दाङको पोल्ट्री व्यवसायमा ३ अर्ब लगानी «

दाङको पोल्ट्री व्यवसायमा ३ अर्ब लगानी


दाङमा पोल्ट्री व्यवसायमा ३ अर्ब बढी लगानी भएको छ । पोल्ट्री व्यवसायमा आम्दानी राम्रो हुने भएपछि मासु, अण्डा उत्पादन, कुखराका लागि दानासँगै पछिल्लो समय चल्ला उत्पादनका लागि ह्याचरी उद्योगमा लगानी बढ्दै गएको हो । पछिल्लो समय दाङमा पोल्ट्रीको क्षेत्रमा लगानी बढ्दै गएको छ । यस क्षेत्रमा लगानी बढेसँगै पोल्ट्रीको हब बन्दै गएको छ ।
पोल्ट्रीका लागि अहिले चितवन पछिको दाङ दोस्रो जिल्लाको रुपमा रहेको व्यवसायीहरु बताउँछन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका अनुसार जिल्लामा ह्याचरी, कुखुरा फर्म र सप्लायर्स गरी ७ सय बढी फर्म तथा उद्योगहरु रहेका छन् । जिल्लामा बोइलर चल्लाका बच्चा उत्पादनका लागि १७ वटा ह्याचरी उद्योग, मासुका लागि करिव साढे ४ सय फर्म, करिव एक सय दाना सप्लायर्स र अण्डाका लागि करिव १ सय ५० वटा लेयर्सका फर्महरु रहेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङले जनाएको छ । जसमा ३ अर्ब बढी लगानी रहेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका प्रमुख डा.बेदबहादुर केसीले जानकारी दिए ।
कार्यालयका अनुसार जिल्लामा करिव साढे चार सय कुुखुरापालन व्यवसाय दर्ता भएरपनि अन्य धेरै व्यवसाय दर्ता नगरी नै सञ्चालन भएका छन् । कतिपयले व्यवासाय दर्ता नगरेर पनि सञ्चालन गदै आएका छन् । साना तथा ग्रामीण क्षेत्रमा रहेका किसानहरुले दर्ता नगरी सञ्चालन गर्ने गरेको पाइएको छ ।
कुखुरापालनका लागि दाङ जिल्ला राम्रो वातावरणसँगै मासु तथा अण्ड सप्लायर्सका हिसावले समेत उपयुक्त ठाउँ भएकाले पोल्ट्री व्यवसायमा लगानी बढेको कार्यालय प्रमुख केसीले बताउँछन् । तर पछिल्लो समय कोरोना कारण व्यवसायी समस्यामा परेको बताए । “छोटो समय मै राम्रो नाफा लिन सकिने व्यवसाय फोल्ट्री व्यवसाय हो । त्यसैले पोल्ट्री व्यवसाय राम्रो लगानी छ” कार्यालय प्रमुख केसीले भने, “तर पछिल्लो समय कोरोनाले व्यवसायीमा असर पु¥याएको छ ।” कोरोना भाइरसका कारण जिल्लामा व्यवसायीले ठूलो घाटा व्यवहोर्नु परेको छ ।
जिल्लामा पोल्ट्री व्यवसायमा दाङ उपत्यका भन्दा देउखुरी उपत्यकामा बढी लगानी रहेको छ । दाङका विभिन्न स्थानसँगै पहाडी जिल्लाहरुमा समेत कुखुरा, बच्चा, अण्डा पठाउन सकिने भएकाले धेरै व्यसायीहरुले पोल्ट्री व्यवसायमा लागनी गरेको कार्यालयले जनाएको छ ।
अण्डा उत्पादनका हिसावले दाङ देशभर मै चितवन जिल्ला पछि दोश्रो अण्डा उत्पादन हुने जिल्लाका रुपमा पर्ने गरेको छ । तर कोरोनाका कारण पहिलेको तुलनामा पछिल्लो समय अण्डाको उत्पादनमा समेत गिरावट आएको कार्यालय जनाएको छ ।
तर पछिल्लो समय कुखुरापालन गर्ने व्यवसायी घट्दै गएको सुरक्षित कुखरा तथा दाना व्यवसायी समिति घोराहीका सचिव चन्दन भण्डारीले बताउँछन् । कोरोनाका कारण उत्पन्न भएको संक्रमणकालिन समयमा जिल्लामा करिव ५० प्रतिशत व्यवसायीहरु कुखुरापालन व्यवसायबाट पलान भएको व्यवसायी समेत रहेका भण्डारीले बताए । “दानाको मूल्य बढ्ने तर व्यवसायीले तयार गरेका कुखुराको मूल्य नबढ्ने, दानाको गुणस्तर मापन गर्ने व्यवस्था नहुँदा अखाद्य दानाका कारण व्यवसायीहरु मारमा पर्ने गरी रहेका थिए” सचिव भण्डारीले भने, “त्यसमा कोरोना भाइरसका कारण दुुई वर्षको अवधिमा लामो समय लकडाउन हुँदा आधा व्यवसायी व्यवसाय क्षेत्रमा पलायन भएका छन् ।” उनका अनुसार दुई वर्ष अघि जिल्लामा साना तथा ठूला लगानीका करिव १२ सय व्यवसायीहरु रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्