खारेखोलाको आईपीओ स्थानीयले नै रुचाएनन् «

खारेखोलाको आईपीओ स्थानीयले नै रुचाएनन्

दोलखा- सेयर किनबेच नेपालीको दिनचर्या जस्तै बनेको छ । प्राथमिक वा दोस्रो बजार होस्, नेपालीको सेयर लगाव बढोत्तरी भएको पाइन्छ । तर दोलखास्थित तल्लो खारेखोला जलविद्युत् आयोजनाले निष्कासन गरेको आईपीओप्रति भने स्थानीयले चासो दिएका छैनन् । युनिभर्सल पावर कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई खुल्ला गरेको आईपीओमा स्थानीयले चासो नदेखाएको पाइएको हो । उता, सेयर भनेपछि मरिहत्ते गर्ने दोलखालीहरू युनिभर्सलको सेयरमा भने कुनै पनि चासो नै नभएको बताउँछन् ।
सेयर भर्न दोस्रोपटक थप गरिएको हप्तादिनसम्म १० प्रतिशतभन्दा केही बढी मात्रै आवेदन परेको छ । मागभन्दा अत्यन्तै न्यून मात्रमा मात्र आवेदन परेपछि दोस्रो पटक समय थप गरिएको हो । स्थानीयले माघ १३ गतेसम्म आवेदन गर्न सक्नेछन् । यसअघि पुस २९ गतेसम्म सयमसीमा रहेकोमा एक साताको लागि समय बढाइएको थियो ।
दोलखामा सेयर भन्ने वित्तिकै अपर तामाकोसीले चेतना फैलाएको थियो । अपर तामाकोसीको सेयरमा स्थानीयको उत्साहजनक सहभागीता रह्यो । सत्प्रतिशतले सेयरमा आवेदन दिए । स्थानीय स्तरमा जनप्रतिनिधि, कर्मचारी, राजनीतिकर्मी, सामाजिक कार्यकर्ता सबै लागे । तर धेरै आवेदन परेकाले न्यून सेयर प-यो ।
तामाकोसीको सेयरमा नपरेको पैसा फिर्ता लिन पनि अत्यन्तै झन्झटिलो भयो । बिक्री प्रबन्धक सनराइज क्यापिटलको लापरबाहीका कारण सेयरमा नपरेको पैसा फिर्ता लिन पटक पटक बैंक धाउँदा धेरै सास्ती र खर्च गर्नुपरेको छ । त्यसको असर पनि युनिभर्सलको सेयरमा परेको छ ।
सर्वसाधारणको सेयर तत्कालै दोस्रो बजारमा किनबेच गर्न पाइन्छ । तर स्थानीयको सेयर ३ वर्ष किनबेच गर्न बन्देज गरेको छ । यसले गर्दा पनि सेयरबारे केही चासो राख्नेहरूले यता ध्यान दिएनन् ।
अर्को विषय स्थानीय स्तरमा निजी क्षेत्रबाट बन्ने आयोजनाहरू लागत र समय लम्ब्याएर महंगो बनाउँछन् भन्ने स्थानीयको बुझाइ छ । प्रबद्र्धकहरूले सर्वसाधारणको सेयर उठाउने र त्यसैमा आफ्नो लगानीमा निर्माण चरणमै विभिन्न बहानामा उठाउँछन् भन्ने धारणा पनि व्याप्त छ ।

वित्तीय अवस्था औसतभन्दा कमजोर
कम्पनीले निष्कासन गर्ने साधारण सेयरलाई रेटिङ कम्पनी इक्रा नेपालले इक्रा एनएपी आईपीओ ग्रेड ४ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको जनाउँछ । कम्पनीले जारी गरेको सूचनामै यसले लाभांश दिन सक्ने समय २ वर्षपछि देखि मात्र १० प्रतिशत उल्लेख गरेको छ । वार्षिक १० देखि १५ प्रतिशत लाभांश त सामान्य गाउँकै सहकारीमा खरिद गरेको सेयरबाटै पाइन्छ भने किन यता लगानी गर्ने भन्ने पनि स्थानीयमा धारणा छ ।
युनिभर्सल पावर कम्पनीले जारी पूँजीको ४६ प्रतिशत ९९६ करोड ६१ लाख ६१ हजार रूपैयाँ बराबरको साधारण सेयर जारी गर्नेछ । जसमध्ये पहिलो चरणमा १० प्रतिशत आयोजना प्रभावित स्थानीयबासिन्दालाई २१ लाख ३५० कित्ता र दोस्रो चरणमा संस्थाका कर्मचारी, म्युचुअल फण्ड र सर्वसाधारणलाई गरि ७५ लाख ६१ हजार २६० कित्ता आईपीओ निष्काशन गरिने कम्पनीले जनाएको छ ।
कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आयोजना प्रभावित क्षेत्रका स्थानीयबाट २१ दिनको अवधीमा २ हजार ५९२ जनाले २ करोड ८५ लाख रूपैयाँ बराबरको २ लाख ८५ कित्ता सेयरका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणमा निष्काशन भएको सेयरको १३.५७ प्रतिशत मात्र बिक्री हो । आयोजना प्रभावितका लागि पछिल्लो समय माग गरे जति नपर्ने गरेको छ । तर युनिभर्सलको सेयरमा भने लज्जास्पद नै भएको छ ।
जारी गरेको सेयरमध्ये अझै ८६.४३ प्रतिशत अर्थात १८ करोड १५ लाख ३५ हजार रूपैयाँ बराबरको १८ लाख १५ हजार ३५० कित्ता सेयर बिक्री हुन बाँकी छ । माघ १३ सम्मपनि सबै सेयर बिक्री नभएमा अविरित सेयर सर्वसाधारणलाई निष्काशन हुने सेयरमा थप हुनेछ । कम्पनीले गत पुस १५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि एक सय रूपैयाँ अंकित दरको २१ करोड ३५ हजार रूपैयाँ बराबरको २१ लाख ३५० कित्ता साधारण शेयर निष्काशन गरेका हो ।
अहिले कम्पनी पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र दोलखाको गौरीशंकर, कालिञ्चोक र विगु गाउँपालिकाका स्थानीले मात्र आवेदन गर्न पाउने छन् । यस आईपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन गर्न पाउने व्यवस्था छ ।
आवेदन गर्नेहरूले पनि न्यूनतम् कित्ता मात्र आवेदन गरेको भेटिएको छ । आवेदन गर्नेहरूले पनि आयोजनाको बारेमा जानकारी पाएर भन्दा पनि सेयर हाल्दा राम्रो हुन्छ भन्ने सुनेर मात्र आवेदन गरेको बताए ।
११ मेगावाट क्षमताको आयोजनामा युनिभर्सल पावर कम्पनीमा ८८ प्रतिशत सीईडीबी हाइड्रो फन्ड लिमिटेडको सेयर स्वामित्व छ । अहिलेसम्म ७० प्रतिशत काम पूरा भएको आयोजना पूरा हुन अझै एक वर्ष लाग्ने देखिन्छ । तर सिंगटी–लामोसाँघु प्रसारण लाइन पूरा भएन भने उत्पादित विद्युत् खेर जाने अवस्था छ । आयोजना बनाउन प्रतिमेगावाट १८ करोड ५५ लाख रूपैयाँका दरले २ अर्ब ४ करोड रूपैयाँ लाग्ने अनुमान गरिएको छ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब १३ करोड ४१ लाख ८९ हजार रूपैयाँ र जारी पूँजी २ अर्ब १० करोड ३ लाख ५० हजार रूपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्