विकासको अचुक अस्त्र ‘सुरुङ’ «

विकासको अचुक अस्त्र ‘सुरुङ’

प्रारम्भिक लागत बढी भए पनि सुरुङमार्ग नै दिगो र पछिको लागतका हिसाबले पनि सस्तो पर्ने भएकाले यसलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउनुपर्छ ।

नेपालको विकासका लागि नीति र योजना धेरै बने पनि अहिलेसम्म मुलुकले गर्व गर्न लायक ठूला विकासे परियोजना कति बनायो भनेर कसैले सोध्यो भने अलमलिनुपर्ने अवस्था छ । राजनीतिक रूपमा नेपालले पछिल्लो शताब्दीमा धेरै ठूलो फड्को मारिसके पनि पूर्वाधार विकासका दृष्टिले हामी निकै पछाडि छौं । हामीले यो अवधिमा पूर्वाधारका क्षेत्रमा जेजस्ता संरचना निर्माण गरेका छौं, त्यो अन्तर्राष्ट्रिय स्तरमा तुलनायोग्य त छैनन् नै र सँगसँगै राष्ट्रिय आवश्यकताका आधारमा पनि निकै साँघुरा भइसकेका छन् । एक दशकअघि बनाएकै संरचनाले पनि हाम्रो आवश्यकताको आधा क्षमता पनि धान्न नसक्नु विडम्बनापूर्ण अवस्था देखिएको छ ।
विकास निर्माणमा हाम्रो फराकिलो सोचले मात्र साँघुरा संरचना युगको अन्त्य हुनेछ भन्नेमा सायदै कसैको दुईमत होला । हामीले एक्काइसौं शताब्दीमा पनि दाताको अर्बौं खर्चेर निर्माण गरेको राजमार्ग बीपी राजमार्गजस्तै साँघुरो हुनुको मूल कारण हाम्रो सोचाइको सीमा नै साँघुरो भएर हो । विकसित मुलुकले १ सय वर्षपछिको आवश्यकता सोच्ने बेलामा हामी १ दशकपछिको नेपालसमेत सोच्न सक्दैनौं भने हाम्रो चेतना, शिक्षा र मनोविज्ञान सबैमा बृहत् पुनर्संरचनाको खाँचो छ भन्ने देखिन्छ । मूलतः नेपालको भौगोलिक अवस्थिति हेर्दा देश विकासको अचुक अस्त्र हो ‘सुरुङ’ । चाहे जलविद्युत् होस् वा सडक र सिँचाइ तथा खानेपानी सबै क्षेत्रमा सुरुङ युगको आवश्यकता देखिन्छ । तर, विडम्बना के छ भने अहिलेसम्म सकेसम्म सुरुङ खन्नै नपरे हुन्थ्यो भन्ने मनोविज्ञानका आधारमा हाम्रा संरचनाहरू निर्माण भइरहेका छन् र त्यसको मारमा आम नेपाली परेका छन् ।
भेरी बबईको सुरुङ खन्न टीबीएम प्रविधि भिœयाउँदा र त्यसले सफलतापूर्वक काम गर्दा हामीले राष्ट्रिय उत्सव नै मनाउनुपर्ने अवस्था देख्दा विकसित मुलुकका नागरिकले नेपाललाई कसरी हेरिरहेका होलान् भन्ने जिज्ञासा पनि उठ्न सक्छ । पहाडको एउटा फेदीबाट अर्को फेदीसम्म पुग्न चुचुरोमा पुगेर फेरि झर्नुपर्ने तथा सडक नै बनाए पनि निकै लामो र खर्चिलो हुने अवस्था छ । तर, सडकमात्रै निर्माण हुँदा पनि खुसी मान्नुपर्ने अवस्था हाम्रो कमजोर सोचकै उपज हो । नत्र काठमाडौं हेटौंडा सुरुङ मार्ग निर्माण गर्ने कम्पनीले होस्टेमा हैंसे नपाएर उपहासको पात्र बन्नुपर्ने अवस्था आउने थिएन । कलंकीको अन्डरपासलाई नै हामी सुरुङ मार्गका रूपमा व्याख्या गर्दै त्यसले हटाएको जामको सदाबहार समस्याबाट मुक्त हुन पाउँदैमा खुसी छौं । नागढुंगा–नौबीसे बन्ने सपनामा पनि यस्तै अभिसप्त छौं हामी । तर, सडक निर्माणमा प्रारम्भिक लागत बढी भए पनि सुरुङ मार्ग नै दिगो र पछिको लागतका हिसाबले पनि सस्तो पर्ने भएकाले यसलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउनुपर्छ ।
त्यसो त नेपालमा सुरुङमार्गको स्वःस्फुर्त चेतना भने ४ सय वर्षअघि नै भएको पाइन्छ । सिँचाइका लागि पाल्पाको अर्गलीमा स्थानीयले नै सुरुङ बनाएको गर्विलो इतिहास मात्र हामीसँग बाँकी छ । मेलम्चीको २७ किलोमिटर सुरुङ पूरा गर्न दशकभन्दा बढी लागेको तीतो यथार्थ पनि नेपालकै छ । त्यसैले यी सबै इतिहासबाट पाठ सिकेर नेपालले भौगोलिक आवश्यकतासमेतलाई दृष्टिगत गर्दै ‘सुरुङ युग’को सुरुवात गर्न ढिलो गर्नु हुँदैन । यसले मात्र वास्तविक रूपमा नयाँ नेपालको मापन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्