पहिरोले टोल नै उठीबास, राहतको पर्खाइमा पीडित «

पहिरोले टोल नै उठीबास, राहतको पर्खाइमा पीडित


वर्षायाम झमझम पानी अनि डमक्कै गाउँनै ढाकिने गरी कुहिरो लाग्छ । अनि बस्तीमा चल्छ खैलाबैला । पानी नपरेको समयामा चर्किएका घरमा त्रासैत्रासमा रात बित्छ नौमूले गाउँपालिका–४ कालिकाको उत्तीसेनीका टोलबासीलाई । विगत पाँच वर्षअघि गाउँको पुछार बस्तीमा पहिरो गयो अनि विस्तारै गाउँको सिरसम्म चर्कियो जमिन । वर्षायाममा त्रसित अनि झर्कोमै बित्न थाल्यो उनीहरूको दिनचर्या ।
अहिलेसम्म त्यस बस्तीको ७ घर परिवारको घरनै उजाड बनाइदियो पहिरोले । यही यस्तै अनि दुःखका दिनचर्या सम्झिँदै भक्कानीन्छिन् सोही टोलकी सरिता बस्नेत । २०७४ सालदेखि बग्न थालेको पहिरोले अहिलेसम्म केही घर बगाइसकेको छ भने अन्य घर पहिरोको उच्च जोखिमममा रहेको उनको भनाइ छ । अहिले पनि ठूलो पानी पर्न थालेपछि रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको पीडित सरिताले दुःखेसो पोखिन् । “पहिरोले टोल नै बगाउन लाग्यो हामीलाई गासबासको व्यवस्था मिलाइदिनु प¥यो,” उनले भनिन्, “अब यहाँ कसरी बसौं, कतिदिन आफन्तकोमा बसेर रात काट्ने हो ।”
गत वर्षदेखि नै पहिरोले उठीबास बनाएको नौमूले गााउँपालिका–४ कालिकाको उत्तीसेनी बस्ती पूरै पहिरोको उच्च जोखिममा छ । २०७४ सालदेखि उक्त टोलमा पहिरोले त्रास ल्याउँदै आएको भए पनि गत वर्षबाट भने त्यस टोलको बस्तीलाई उठीबास नै बनाइदिएको छ । जोखिम हुँदाहुँदै पनि अन्य स्थानमा बस्नका लागि ठाउँ नहुँदा जोखिम मोलैरै केही घरपरिवार त्यहीं आसपासमा बस्दै आएका छन् ।
ठूलो पानी परेपछि टाढा जंगल छेउमा पालको टहरा बनाएर दिनरात गुजार्दै आएका उत्तीसेनीबासी भने अहिले राहतको पर्खाइमा छन् । खेतीपाती गर्ने पूरै जमिन पहिरोमा परिणत भएपछि उनीहरूलाई बस्नेभन्दा पनि खाद्यान्नको चिन्ता हुने गर्दछ । २६ घरधुरीको बसोबास रहेको उत्तीसेनी टोलको जमिन पहिरोले चर्किएर भासिन थालेपछि उनीहरूको बस्ती नै उठिबास भएको थियो ।
०७४ को पहिरोले घर र २५ रोपनीभन्दा बढी जग्गा जमिन बगाएर केही दिन आफन्तकोमा बसेर दिनरात काट्न बाध्य भएको भन्दै गहभरी आँसु झार्दै आफ्नो व्यथा पोख्छिन् पीडित देविका बुढा । गोठथरीमा सानो झुपडी हालेर दिन काट्दै आएकी देविकाले सरकाले गाउँ ठाउँमै बस्ने बासका लागि व्यवस्था मिलाइदिए अर्काको काम गरेर पनि जीविका गुजार्ने बताइन् ।

द्वारीमा पनि पहिरोको जोखिम
नौमूले गाउँपालिकाको ३ नं. वडा द्वारीका केही घर पहिरोको जोखिममा पर्नुका साथै झण्डै चार रोपनी खेतबारी पहिरोको उच्च जोखिममा परेको छ । द्वारी हाइड्रोले आफ्नो कामका लागि सडक बनाएपछि उक्त घर तथा खेतबारी जोखिममा परेको हो ।
सिमखेत भन्ने स्थानबाट पहिरो जान थालेपछि द्वारीको भिरकुना टोललगायतका बस्ती उच्च जोखिममा रहेको नौमूले गाउँपालिका–३ द्वारीका वडाध्यक्ष गगनबहादुर रोका मगरले जानकारी दिए । नौमूले गाउँपालिकाको कार्यपालिका बैठकबाट उच्च जोखिममा रहेका घरपरिवारको तथ्यांक संकलन गरी राहतका लागि स्थानीय संघसंस्था तथा गैरसरकारी संस्थासंँग समन्वय गरी राहत व्यवस्थापन गर्ने निर्णय भएको गाउँपालिकाका प्रवक्ता तथा वडाध्यक्ष रोका मगरले बताए ।

प्रतिक्रिया दिनुहोस्