वाइडबडीको तीन किस्ता सरकारले तिरिदिने «

वाइडबडीको तीन किस्ता सरकारले तिरिदिने

नेपाल वायुसेवा निगम वाइडबडी जहाजको किस्ता तिर्न असक्षम भएपछि केही किस्ता नेपाल सरकारले नै तिरिदिने भएको छ । निगमले खरिद गरेका जहाज पूर्ण क्षमतामा सञ्चालन नहुँदा निगम वित्तीय संकटमा छ । निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट एयरबस ३३०–२०० सिरिजका दुईथान वाइडबडी जहाज खरिद गरेको छ ।
जहाज खरिद गर्दा सञ्चय कोष र लगानी कोषसँग लिएको ऋणको साँवा र ब्याजको किस्ता तिर्न असफल भएपछि सरकारले नै तीन किस्ता तिरिदिने भएको हो । सरकारले तत्कालका लागि अनुदान नभइ ऋणको रूपमा उक्त किस्ता तिरिदिन लागेको हो ।
पर्यटन मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार निगमले तिर्न नसकेको ४० करोड २३ लाख रुपैयाँका दरले तीन किस्तासम्म सरकारले नै बेहोर्न लागेको हो । जसको लागि अर्थ मन्त्रालयले पनि सहमति दिएको छ । पर्यटन स्रोतका अनुसार निगमका कार्यकारी अध्यक्ष मदन खरेलले प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत केही किस्ता तिर्ने वातावरण बनाइदिन आग्रह गरेका थिए । सरकारले तीन किस्ताबापत १ अर्ब २० करोड रुपैयाँ बेहोर्नेगरी सहमति भएको जनाइएको छ ।
निगमले पुस मसान्तमा सञ्चय कोषलाई वाइडबडी जहाज खरिदमा लिएको साँवा र ब्याजको त्रैमासिक किस्तास्वरुप ४० करोड २३ लाख रुपैयाँ बुझाउनुपर्ने थियो । तर, निगमले अघिल्लोपटक खरिद गरेको दुई थान एयरबस ३२०–२०० सिरिजका न्यारोबडी जहाजको किस्ता भने तिरेको छ । निगमले सञ्चयकोषलाई किस्तास्वरूप २३ करोड ९ लाख रुपैयाँमात्रै तिरेको थियो ।
नियमित किस्ता नतिरेपछि सञ्चय कोषले निगमलाई पत्रसमेत लेखेको थियो । दुवै निकायले सरकार जमानी बसेपछि १२÷१२ अर्ब रुपैयाँका दरले २४ अर्ब ऋण दिएका थिए । निगमले पूर्ण क्षमतामा जहाज उडान गर्न नसक्दा ऋणको किस्ता तिर्न नसकेकोले केही केही किस्ता सरकारले तिर्न लागेको पर्यटन मन्त्रालय स्रोतको भनाइ छ ।
निगमले झन्डै २४ अर्ब रुपैयाँ खर्चिएर दुई थान वाइडबडी जहाज खरिद गरेको छ । जसको बार्षिक ब्याज नै २ अर्ब ५२ करोड रुपैयाँभन्दा बढी पर्दछ । जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको ६ महिनाभन्दा बढी भइसकेको छ । निगमले दुई थान वाइडबडी जहाज खरिदपश्चात बजार हिस्सा १७ प्रतिशत पुग्ने दावी गरेको थियो भने १० लाखभन्दा बढी हवाई यात्रुलाई सेवा दिने योजना समेत सार्वजनिक गरेको थियो ।
संसद्देखि सडसम्म निगमले खरिद गरेका जहाजको अनियमितता भएको भन्दै हंगामा मच्चिएको छ । तर जहाज कति उड्नु पर्ने हो ? जहाज कुन गन्तव्य र प्रयोजनका लागि ल्याइएको हो ? भन्ने बहस भने निगम व्यवस्थापनदेखि सरकारसम्मको प्राथमितामा परेको छैन । दैनिक १६ घन्टासम्म उडान भर्न सक्ने जहाज यतिवेला ८ घन्टा पनि मुस्किलले उडान भरिरहेको निगम व्यवस्थापन ले नै बताउँदै आएको छ ।
दक्षिण कोरिया, जापान, चीन र युरोप लगायत गन्तव्यमा उडान भर्ने घोषणासहित जहाज खरिद गरिएको थियो । तर, दुवै वाइडबडीले न्यारोबडी जहाजले उडान भरिरहेका गन्तव्यमा उडान भर्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्