बजेट कटौतीले नमुना आवासीय विद्यालय बनाउने योजना अलपत्र «

बजेट कटौतीले नमुना आवासीय विद्यालय बनाउने योजना अलपत्र


म्याग्दीको शिख र सिवाङमा नमुना आवासीय विद्यालय बनाउने योजना बजेट कटौतीले अलपत्र परेको छ । गण्डकी प्रदेश सरकारले बजेट कटौती गर्दा म्याग्दीका दुई विद्यालयमा बनाउन लागेको नमुना आवासीय विद्यालयको योजना अलपत्र परेको हो । दुई वर्ष अघिबाट प्रदेश सरकारले जिल्लाको धवलागिरि गाउँपालिका–७ सिवाङमा रहेको हेम मावि र अन्नपूर्ण गाउँपालिका–५ शिखमा रहेको शिख माविलाई नमुना आवासीय विद्यालयका लागि छनोट गरी पूर्वाधार निर्माण सुरु गरेको थियो । छनोटमा परेदेखि नै विद्यालयमा अस्थायी पूर्वाधारमा आवासीय सुविधासहितको पठनपाठन सुरु गरिएको भए पनि प्रदेश सरकारले सुरु गरेका भवन निर्माण योजनाले पूर्णता नपाएपछि आवासीय विद्यालय कार्यक्रम नै प्रभावित बनेको छ ।
भवन निर्माणको आधा कामसमेत नभएको र यस वर्ष आवश्यक पर्ने बजेटमा समेत भारी कटौती भएको शिख माविका प्रधानाध्यापक केदार कार्कीले बताए । “गत वर्ष बजेट र ठेक्का प्रकृयामा भएको ढिलाइले समयमै काम हुन सकेन, योजनाको म्याद थप नहुँदा विनियोजित बजेटको ठूलो हिस्ता फिर्ता भयो । यो वर्ष बजेटमा भारी कटौती भएपछि भवन निर्माण योजना अलपत्र पर्ने देखिएको छ, यसबारेमा गाउँपालिका र प्रदेश सरकारको समेत ध्यानाकर्षण गराइसकेका छौं,” प्रअ कार्कीले जानकरी दिए ।
गत वर्ष दुई करोड बजेटबाट काम सुरु भए पनि २० प्रतिशतमात्रै काम भएको छ । पहिलो तला ढलान भएको छ । भवनको अन्य केही काम भएको छैन । निर्माणाधीन भवनको माथितर्फ संरक्षण नभएकाले पहिरो खस्ने जोखिमसमेत बढेको छ । पहिलो वर्ष प्रदेशको ६० लाख र गाउँपालिकाको ५० लाख बजेटबाट एउटा भवन निर्माण भएको छ । करिब ९ करोड लागत स्टिमेट रहेको यस योजनामा यस वर्ष १० लाखमात्रै बजेट विनियोजन भएको जानकारी आएकाले योजना नै अलपत्र पर्ने जोखिम बढेको विद्यालयले जनाएको छ । आवासीय विद्यालयको पूर्वाधार योजनाको बजेट कटौती भएपछि मन्त्रालयमा पत्राचार गरी ध्यानाकर्षण गराइएको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेलले जानकारी दिए ।
गत वर्ष ३२ जनालाई आवासीय सुविधा दिएका थियौँ, यो वर्ष त्यो संख्या बढ्ने देखिन्छ, भौतिक रूपमा पठनपाठन सुरु भएपछि उनीहरूलाई कहाँ राख्ने ? अन्योलता सिर्जना भएको प्रअ कार्कीले बताए । धवलागिरि गाउँपालिका–७ सिवाङमा रहेको हेम माविमा नमुना आवासीय विद्यालयका लागि पूर्वाधार निर्माण गर्न दुई वर्षदेखि सञ्चालन भएको क्रमागत योजनाको बजेटमा समेत भारी कटौती भएको छ । पहिलो वर्ष एक करोड र दोस्रो वर्ष दुई करोड बजेट विनियोजन भएर भवन निर्माणको काम भइरहेको अवस्थामा यस वर्ष १० लाख मात्रै बजेट आएकाले योजनालाई पूर्णता दिन अन्योलता सिर्जना भएको गाउँपालिका अध्यक्ष थमसरा पुनले बताइन् ।
‘‘प्राविधिक स्टिमेटअनुसार भवनलाई पूर्णता दिएर आवासीय विद्यालयको पूर्वाधार सम्पन्न गर्न थप करिब दुई करोड बजेट आवश्यक पर्छ, प्रदेशले बजेटमा भारी कटौती गरेर बजेट पठाएको छ, पालिकाका आधा दर्जन योजनामा बजेट कटौती भएपछि मुख्यमन्त्री, अर्थमन्त्री र भौतिक पूर्वाधारमन्त्रीको ध्यानाकर्षण गराएको छ,” अध्यक्ष पुनले भनिन् । यस विद्यालयमा समेत दुई वर्षदेखि अस्थायी भवनमा आवासीय रूपमा विद्यार्थीहरू राखेर पढाउँदै आइएको छ । दुर्गम र घण्टांै लगाएर हिँडेर आउने बालबालिकालाई आवासीय विद्यालयको अवधारणाले राहत मिले पनि भौतिक पूर्वाधार निर्माणले पूर्णता नपाउँदा समस्या सिर्जना भएको विद्यालयले जनाएका छन् । गण्डकी प्रदेश सरकारले भौगोलिक रूपमा विकटता भएका क्षेत्रमा सामुदायिक विद्यालयतर्फ विद्यार्थीको आकर्षण बढाउन कक्षा ४ देखि १२ सम्मका बालबालिकालाई नमुना आवासीय कार्यक्रम सञ्चालन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्