इजरायलको छनोट लोकसेवा आयोगको परीक्षा पद्धतिअनुसार «

इजरायलको छनोट लोकसेवा आयोगको परीक्षा पद्धतिअनुसार


इजरायलको रोजगारीमा जाने श्रमिकका लागि लिइने लिखित र मौखिक परीक्षा लोकसेवा आयोगले अवलम्बन गरेको ‘म्यारिट बेस’का आधारमा लिइने भएको छ । वैदेशिक रोजगार विभागले प्राप्त ९ हजार ६९९ आवेदनको रुजु गरिरहेकाले भदौको दोस्रो हप्तापछि लिखित परीक्षा लिने तयारीसमेत गरेको छ ।
विभागबाट आवेदनहरुको अध्ययन गरी तयार हुने अन्तिम सूचीमा रहेका आवेदक लिखित परीक्षामा सहभागी हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता दिपक काफ्लेले जानकारी दिए । लिखित परीक्षामा उत्तीर्ण हुने उम्मेद्वारको अन्तर्वार्ता समेत लिइने छ । यसरी लिखित र मौखिक परीक्षा सञ्चालन गर्दा लोकसेवा आयोगले अवलम्बन गरेको विधिको उपयोग गर्ने निर्णय भएको उनले जानकारी दिए । इजरायलमा नेपाली नागरिकलाई रोजगारी दिने विषय पूर्णतः योग्यता प्रणालीमा आधारित हुने मन्त्रालयले अनुरोध गदै सबै प्रक्रिया पारदर्शी र निष्पक्ष हुने जनाउँदै विभागबाहेक अनधिकृत व्यक्तिसँग सम्पर्क नगर्न अनुरोध गरेको छ ।
छनोट भएका आवेदन लिखित र मौखिक (अन्र्तवार्ता) लोकसेवा आयोगले हाल अबलम्बन गरेको पद्धती अनुसार हुने भएकाले इजरायलले माग गरेअनुसार योग्य व्यक्ति छनोट हुने मन्त्रालयले जनाएको छ । नेपाल र इजरायल सरकारबीच २०७७ असोजमा नेपाली नागरिकलाई इजरायलका दीर्घकालिन स्याहार केन्द्रहरुमा सहायक कामदारको रुपमा रोजगारी प्रदान गर्ने गरी द्विपक्षीय श्रम सम्झौता भएको थियो ।
सम्झौताअनुसार, इजरायल सरकारबाट हालको लागि एक हजार जना सहायक कामदारको माग भएकाले वैदेशिक रोजगार विभागले निर्देशिकाले तय गरेको प्रकृया बमोजिम विज्ञापन प्रकाशन गरेको विज्ञापनमा ९ हजार ६९९ जना नेपाली युवाले आवेदन दिएका छन ।
इजरायलको रोजगारी खुलेपछि विगत केही दिनयता इजरायल पठाउन मन्त्रालय वा विभागका अधिकारीहरुसँग मेरो सम्बन्ध छ भनी प्रलोभनमा पारी गैरकानूनी रुपमा रकम असुल गरिरहेको भन्ने समाचार र गुनासोप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाइएको छ । मन्त्रालयले कानून विपरितका कार्य एवं गतिविधिमा संलग्न नहुन तथा कुनै प्रलोभनमा नपरी पूर्णरुपमा वैदेशिक रोजगार विभागबाट संप्रेषित सूचनामा मात्र आधारित हुन विशेष अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्