गैरआवासीय नेपाली र लगानी अपेक्षा

गैरआवासीय नेपालीहरूको आठौं विश्व सम्मेलन राजधानीमा सुरु भएको छ । यस पटकको विश्व सम्मेलनले आगामी दुइ वर्षका लागि नयाँ नेतृत्वसमेत चयन गर्ने भएकाले यसलाई विशेष महŒवका साथ हेरिएको छ, त्यसैले पनि विश्वका ७७ भन्दा बढी देशमा छरिएर रहेका नेपालीहरू यतिखेर नेपालमा जम्मा भएका छन् ।
सम्मेलनको उद्घाटनका क्रममा राष्ट्रपतिदेखि सरकारका जिम्मेवार अधिकारीहरू र अन्य सरोकारवालाहरूले गैरआवासीय नेपालीहरूलाई लगानीका लागि आह्वान गरे । यस्तो आह्वान यसपटक मात्र सुनिएको भने होइन, हरेक विश्व सम्मेलनमा सरोकारवालाहरूले यही आह्वान दोहो¥याइ नै रहेका छन् । पक्कै पनि विश्वका अत्यधिक विकसितदेखि विकासशील र अल्पविकसित देशसम्म छरिएर रहेका गैरआवासीय नेपालीबाट राज्यले लगानीको अपेक्षा गर्नु अस्वाभाविक होइन । सोही कारणले नै केही वर्षअघि नै गैरआवासीय नेपालीसम्बन्धी ऐन नै बनाएर प्रवासमा रहेका नेपालीको अधिकार सुरक्षितसमेत गरिसकिएको छ ।
२ सय ४० दिनभन्दा बढी विदेशमा बिताएकै आधारमा गैरआवासीय नेपालीको परिभाषाभित्र समेटिने व्यवस्थाले केही सहजता, धेरै अहसजता थपेको महसुस गरिएको छ । श्रम र रोजगारीको अवसर खोजीमा बिदेसिने नेपालीको पनि कम्तीमा दुई वर्षको भिसा लागेको हुन्छ भने वर्षौंदेखि विभिन्न पेसा–व्यवसायमा लागेका नेपालीहरू पनि छुट्टै छन् । “एकपटकको नेपाली सधैंको नेपाली’ भन्ने नाराका साथ सुरु भएको यस अभियानको आशय के हो भने नेपालमा जन्म भए पनि ग्रिनकार्ड वा पीआर पाएर विभिन्न मुलुकमा स्थायी बसोबासका सुविधा पाइसकेका नेपाली यही जन्मभूमिकै नेपाली हुन् ।
वास्तविक रूपमा अब गैरआवासीय नेपालीहरूको पनि वर्गीकरण गर्नुपर्ने बेला भइसकेको छ ।
विदेश बसेका नेपाली भन्दैमा सबैमा पुँजी लगानीको क्षमता नहुन सक्छ, तर उनीहरूले त्यहाँ बसेर कमाएको ज्ञान, सीप र प्रविधि नेपालका लागि उपयोगी हुन सक्छ । त्यसैले भौतिक पुँजीको लगानीलाई मात्र लगानी नमानी ज्ञान, सीप र प्रविधिको लगानीका लागिसमेत देशभित्र वातावरण तयार पारिनुपर्छ । हालसम्म गैरआवासीय नेपालीहरूले नेपालमा जेजति लगानी गरेका छन्, त्यो व्यक्तिगत तबरबाट भएको लगानी हो । अब भेन्चर पुँजी लगानीको विषयलाई प्राथमिकता दिनुपर्ने बेला भइसकेको छ । नेपालको पुँजीबजारको आकार सानो छ, तर त्यहाँ पनि गैरआवासीय नेपालीको नभई संस्थागत लगानीको प्रवेश गराउने हो, यसको विकास र विस्तार सम्भव भइसकेको छ ।
नेपाल यतिखेर राज्य रूपान्तरणको क्रममा छ । यही बेलामा नेपाललाई ज्ञान, सीप, प्रविधि र पुँजी सबै कुराको खाँचो छ । संघीयता नेपालका लागि नयाँ अभ्यास हो, यससँग जोडिएको थुप्रै सवालमा गैरआवासीय नेपालीहरूले पर्याप्त योगदान दिन सक्छन् । त्यसैले अबका विकास कार्यक्रमहरू र योजना निर्माणमा गैरआवासीय नेपालीहरूलाई साझेदारका रूपमा लिन सकियो भने त्यसबाट राज्यले प्राप्त गर्ने प्रतिफल निकै बलियो हुनेछ । विगतमा झैं एनआरएन सम्मेलनमा यस वर्ष पनि नेपालले मलाई के दियो होइन, नेपाललाई मैले के दिएँ वा के दिन सक्छु भन्ने विषयमा ध्यान जान अपिल गरिएको छ । यो वाक्यांशभित्र गहन अर्थ लुकेको छ । सम्मेलनका लागि नेपाल आएका प्रत्येक गैरआवासीय नेपालले वास्तवमै म नेपालको सद्भावना दूत हुँ भन्ने महसुस गरेर आउँदा दिनमा थप योगदान दिने सोच बनाउनैपर्छ ।