राष्ट्रियसभाका उम्मेदवार टुंगो लगाउँदै एमाले

नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउने तयारी गरेको छ । माघ २४ गते हुने निर्वाचनका लागि एमालेले उम्मेदवार चयन गर्न कसरत थालेको हो । प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा गठबन्धन बनाएर चुनाव लडेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी बाँडफाँट सम्भवतः बुधबार (आज) टुंगो लगाउन सक्ने बताइएको छ । दुवै पार्टीका नेता सम्मिलित कार्यदलले सिट बाँडफाँट प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचनमा झैं ६०-४० मापदण्डअनुसार टुंगो लगाउने तयारी गरिरहँदा एमालेले आजै स्थायी समितिको बैठक बोलाएको छ । कार्यदलले सिट बाँडफाँटको टुंगो लगाएको खण्डमा बैठकमा आफ्ना उम्मेदवारको टुंगो लगाउने कसरत गर्ने छ ।
अध्यक्ष केपी शर्मा ओली उपचारका लागि थाइल्याण्डमा रहे पनि एमालेले कार्यवाहक अध्यक्ष बामदेव गौतमको अध्यक्षतामा बैठक बोलाएको छ । बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । निर्वाचन आयोगले सार्वजनिक गरेको राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका अनुसार १० गते मनोनयन दर्ता गर्नुपर्नेछ ।
क–कसको इच्छा ?
राष्ट्रिसभा निर्वाचनमा उम्मेदवार हुन नेताहरूले लविङ सुरु गरेका छन् । एमालेबाट सबैभन्दा बढी प्रदेश नम्बर १, ३ र ४ नम्बर क्षेत्रबाट राष्ट्रिय सभामा उम्मेदवार बन्न नेताहरू दौडधूपमा लागेको बताइएको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा अवसर नपाएका नेताहरू अहिले राष्ट्रिय सभामा जान लबिङमा लागेका छन् । प्रदेश र प्रतिनिधिसभाको समानुपातिकमा नपरेका नेताहरूले अहिले धेरै इच्छा देखाएको स्रोतले बतायो ।
प्रदेश नम्बर २ मा एमालेबाट धेरै सदस्य निर्वाचित नहुने भएकाले सो प्रदेशबाट राष्ट्रिय सभामा जान त्यति धेरै इच्छुक देखिएका छैनन् । प्रदेश २ मा एमालेबाट एक वा दुईजना मात्रै राष्ट्रिय सभाको सदस्यमा निर्वाचित हुन सक्ने अवस्था छ ।
राष्ट्रिय सभामा जान लबिङ गर्ने नेताहरूमा अग्नि खरेल, जगन्नाथ खतिवडा, रेवतीरमण भण्डारी, गुरु बराल, सुमन प्याकुरेल, प्रदीप नेपाल, वेदुराम भुसाल, रघुजी पन्त, विष्णु रिमाल, काशीनाथ अधिकारी, आनन्दप्रसाद पोखरेल, डा. गंगालाल तुलाधर, देवशंकर पौडेल, शिवप्रसाद भण्डारी, बालकृष्ण शिवाकोटी, देवी ज्ञवालीलगायत रहेको बताइएको छ ।
यस्तै, गणेश तिमल्सिना, श्रीनाथ बराल, तुलबहादुर गुरुङ, दिपक अधिकारी, वाचस्पति देवकोटा, टुकराज सिग्देल, खिमलाल भट्टराई, ठाकुर गैरे, गोकुल घर्ती, नेत्र पन्थी, युवराज ज्ञवाली, लोकबहादुर डाँगी, निरज आचार्य, शेरबहादुर कुँवर, भानुभक्त जोशीलगायत रहेको स्रोतले बताएको छ ।
एमालेले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पराजितहरूलाई राष्ट्रिय सभा सदस्यमा उम्मेदवार नबनाउने मापदण्ड बनाएको छ, जसका कारण उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभामा जानबाट वञ्चित भएका छन् ।