प्रदूषण नियन्त्रण युनिट जडानपछि उद्योग सुचारु «

प्रदूषण नियन्त्रण युनिट जडानपछि उद्योग सुचारु

वीरगन्ज-प्रदूषण नियन्त्रण युनिट जडान गरेपछि डेढमहिनादेखि बन्द रहेको युनिटेक सिमेन्ट प्रालिले शुक्रबारदेखि पुनः सञ्चालनमा आएको छ । ०६४ सालमा जितपुर–सिमरा उपमहानगरपालिकाको बजनीमा क्लिंकर उद्योग खुल्ने समयमा कुनै मानव वस्ती नभए पनि उक्त स्थानमा उद्योग स्थापना भएपछि विस्तारै मावन वस्तीको विकास हुन गई उद्योगलाई नै उत्पादनमा समस्यामा भएको छ ।
३० करोड रुपैयाँ लगानी पुगिसकेको उद्योगमा डेढमहिना अघि स्थानीय स्थानीय बासिन्दाको विरोधपछि युनिटेक सिमेन्ट प्रालि सुचारु भएको हो । उद्योगको धुलोले वायु प्रदूषण भई स्थानीयको स्वास्थ्यमा असर परेको भन्दै कोरिडोरका सिमेन्ट उद्योगहरूका लागि आवश्यक क्लिंकर उत्पादन गर्ने एकमात्र उद्योगले वायु प्रदूषण फैलाएको भन्दै स्थानीयले गत मंसिर २३ गते उद्योग बन्द गराएका थिए । जितपुर–सिमरा उपमहानगरपालिकाका प्रमुख कृष्ण पौडेललगायतका जनप्रतिनिधि, प्रहरी, सञ्चारकर्मीलगायतले उद्योगमा जडान गरिएको प्रदूषण नियन्त्रण युनिटको स्थलगत अवलोकनपश्चात् उद्योग सञ्चालन गर्न स्थानीय पनि सहमत भएका हुन् ।
प्रदूषण नियन्त्रण गर्ने मेशिन जडान गरेपछि अहिले उद्योग सञ्चालन हुँदा प्रदूषण नदेखिएको स्थानीयले बताए । यद्यपि उद्योगले प्रदूषण गरे÷नगरेको हेर्न स्थानीयले एक साताको समय मागेका छन् । नगर प्रमुख पौडेलले उद्योगले जडान गरेको प्रविधिबाट सुधार देखिएको र प्रदुषण नियन्त्रणको उपायले निरन्तरता पाउनुपर्ने उनको भनाइ छ । यसअघि स्थानीयको प्रदर्शनपछि मेयर पौडेलकै उपस्थितिमा स्थानीयले एउटै परिसरमा रहेको युनिटेकसहित शालिमार सिमेण्टमा ताला लगाइदिएका थिए ।
उद्योग व्यवस्थापन र स्थानीयबीच शालिमार सिमेन्ट सञ्चालन गर्न दिने सहमति भए पनि युनिटेक भने सञ्चालन गर्न दिएका थिएनन् । युनिटेकले वायु प्रदूषण फैलाएर स्थानीयको स्थास्थ्य र खेतिपातीमा प्रतिकूल असर पारेको आरोप स्थानीयले लगाएका थिए । उद्योगका सञ्चालक अशोककुमार वैदले ६ करोड रुपैयाँको लागतमा चिनियाँ प्रविधिमा आधारित प्रदूषण नियन्त्रण गर्ने डक्टिङ सिस्टम जडान गरिएको जानकारी दिए । यो प्रविधिले क्लिंकर उत्पादन गर्दा उड्ने धुलोलाई सोसेर वायुमण्डलमा वाफमात्र निस्कासन गर्ने वैदले बताए । डेढ महीना उद्योग बन्द हुँदा कम्पनीलाई १ करोड रुपैयाँ र सरकारलाई साढे २ करोड रुपैयाँ राजस्व घाटा भएको दाबी उनको छ । उद्योग स्थापना गर्दा वरपर मानवबस्ती नभए पनि विस्तारै उद्योग वरिपरि मानव वस्तीको विकास हुँदै जाँदा उद्योगलाई नै समस्या हुने गरेको उद्योगीहरूको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्