सेयर धितो कर्जामा कडाइ गर्दै राष्ट्र बैंक «

सेयर धितो कर्जामा कडाइ गर्दै राष्ट्र बैंक


उद्योगी व्यवसायीदेखि सर्वसाधारणसम्म सेयर बजारमा लगानी गर्न हौसिएका बेला नेपाल राष्ट्र बैंकले भने मार्जिन प्रकृतिको (सेयर धितो) कर्जामा कडाइ गर्ने तयारी गरेको छ ।
सीमित व्यक्तिले बैंकबाट सेयर धितोमा कर्जा लिएर पुनः बजारमै लगानी गर्दा जोखिम बढ्दै गएको निष्कर्ष निकाल्दै केन्द्रीय बैंकले यसलाई कडाइ गर्न लागेको हो ।
राष्ट्र बैंकले एक साताअघि सार्वजनिक गरेको मौद्रिक नीतिमै यसको संकेत गरिसकेको छ । मौद्रिक नीतिमा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम चार करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोडसम्ममात्र सेयर धितो कर्जा लिन पाउने व्यवस्था गर्ने घोषणा गरिएको छ । उक्त प्रावधानलाई कार्यान्वयन गर्नका लागि राष्ट्र बैंकले एकीकृत निर्देशन तयारी गरिरहेको छ । निर्देशनमार्फत बैंकबाट कर्जा लिएर सेयर बजारमा ठूलो लगानी गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने राष्ट्र बैंकले तयारी गरेको हो ।
“सेयर धितो राखेर बैंकबाट कर्जा लिने र फेरी त्यही सेयर धितो राखेर कर्जा लिने चक्रलाई रोक्नुपर्छ,” कारोबार दैनिकसँगको अन्तवार्तामा गभर्नर महाप्रसाद अधिकारीले भने, “सधैंभरि यसैगरी स्वतन्त्र छोड्दा कुनैबेला सम्हाल्न नसक्ने अवस्थामा पुग्छ, त्यसैले सेटलमेन्ट गर्ने पर्याप्त समय दिएर यो प्रवृत्तिलाई अन्त्य गर्नुपर्छ ।”
बैंकिङ प्रणालीबाट सेयर धितोमा प्रवाह भएको कर्जामध्ये अधिकांश सीमित व्यक्तिले उपभोग गर्दै आएका छन् । मौद्रिक नीतिमा तोकिएको सीमाभन्दा बढी ऋणको कारोबार गर्ने ऋणीहरूको संख्या एक सयभन्दा बढी छ ।
सेयर बजारलाई स्थायित्व दिने काम मार्केट मेकर तथा म्युचुअल फन्डले गर्नुपर्ने ठाउँमा केहि सीमित व्यक्ति तथा संस्थाले नै बजारलाई तलमाथि गराउन सक्ने अवस्था खतराको सूचक रहेको भन्दै यसलाई तोड्नका लागि सीमा तोकिएको गभर्नर अधिकारीले बताए ।
मौद्रिक नीतिमा समेत गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा जोखिम न्यूनीकरण गर्दै साना लगानीकर्ताको पहुँच अभिवृद्धि गर्ने अभिप्रायले सीमा तोक्नुपरेको उल्लेख गरेका छन् ।
मौद्रिक नीतिले सेयर धितो कर्जालाई कडाइ गर्ने संकेत गरेसँगै लगानीकर्ताले भने यसलाई फिर्ता गर्न दबाब बढाइरहेका छन् । लगानीकर्ताका संगठनका नेताहरुले अर्थमन्त्री, गभर्नरसँग भेटेर यसको विरोधसमेत गरिसकेका छन् । यसैगरी व्यवसायीका संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघलगायतले पनि सेयर कर्जालाई कडाइ गर्ने व्यवस्थाप्रति विरोध जनाइसकेका छन् ।
तर, अर्थमन्त्री जनार्दन शर्माले पनि गत साता अर्थ समितिमा बोल्दै १०० जना लगानीकर्ताको हातमा सेयर बजार रहेको भन्दै बजारलाई विस्तार गर्नुपर्ने बताएका छन् ।
नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल सेयर धितो कर्जामा सीमा तोक्ने व्यवस्थाले लगानीकर्ताको हातखुट्टा बाँधिएको बताउँछिन् । “लगानीकर्ताकै कारण बैंकमा बसेको पुँजी परिचालन भएको छ,” उनले भनिन्, “यसमा रोक लगाउनु हातखुट्टा बाँधेर पौडी खेल्न जा भनेझैं हो ।” यो प्रावधानबाट बजारमा पर्ने असरबारे अर्थमन्त्री र गभर्नरलाई सचेत गराइएकाले फिर्ता हुने उनले बताइन् ।
लगानीकर्ता अम्बिकाप्रसाद पौड्याल सेयर धितो कर्जामा केन्द्रीय बैंकले दाबी गरेजस्तो जोखिम नभएको दाबी गर्छन् । “अहिलेसम्म बैंकहरूको सेयर धितो कर्जा रिकभरी नभएको उदाहरणसमेत छैन,” उनले भने, “सेयरमा गरेको लगानी कसरी जोखिमपूर्ण भयो ?”
कोभिड महामारीमा पनि सेयर बजारमा अनलाइनमार्फत खरिद गर्न सकिने सुविधाका कारण पछिल्लो समयमा लगानीकर्ताको संख्या बढिरहेको र अन्य क्षेत्रको लगानी पनि अल्पकालीन रूपमा बजारमा आएको विश्लेषण गरिएको छ । यसबाहेक बैंक तथा वित्तीय संस्थाको व्याजदरले पनि बजार बढाउनका लागि सहयोग गरेको छ । बैंकहरूसँय पर्याप्त तरलता हुँदा उनीहरूले बैंकले न्यून व्याजदरमा सेयर धितो कर्जा लगानी गरिरहेका छन् ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ३२ सय नजिक पुग्दा दैनिक २० अर्ब हाराहारीको कारोबार भइरहेको छ । सेयर बजारमा बैंकहरूको लगानी बढेपछि राष्ट्र बैंकले गत जेठमै सेयर धितो कर्जामा कडाइ गर्नुका साथै बैंकहरूलाई समेत अल्पकालीन रुपमा सेयर कारोबारमा कडाइ गरेको थियो ।
कोभिड महामारीका कारण कर्जा विस्तार नभएपछि बैंकहरू सेयर बजारको लगानीमा केन्द्रित हुन थालेका थिए । जसको कारण राष्ट्र बैंकले गत जेठमा बैंक तथा वित्तीय संस्थाले एक वर्षभन्दा बढी अवधिको सेयर मा मात्र लगानी गर्न पाउने निर्देशन गर्दै अल्पकालीन रूपमा कारोबारमा लाग्न रोक लगाएको थियो ।
राष्ट्र बैंकले बैंकहरूलाई खरिद गरेको सेयर पनि एक वर्ष नहुँदै बिक्री गर्न नपाउने व्यवस्था गरेको छ । खरिद गरेको एक वर्ष बितेका लगानीमध्ये एक आर्थिक वर्षमा प्राथमिक पुँजीको एक प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्ने व्यवस्था गर्दै निर्देशन भन्दा अघि भएको लगानी बिक्री गर्नका लागि २०७९ असारसम्मको समय सीमासमेत दिइएको छ ।
यसैगरी सेयर धितोमा कर्जा लगानी गर्दा १८० दिनको औषत मूल्यका आधारमा ऋण दिनुपर्ने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्षको जेठसम्ममा मार्जिन प्रकृति कर्जा ८७.६ प्रतिशतले वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्