायाको चरण पनि प्रभावित बनेको छ । नाग्म गमगढी सडकको घुच्चीलेखमा १ फिटसम्म हिउँ जम्दा यात्रुहरु अलपत्र परेका छन् भने व्यापारिक प्रयोजनका सामग्रीहरु समेत ल्याउन नसकिएको जुम्लाको गोगीज्यूला भुभुलेका कामना स्टोरकी प्रोपराईटर बाचुकली रावतले बताइन् । हिमपात हुदा कृषकहरु निकै खुसी भएका छन । हिउँ नपर्दा जै, गहुँ, उवालगायतका अन्नबाली र फलफूलमा समेत राम्रो हुने छायानाथ रारा नगरपालिका घट्टलेखकी बाच्या बिक बताउँछिन् ।
मनाङ संवाददाता नेगम परियार र लमजुङ संवाददाता सन्देश पौडेलका अनुसार मनाङमा मंगलबार विहानैबाट हिमपात शुरु भएपछि पर्यटकहरुलाई सचेत रहन आग्रह गरिएको छ । तिव्रगतिमा हावाहुरीसहित हिमपात हुन थालेपछि अन्नपुर्ण पदमार्गमा आएका पर्यटकहरुलाई सचेत हुन स्थानीय प्रशासनले आग्रह गरेको छ । विश्व प्रसिद्ध अन्नपुर्ण पदमार्ग अन्तर्गत थोरङला भन्ज्याङ र तिलिचो ताल पुग्ने पर्यटकहरुलाई हावाहुरीसहित आएको हिमपातले दुर्घटना हुनसक्ने भन्दै सचेत गराइएको मनाङका प्रमूख जिल्ला अधिकारी रुद्रनाथ सापकोटाले बताए । जिल्लास्थित प्रहरी तथा विभिन्न बेसक्याम्पहरुमा मौसमको अनुकुलता हेरेरमात्र पर्यटकहरुलाई अघि बढ्न दिन आग्रह गरिएको सापकोटाले बताए ।
“विहानैदेखि तिव्र गतीमा हावा चलेको छ” प्रजिअ सापकोटाले भने “हिमपात हुने सम्भावना बढि भएकोले पर्यटकहरुलाई सुरक्षित गराउन निर्देशन दिईसकेका छौँ ।” प्रजिअ सापकोटाले बाक्लो सँख्यामा पर्यटक नभएपनि दैनिक १० जनाको हाराहारीमा पर्यटक आईरहेका छन् । जो जुन अवस्थामा छन् त्यहि अवस्थामा राख्ने र जोखिम टरेपछि मात्रै अघिबढ्न आग्रह गरिएको उनले बताए । लामो समयपछि भएको हिमपातका कारण मनाङको जनजीवन प्रभावित भएको छ । हिमपात सँगैतिव्र गतीको हावा चलेपछि जिल्लाका माथिल्ला भेगहरुमा अत्याधिक चिसो बढेको छ । चिसो हावाको कारण बाहिर निस्कने अवस्था समेत नरहेको स्थानियले बताएका छन् ।
चिसोका कारण मनाङमा ताल, बगिरहेका खोला, झरना तथा पाईपको पानी समेत जमेको छ । धारा तथा पाईपमा समेत पानी जमेपछि मनाङको जनजिवन कष्टकर बनेको छ । मनाङको तल्लो क्षेत्र नासोङ र लमजुङको माथिल्लो क्षेत्रमा पनि विहानैबाट चिसो बढेको छ ।

प्रतिक्रिया दिनुहोस्