आउँदैछ विद्युतीय सवारी हुन्डाई कोना इभी «

आउँदैछ विद्युतीय सवारी हुन्डाई कोना इभी

विद्युतीय सवारीको बारेमा विश्वभर चर्चा र बहस मात्र होइन, उपयोगमा समेत तिव्रता आएको छ । विश्वका ठूला कम्पनीहरू विद्युतीय सवारी उत्पादनमा विशेष जोड दिएर लागिपरेका छन् ।
डिजेल-पेट्रोलबाट चल्ने सवारी वायु प्रदूषणमा बढी जिम्मेवार रहेको भन्दै यस्ता सवारीको विकल्पको रुपमा विद्युतीयलाई लिइएको छ । नेपालमा पनि सरकारले विद्युतीय सवारीको प्रयोगलाई प्राथमिकता दिने नीति लिएको छ ।
यस्तैमा नेपाली बजारमा रोजाइमा रहेको सवारी ब्रान्ड हुडाईले विद्युतीय सवारीलाई प्राथमिताका साथ ल्याउने भएको छ । गएको नाडा अटो शोमा हुन्डाईले विद्युतीय सवारी आयोनिक सार्वजनिक गरेको थियो । उक्त सवारीप्रति उपभोक्ताको निक्कै चासो रहेको थियो भने बिक्री समेत राम्रै भएको कम्पनीले जनाएको छ । विद्युतीय सवारीप्रति उपभोक्ताको चाहना र सरकारी नीति अनुसार बजारको आवश्यकतालाई मध्यनजर गर्दै हुन्डाईले उत्पादन गरेका विद्युतीय कार आयोनिकपछि कोना ल्याउन लागिएको नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक रुपेश शर्मा भट्टले बताए ।
हुन्डाईले वातावरणमैत्री सवारीलाई विशेष जोड दिएको छ । २०२० सम्ममा हुन्डाईले इलेक्ट्रिक हाइब्रिड र हाइड्रोलिक फ्युलसेलयुक्त २२ वटा कार उत्पादन गर्ने लक्ष्य लिएको छ । उक्त योजना अन्तर्गतकै एउटा प्रोडक्ट कोना भएको भट्टको भनाइ छ । “हाम्रो सरकारले पनि विद्युतीय सवारीलाई प्राथमिकता दिएकाले वातावरणमैत्री सवारी नेपाल भित्र्याइएको हो,” उनले भने, “नेपाली बजारमा क्रसओभर युटिलिटी भेइकल (सीयुभी) को माग राम्रंो भएकाले यही सेगमेन्टको विद्युतीय गाडी कोना ल्याउने तयारी गरेका हौं ।” हुन्डाईको कोना इभी २०१८ को मध्यतिर दक्षिण कोरियामा सार्वजनिक भएको थियो । त्यसलगत्तै विश्वका अन्य देश तथा सहरमा सार्वजनिक भएको थियो ।
निक्कै आकर्षक र पछिल्लो प्रविधिले सुसज्जित हुन्डाई कोना इभी विश्वभर नै रुचाइएको विद्युतीय कारमध्येमा पर्दछ । यो कारले हालै भएको डेट्रोयट अटो शोमा नर्थ अमेरिकन वेस्ट सीयुभी अफ द इयर अवार्ड पाएको छ । कोना इभीमा पछिल्लो समय विकसित भएका सवारीसाधनका आधुनिक विशेषताहरू उपलब्ध रहेको भट्टले बताए । कोनाको माइलेज÷ड्राइभिङ रेञ्ज समेत उत्कृष्ट रहेको छ । एकपटक फुल चार्ज गर्दा कोनाले ३ सय किलोमिटर भन्दा बढी ड्राइभिङ रेञ्ज दिन्छ ।
विद्युतीय सवारी २÷३ किसिमका चार्जर हुन्छन् । एउटा पोर्टेबल चार्जर हुन्छ जुन गाडी खरिद गर्दा नै पाइन्छ । हुन्डाई कोनामा भएको व्याट्री ३९ केडब्लूएचको हो । कोनाको व्याट्री फुल चार्ज हुन ४ एम्पियरको विद्युत् भयो भने १२ घण्टा लाग्छ । त्यस्तै ‘मिडियम साइज वाल माउन्ट चार्जर’ भयो भने यसबाट चार्ज गर्दा छिटो चार्ज हुने भट्टको भनाइ छ । “यो चार्जरबाट चार्ज गर्दा कोना फुल चार्ज हुन ६ देखि ८ घण्टामात्र लाग्छ,” उनले भने, “यो चार्जर भने सवारी खरिदकर्ताले भिन्दै खरिद गर्नुपर्ने हुन्छ ।” नेपाली बजारमा हुन्डाई कोना इभी सीयुभी यही जनवरीभित्रमा सार्वजनिक हुने उनको भनाइ छ ।
सुरुवाती चरणमा हुन्डाईको कोना इभी काठमाडौं बिक्री हुनेछ । काठमाडौंमा आवश्यक पर्ने पूर्वाधारको तयारी कम्पनीले गरिरहेको जनाएको छ । क्रमिक रुपमा काठमाडौं उपत्यका बाहिर पनि गाडीको बिक्री विस्तार गर्ने योजना रहेको भट्टले जानकारी दिए । “काठमाडौंपछि अन्य सहरहरूमा पनि कोना इभी लिएर जाने छौं,” उनले भने, “त्यो भन्दा पहिले आवश्यक प्राविधिक पक्ष र चार्जिङ स्टेशन लगायत पूर्वाधारको समेत तयारी गर्ने छौं ।”
नेपाली बजारमा मात्र नभई विद्युतीय सवारीको माग विश्वभर नै रहेको छ । अहिले नेपालको सन्दर्भमा हेर्ने हो भने विद्युतीय सवारीको आवश्यकता नै पूरा हुने अवस्था छैन । पछिल्लो समय धेरै उपभोक्ताहरू शक्तिशाली र सुविधायुक्त विद्युतीय सवारीको खोजीमा रहेको छ । यस्तो अवस्थामा उपलब्धता नै कम रहेको छ । त्यसका बाबजुद बजारमा प्रतिस्पर्धा स्वभाविक नै हुन्छ । सीयुभी सेगमेन्टमा उपलब्ध रहेको कियाको सोल इभी हुन्डाई कोना इभीको प्रतिस्पर्धीको रुपमा रहने भट्टको भनाइ छ । नेपाली बजारमा हुन्डाईका सवारी निक्कै रुचाइएको ब्रान्डका रुपमा रहिसकेकाले कोना इभीप्रति पनि उपभोक्ता सन्तुष्ट हुने र रोजाइमा पर्ने विश्वास भट्टको छ ।
डिजेल÷पेट्रोलबाट चल्ने सवारीको तुलनामा विद्युतीय सवारीको मर्मत खर्च निक्कै कम पर्ने भएकाले यस्ता सवारीको उपयोग बढ्दै जाने छ । कोनाको नेपाली बजार मूल्य प्रतिस्पर्धी हुनेछ । उपभोक्ताले तिरेको मूल्यबाट उक्त गाडीले दिने पर्फर्मेन्सबाट उनीहरू सन्तुष्ट हुने दाबी भट्टको छ ।

प्रतिक्रिया दिनुहोस्