बिनाइजाजत काठ काट्नेलाई वन मुद्दा «

बिनाइजाजत काठ काट्नेलाई वन मुद्दा

रामेछाप- डिभिजन वन कार्यालय रामेछापको इजाजत नै नलिई आफूखुसी वन फँडानी गरी बिक्री र खरिद गर्ने दुई जनाविरुद्ध वन ऐन २०४९ को दफा ४९ (घ) र (ङ) बमोजिम आइतबार मुद्दा दर्ता भएको छ । वन कार्यालयको इजाजत नै नलिई केही हप्ताअघि गोकुलगंगा गाउँपालिका वडा नं. ३ रस्नालुमा रहेको दिकीदाव्रे सेतिभिर सामुदायिक वन उपभोक्ता समितिले इलाका वन कार्यालय ठोसेका केही कर्मचारीहरुको मिलोमतोमा सामुदायिक वनमा रहेको ठिग्रे सल्ला जातको ४ हजार क्युफिट (६७ वटा रुख) एकै ठाउँमा कटान गरेका थिए ।
कटान गर्ने दिकीदाव्रे सेतिभिर सामुदायिक वनका उपभोक्ता समिति अध्यक्ष आङनिमा शेर्पाले गोकुलगंगा गाउँपालिका वडा नं २ ठोसेमा रहेको जटापोखरी बहुउद्धेश्यीय काठ प्रशोधन केन्द्रका सञ्चालक सुन्दर कार्कीलाई २ हजार ६ सय १८ क्युफिट काठ बिक्री गरेका थिए । काठ कटान गरि बिक्री गर्ने र काठ कटान गर्ने दुईजनाविरुद्ध मुद्दा दर्ता भएको हो । सामुदायिक वनमा काटिएको काठ १ हजार ३ सय २२ क्युफिट काठ सामुदायिक वनमा नै छोडिएको छ । कुनै पनि प्रक्रिया नअपनाई काठ कटान गरेको भन्दै वन कार्यालयमा स्थानीयले मौखिक उजुरी गरेका थिए ।
वन डिभिजन कार्यालयमा परेको उजुरीसँगै डिभिजन वन प्रमुख पदमराज नेपाल उक्त क्षेत्रमा पुगि स्थलगत अनुगमन गरेर फर्किएका थिए । प्रमुखले वन फँडानी भएको क्षेत्रमा तत्कालै सहायक वन अधिकृत दीपकप्रसाद रिमालको नेतृत्वमा रेजन भरत श्रेष्ठ सम्मिलित एक टोली गठन गरी फँडानी क्षेत्रमा पुगि प्रतिवेदन तयार गरी कार्यालयमा पेश गर्न पठाएका थिए ।
उपभोक्ता समिति अध्यक्षसमेतको मिलेमतो रहेको प्रतिवेदन डिभिजन वन कार्यालयमा पेश भएपछि सामुदायिक वनका अध्यक्ष आङनिमा शेर्पा र काठ खरिद कर्ता सुन्दर कार्की विरुद्धमुद्दा दर्ता भएको हो । उनीहरु दुवैजनालाई रामेछाप जिल्ला अदालतबाट आइतबार नै ५ दिनको म्याद थप भई उनीहरुलाई प्रहरीको हिरासतमा राखी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको डिभिजन वन कार्यालय रामेछापका अनुसन्धान अधिकृत दीपक प्रसाद रिमालले जानकारी दिए ।
सोही प्रकरणमा डिभिजन वन कार्यालय रामेछापले ७ दिनभित्र स्पष्टीकरण पेश गर्न आफ्ना मातहतका ५ कर्मचारीहरुलाई निर्देशन दिएको छ । फरेष्टर अजय चौधरी, वन रक्षकहरु हरिकृष्ण कार्की, ओलकबहादुर कार्की, भुवन चौधरी र उमेशकुमार घलानलाई ७ दिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्