कफी लगानी सम्मेलनको तयारी «

कफी लगानी सम्मेलनको तयारी

विश्वबजारमा नेपालमा उत्पादित कफी करिब ८ हजार मेट्रिक टनको माग भए पनि जम्मा ५ सय १३ मेट्रिक टन मात्र उत्पादन भइरहेको छ ।

नेपालमा कफी उत्पादनको प्रचुर सम्भावना रहेको वास्तविकतालाई दृष्टिगत गर्दै राष्ट्रिय चिया तथा कफी विकास बोर्डले लगानी सम्मेलन गर्ने तयारी गरेको छ । बोर्डले ठूला व्यवसायी तथा लगानीकर्तालाई कफीखेतीतर्फ आकर्षित गर्ने योजना अनुसार आगामी फागुन वा चैतमा लगानी सम्मेलन गर्ने तयारी गरेको हो ।
बोर्डका निर्देशक दीपक खनालले सरकार, राजनीतिक प्रतिबद्धताका लागि पार्टीका नेतृत्व तह तथा लगानीकर्ताको सहभागितामा सरकारले सुरक्षाको प्रत्याभूति दिन पनि लगानी सम्मेलन गरिन लागेको बताए । मिति पनि करिब करिब तय भएको तर औपचारिक घोषणा मात्र बाँकी रहेको उनको भनाइ छ । सम्मेलनले नेपाली कफीको माग तथा लगानीको बीचको खाडल पुरा गर्ने उनको भनाइ छ । नेपालमा उत्पादित कफीको विश्वबजारमा अत्यधिक माग भएकाले यो व्यवसायमा ठूला व्यापारिक घरानाको पनि लगानी हुन आवश्यक रहेको उनले बताए ।
बोर्डको तथ्यांक अनुसार हाल विश्वबजारमा नेपालमा उत्पादित कफी करिब ८ हजार मेट्रिक टनको माग भए पनि जम्मा ५ सय १३ मेट्रिक टन मात्र उत्पादन भइरहेको छ । बोर्डका निर्देशक खनालले माग अनुरूपको उत्पादनका लागि कफी व्यवसायमा ठूलो लगानी आकर्षण गर्न लगानी सम्मेलन गर्न लागेको बताए ।
नेपालमा उत्पादन हुने अराविका जातको कफी विदेशमा अत्यधिक माग छ । विशेषगरी नेपालमा उत्पादित कफी जापान, कोरिया, क्यानडा, अमेरिका, बेलायत, भारतलगायत देशमा निर्यात हुने गरेको छ । भौगोलिक अवस्थितिका आधारमा ७ सय मिटरदेखि दुई हजार मिटरसम्मको उचाइका साथै भिरालो र छहारी भएको उत्तरपूर्वी मोहोडायुक्त स्थानमा कफीको पर्याप्त उत्पादन हुने अध्ययनले देखाएको छ । मुलुकभर करिब ११ लाख ९८ हजार ५ सय ३५ हेक्टर क्षेत्रफलमा कफीखेती गर्न सकिने पनि अध्ययनले देखाएको छ ।

कफीको क्यू ग्रेडिङ तालिम हुने
नेपालमै पहिलो पटक कफीको क्यू ग्रेडिङ तालिम हुने भएको छ । नेसनल कफी एकेडेमीले ललितपुरमा अमेरिकाको कफी क्वालिटी इन्स्टिच्यूट र स्पेसल्टी कफी एसोसिएसनसँगको सहकार्यमा यही माघ २९ देखि फागुन २ गतेसम्म क्यू ग्रेडिङ तालिम गर्न लागिएको हो । एकेडेमीले पत्रकार सम्मेलन गरी नेपाली कफीको गुणस्तरीय उत्पादन र अन्तर्राष्ट्रिय बजारमा कफी प्रवद्र्धन गर्नसक्ने जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिमको आयोजना गर्न लागेको जनाएको छ । एकेडेमीका अध्यक्ष डा. राजकुमार बञ्जाराले तालिममा सहभागी प्रशिक्षार्थीले जनही तीन दिनको २ लाख ८७ हजार ५ सय रूपैयाँ भुक्तानी गर्नुपर्ने जानकारी दिए ।
नेपालको ४३ जिल्लामा साना किसानले व्यावसायिक कफी खेती गरेका छन् । आर्थिक वर्ष २०७४÷७५ मा ५३ हजार रोपनीमा कफी खेती गरिएको थियो भने सोही वर्ष ९ करोड ३७ लाख २५ हजार रूपैयाँको कफी निर्यात गरिएको थियो । त्यस्तै ६ करोड ५८ लाख ९१ हजार रूपैयाँको कफी आयात गरिएको बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्