दैनिक एक करोड नोक्सानी बेहोर्दै आयोजना «

दैनिक एक करोड नोक्सानी बेहोर्दै आयोजना


लमजुङको मस्र्याङ्दी गाउँपालिकामा रहेको ५० मेगावाट माथिल्लो मस्र्याङ्दी जलविद्युत् अयोजनाको विद्युत् उत्पादन बन्द भएको दुई महिना बित्दा पनि अझै सुचारु हुन सकेको छैन । मस्र्याङ्दी नदिमा आएको बाढीका कारण आयोजनाको संरचनामा क्षति पुगेसँगै असार १ गतेदेखि नै आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको हो ।
दुई महिना अघिदेखि आयोजनामा विद्युत् उत्पादन बन्द हुँदा दैनिक करोड बढीको नोक्सानी भएको आयोजनाले जनाएको छ । आयोजनाका जनसम्पर्क अधिकृत कर्ण अधिकारीका अनुसार फुलफेजमा विद्युत् उत्पादन हुने समयमा विद्युत् उत्पादन बन्द हुँदा दैनिक एक करोडभन्दा बढी नोक्सानी भएको हो । दुई महिनामै ६० करोडभन्दा बढी नोक्सानी भएको र आयोजनामा क्षति पुगेका संरचना मर्मतका लागि थप रकम खर्च हुने अधिकारीको भनाइ छ । “विद्युत् उत्पादन नहुँदा दैनिक एक करोड नोक्सान हुन्छ,” अधिकारीले भने, “सोबाहेक अहिले बिग्रिएका संरचना मर्मतमा झनै बढी खर्च लाग्ने भएको छ ।”
नदीमा आएको बाढीका कारण आयोजनाको बाँध क्षेत्रदेखि पावरहाउस सम्मको संरचनामा क्षति पुगेको थियो । अधिकारीका अनुसार नदीमा आएको बाढीका कारण पावरहाउसमा रहेको टेल बेसमा नदीले बालुवा थुपारेको थियो । बाढीका कारण आयोजनाको दुवै टर्मिनलमा क्षति पुगेकाले अव नयाँ संरचना राख्ने तयारी भएको समेत जनसम्पर्क अधिकृत अधिकारीले बताए । चीनबाट नयाँ टर्मिनल ल्याउने तयारी भएको र पुरानोलाई पनि मर्मत गरिने अधिकारीले बताए । “पावरहाउसमा रहेका दुवै टर्मिनलमा समस्या देखिएको छ,” अधिकारीले भने, “अब दुवै टर्मिनल फेर्ने कुरा भएको छ, चीनबाट ल्याउने तयारीमा छ ।”
विगत दुई महिनादेखि बन्द आयोजना मर्मत गरी पुनः विद्युत् उत्पादन गर्नका लागि अझै तीन महिना जति लाग्ने आयोजनाले जनाएको छ । आयोजनाको अन्य संरचनामा अहिले पनि मर्मत कार्य जारी छ । सोबाहेक बाँधदेखि पावरहाउससम्मको ११ केभी विद्युत् प्रसारणलाइन र सडक संरचनामा पनि ठूलो क्षति पुगेको थियो । विद्युत् प्रशारणलाइन मर्मत गरिए पनि सडक संरचना भने मर्मत हुन सकेको छैन । नदमिा आएको बाढीले वरपरको जमिन कटान गर्दा आयोजनाको बाँध क्षेत्रदेखि निवास र पावरहाउससम्म आवतजावत गर्न पनि नदी पारिको सडक प्रयोग गर्नुपरेको आयोजनाले जनाएको छ ।
बाढीले आयोजनाका केही उपकरण र स्टोर गरिराखिएका लाखौं मूल्य बरावरका सामग्री पनि बगाएको थियो । माथिल्लो मस्र्याङ्दी ‘ए’ आयोजना सिनोहाइड्रो–सगरमाथा पावर कम्पनीले निर्माण गरेको हो । आयोजनामा चिनियाँ बहुराष्ट्रिय कम्पनीको सिनो होइड्रोको ९० र नेपालको सगरमाथा हाइड्रोपावर कम्पनीको १० प्रतिशत लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्