Logo

प्रस्तावित नेपाल सहकारी बैंकको सम्पर्क कार्यालय स्थापना


प्रस्तावित नेपाल सहकारी बैंक (प्रस्ताबित) को सम्पर्क कार्यालय खुलेको छ । नेपाली कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभाग प्रमुख आनन्दप्रसाद ढुंगाना र विभागका सचिव एवं बैंकका अध्यक्ष सुरेन्द्र भण्डारीले संयुक्त रुपमा सम्पर्क कार्यालयको उद्घाटन गरेका छन् ।
प्रस्तावित बैंकले ६ महिनापछि करोबार सञ्चालन गर्नेगरी कार्यालय खोल्ने भएको छ । प्रस्ताबित बैंकका पदाधिकारीले यसअघि सञ्चालनमा आएको राष्ट्रिय सहकारी बैंकले सबै सहकारी क्षेत्रलाई समेट्न नसकेका आरोप लगाउँदै सबैको साझा सहकारी बैंकको रुपमा नेपाल सहकारी बैंक सञ्चालन गर्न लागिएको जनाइएको छ ।
नेपाली कांग्रेसका नेता ढुंगानाले अबको ६ महिनाभित्र बैंक सञ्चालनमा आउने बताउए । उनले पुँजी र अर्थतन्त्रलाई चलायमान बनाउन सहकारी बैंकको अपरिहार्य रहेको बताए । “जहाँ प्रतिस्पर्धा हुन्छ त्यहाँ प्रगति हुन्छ” उनले भने, “सोही आधारमा नेपाल सहकारी बैंक दर्ता प्रकृया अघि बढेको हो ।”
एउटा मात्र बैंकले करिब ३४ हजार सहकारीलाई समेट्न नसकेपछि नेपाल सहकारी बैंक स्थापना गर्न लागिएका बताउँदै उनले त्यसका लागि आफ्नो र पार्टीको तर्फबाट सक्दो सहयोग रहने उल्लेख गरे । प्रधानमन्त्री शेरबहादुर देउवाको समेत प्रस्तावित सहयकारी बैंक स्थापना गर्ने चाहना रहेको ढुंगानाले बताए ।
प्रस्तावित बैंकका अध्यक्ष भण्डारीले नेपाल राष्ट्र बैंकको सञ्चालक समितिबाट सीमित बैंकिङ कारोबार गर्न पाउने गरी लाइसेन्स पाउनासाथै नेपाल सहकारी बैंक सञ्चालनमा आउने दाबी बताए ।
प्रतिस्पर्धात्मक मुलुकमा यही प्रकृतिका करिब ६ वटा बैंक आवश्यक रहेको औल्याउँदै उनले सरकारले प्रकृया अघि बढाउन सहजीकरण गर्नुपर्ने बताए । “अब यो बैंक अघि बढिसकेको छ” उनले भने, “आशयपत्र लिनासाथ देशैभर कारोबार अघि बढाउनेछौं ।”
भण्डारीले राष्ट्र बैंक ऐनमा सहकारी बैंकसम्बन्धी व्यवस्था पनि थप हुनुपर्ने कुरामा जोड दिँदै सहकारी बैंक थपिँदा प्रतिस्पर्धा भई प्रारम्भिक सहकारी संस्थाहरूले राम्रो सेवा पाउने र ग्रामीण क्षेत्रमा पुँजीको विस्तार गर्न सहयोग पुग्ने बताए ।
तर राष्ट्रिय सहकारी बैंकका सञ्चालकहरूले भने नेपाल राष्ट्र बैंकबाट चार वर्षदेखि नयाँ बैंक वित्तीय संस्थालाई लाइसेन्स नदिएकाले नेपाल सहकारी बैंकलाई पनि दिन नमिल्ने तर्क गरेका छन् ।
साढे दुई अर्ब रुपैयाँ चुक्ता पुँजी प्रस्ताव गरिएको नेपाल सहकारी बैंक सञ्चालनमा आएपछि यसलाई देशव्यापीरुपमा विस्तार गरिने सञ्चालहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्