दुर्गममा सहज बन्दै तीनपांग्रे अटो «

दुर्गममा सहज बन्दै तीनपांग्रे अटो

पछिल्लो समय उदयपुर, भोजपुर र खोटाङ जिल्लाका पहाडि क्षेत्रमा जताततै तीनपांग्रे अटोको प्रयोग हुन थालेको छ । थोरै लागतमा खरिद गर्न सकिने तथा छिटो र सजिलो यात्रा गर्न सकिने भएकाले पहाडी क्षेत्रमा अटोको प्रयोग बढ्दै गएको हो ।
पहाडी क्षेत्रमा समेत अटोमा यात्रा गर्दा सहज हुने भएपछि सर्वसाधारण यसैको प्रयोग गर्ने गर्छन् । सामान्य सवारी साधन गुड्ने सडकमा सहजै गुड्ने र ओरालो उकालो सजिलै गर्ने भएकाले पनि बजारमा अटोको माग बढेको स्थानीय वताउँछन् । अन्य सवारी साधनमा खचाखच यात्रु भरिएर मात्रै गुडने, भनेजस्तो सजिलो नहुने भएकोले पनि अटोप्रयोग हुने गरेको छ । पछिल्लो समय पहाडी क्षेत्रमा अटोको प्रयोग बढेको व्यवसायी बताउँछन् ।
कटारी, गाईघाट, बेल्टार र रामपुर उदयपुर जिल्लाका मुख्य व्यापारिक केन्द्र हुन् । यी व्यापारिक केन्द्रको सम्बन्ध माथिल्लो विकट पहाडी क्षेत्रसँंगै भोजपुर र खोटाङसँंग छ । मुख्य व्यापारिक केन्द्रबाट विकट पहाडी क्षेत्रमा सार्वजनिक बस र अन्य साधन नचल्दा अटो नै मुख्य विकल्प बनेको छ ।
मोटरसाइकल पुग्ने विकट गाउँमा पनि पुग्न सक्ने भएकाले पहाडी क्षेत्रमा यसको प्रयोग बढेको छ । तीनपांग्रे अटो पेट्रोलबाट चल्ने भएकाले उकालो ओरालो गर्न सजिलो हुने गरेको व्यवसायी बताउँछन् । “चारजना यात्रु बोकेर सजिलै गुड्न सक्छ,” व्यवसायी शनिदेव मगरले भने, “पहाडी कच्ची सडकमा चारयात्रु बोकेर सजिलै उकालो चढन सक्ने भएकाले यात्रुले यसलाई रोज्ने गरेका हुन् ।”
चौदण्डीगढी नगरपालिकाको केन्द्र बेल्टार बजारबाट करिब २३ किलोमिटरको दूरीमा रहेको र खोटाङ जिल्लासँग जोडिएको वन्सिलाघाटसम्म मात्रै दैनिक ५० भन्दा बढी अटो सञ्चालनमा छन् । बेल्टारबाट वन्सिलाघाटसम्मको ३५० रुपैयाँ भाडा लिने गरिएको छ ।
गाईघाटबाट उदयपुरकै उच्च पहाडी क्षेत्रमा पर्ने रौतामाई गाउँपालिकाको रौतापोखरी र खोटाङको सदरमुकाम दिक्तेलदेखि रेग्मीटारसम्म पनि अटो पुग्ने गरेको छ । सप्तकोसीस्थित चतरा पुलदेखि भोजपुरको घोडेटारसम्म जाने यात्रुलाई निर्विकल्प सेवा दिने माध्यम अटो नै बनेको छ ।
“सप्तकोसीको चतरापुलदेखि दूधकोसीको चुवारसम्म अटोले नै यात्रु बोक्ने गरेका छन्,” भोजपुरको हतुवागढी गाउँपालिका–९ हसनपुरका अटो व्यवसायी रुद्र राईले भने, “चतरादेखि चुवारसम्म ल्याएको यात्रुलाई चुवारबाट पनि अटोले नै घोडेटारसम्म लैजाने गरेको छ ।” चतरादेखि चुवार र चुवारदेखि हतुवागढीको केन्द्र घोडेटारसम्म ४८ किलोमिटर अटोमा यात्रा गरेवापत भने यात्रुले ६ हजार रुपैयाँ तिर्नुपर्ने उनले बताए ।
पहाडी क्षेत्र भएकाले रिजर्भमा मात्रै चल्ने गर्दा थोरै महँगो भए पनि यात्रुको रोजाइ अटो नै भएको गाईघाटका व्यवसायी जयप्रसाद आचार्य बताउँछन् । “३÷४ जना मिलेर अटो रिजर्भ गरेर लैजाने गरेका छन्,” आचार्यले भने, “पहाडी क्षेत्र जानेले तीन हजार रुपैयाँ तिरेर अटो चढ्नु सस्तो हो भन्दै खुसीसाथ चढने गरेका छन् ।” पछिल्लो समय सजिलो र छिटोसँगै रमाइलोका लागि पनि यात्रुले अटो चढने गरेको उनले सुनाए ।
तराईका बजारमा यात्रुको मागभन्दा बढी खरिद भएको अटो पहाडी क्षेत्रतिर विस्तार हँुदै गएको छ । पहाडी क्षेत्रमा भएको सडकको विस्तारसंँगै पछिल्लो समय अटोको महत्व तराईमा भन्दा पहाडमा बढ्दै गएको व्यवसायी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्