किमाथांका जोडिन १४ किलोमिटरमात्रै बाँकी «

किमाथांका जोडिन १४ किलोमिटरमात्रै बाँकी

♦विस्फोट गराउने विषयमा अन्योल ♦ट्र्याक खोलेको सडकमा नालासहित ग्राभेल र मर्मत तीव्र
♦चालू आवको ४७ करोड बजेटमध्ये २० करोड खर्च ♦ट्र्याक छिटो खोल्न उद्योगी-व्यवसायीको माग

 राटनगर-नेपाल, भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो दूरी मानिएको बहुप्रतिक्षित जोगबनी-किमाथांका सडक जोडिन अब १४ किलोमिटर मात्रै बाँकी छ । १४ किलोमिटर ट्र्याक खुलिसकेपछि तीन देशबीच व्यापारिक कारोबारमा सहजता आउनेछ । यो नाका यस्तो नाका हो, जुन बाह्रै महिना सञ्चालनमा आउने छ । चीनसँग सीमा जोडिएका अधिकांश नाका हिउँ पर्ने सिजनमा सञ्चालनमा आउँदैनन् । तर, यो सबैभन्दा छोटो र बाह्रै महिना सञ्चालन हुने सडक हो ।
उत्तर-दक्षिण कोसी सडक योजना खाँदबारीका अनुसार अत्यन्तै भीर र चट्टान भएका कारण १४ किलोमिटर ट्र्याक खोल्न कठिनाइ देखिएको छ । अधिकांश ठाउँमा विस्फोट गरेर मात्रै ट्र्याक खोल्न सकिन्छ । विस्फोट गराउन बंकरका लागि ठेक्का प्रक्रिया अगाडि बढेको योजनाका इन्जिनियर अजयकुमार साहले बताए । बंकरका लागि ठेक्का आह्वान भइसकेकाले छ । ठेक्का लागिसकेपछि ३ महिनामा बंकर बनाइसकिने र त्यसपछि ट्र्याक खोल्ने काम सुरु हुने इन्जिनियर साहको भनाइ छ । “बाँकी रहेको सडक कोसी सडक योजनाले बनाउने कि सेनाले बनाउने भन्ने बारेमा अझै टुंगो लागेको छैन । छलफल भइरहेको छ,” साहले भने, “क्याविनेट बैठकले निर्णय गर्नुपर्ने भएकाले समय लागेको हो ।”
इन्जिनियर साहका अनुसार ट्र्याक खोल्न बाँकी स्थानमा चट्टान र पहरा भएकाले विस्फोटक पदार्थ प्रयोग गरी खोल्नुपर्ने अवस्था छ । चेपुवा, छुमसुर घोङगोप्पा खण्डमा विस्फोट प्रयोग गरी १४ किलोमिटर छिचोलेपछि रानीदेखि किमाथांका स्थलमार्गबाट जोडिन्छ । मुलुककै समृद्धिमा महत्वपूर्ण मानिएको यो सडक ट्र्याक नखुल्दा निर्माणले गति लिन सकेको छैन । त्रिदेशीय व्यापारिक महत्वको यो सडक मोरङको रानीदेखि संखुवासभाको किमाथांकासम्म पुग्छ । जसको दूरी ३ सय ४० किलोमिटर छ ।
उत्तर-दक्षिण कोसी सडक आयोजनाअन्तर्गत पाँच वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्यका साथ आर्थिक वर्ष २०६५-०६६ देखि काम सुरु गरिएको थियो । मोरङबाट सुनसरी, धनकुटा र तेह्रथुम हुँदै संखुवासभाको सीमावर्ती गाउँसम्म सडक पु-याउने लक्ष्य छ  । संखुवासभा सदरमुकाम खाँदबारीसम्म कालोपत्रे भइसकेको छ  । बीचका केही स्थानमा सडक बिग्रिए पनि त्यसलाई व्यवस्थित पार्ने काम भइरहेको छ  । अरुण नदीको किनारैकिनार चीनको तिब्बती सहर रियुमा जोडिने उत्तर-दक्षिण मार्ग बनिसकेपछि नेपाल त्यसमा पनि विराटनगर चीन र भारतको व्यापारिक केन्द्र बन्ने नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश-१ का उपाध्यक्ष राजेन्द्र राउतको भनाइ छ । किमाथांका नाका मुलुकको समृद्धिसँग गाँसेर हेर्छन् उनी ।
संखुवासभाको खाँदबारीदेखि किमाथांकाको दूरी १६२ किलोमिटर छ । खाँदबारी-च्याम्पाङसम्म १३४ किलोमिटर ट्र्याक खुलिसकेको इन्जिनियर साहले जानकारी दिए । त्यस्तै च्याम्पाङदेखि घोङगोप्पासम्मको १४ किलोमिटरमात्रै ट्र्याक खोल्न बाँकी छ । घोङगोप्पादेखि किमाथांका १४ किलोमिटर पनि ट्र्याक खुलिसकेको उनको भनाइ छ । बीचको भागबाहेक खाँदबारी १४८ किलोमिटर ट्र्याक खुलिसकेको छ । “बीचको भागमात्रै ट्र्याक खोल्न सकिएको छैन,” साहले भने, “अत्यन्तै अप्ठ्यारो र चट्टानी भीर भएका कारण ट्र्याक खोल्न कठिनाई देखिएको छ ।” उनका अनुसार अहिलेसम्म ठेक्का नलागेकाले चालू आर्थिक वर्षमा ट्र्याक खोल्ने सम्भावना छैन । चालू आर्थिक वर्षमा यो सडकका लागि ४७ करोड रुपैयाँ छुट्याइएकामा २० करोड खर्च भइसकेको इन्जिनियर साहको भनाइ छ । हाल ठाउँ-ठाउँमा सडक फराकिलो बनाउने, भीरमा पर्खाल लगाउने, ग्राभेल गर्ने, पक्की नाला बनाउनेलगायतका काम भइरहेको छ । मकालु गाउँपालिका-५ नुमस्थित कटुवालडाँडामा पक्की नालासहितको ग्राभेल गर्ने काम धमाधम भइरहेको छ ।
“जोगबनी-किमाथांका सडक निर्माणले नेपालको व्यापार विस्तार मात्र हुने छैन, उत्तर तथा दक्षिण सीमाबाट चीन र भारतका प्रमुख व्यापारिक सहर पनि छोटो दूरीबाट जोडिनेछन्,” उपाध्यक्ष राउत भन्छन्, “किमाथांकाबाट तिब्बती सहर ल्हासा र ठूलो व्यापारिक सहर सिगात्से पनि छोटो दूरीमा पर्ने भएकाले व्यापार विस्तारमा ठूलो सहयोग पुग्नेछ ।” किमाथांका नाकाबाट चीनको व्यापारिक सहर सिगात्से करिब ३ सय किलोमिटर दूरीमा छ ।
किमाथांका सडकका कारण नेपालबाहेक अन्य चार मुलुकसमेत प्रत्यक्ष-अप्रत्यक्ष जोडिन सक्नेछन् । किमाथांका सडक बनेपछि चीन, भारत, भुटान र बंगलादेशबीच विराटनगर जोडिने मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडा बताउँछन् । “सम्भावना छ भनेर मात्रै हुँदैन, सम्भावनालाई साकार बनाउन बाँकी ट्र्याक खोल्ने काम छिटोभन्दा छिटो गर्नुपर्छ,” सारडाले भने, “कछुवा गतिको विकासले समृद्धि हासिल गर्न सकिँदैन । कहाँ-कहाँ व्यवधान छन् तिनलाई हटाएर तुरुन्त यो सडक निर्माण गर्नुपर्छ ।”
यो सडकको दक्षिणी सीमा विराटनगरबाट भारतको कोलकाता नजिक पर्ने भएकाले पनि व्यापारिक महत्व बढ्नेछ । किमाथांका सडक निर्माणमा जोड दिँदै यो क्षेत्रका उद्योगीहरूले पटक-पटक अवलोकन भ्रमणसमेत गर्दै आएका छन् । नाकाबाट ठूला उद्योगका लागि कच्चापदार्थ ल्याउन सकिने र जडीबुटीलगायत स्थानीय वस्तु निर्यात गर्न सकिने उद्योग संगठनका अध्यक्ष भीम घिमिरेको ठम्याइ छ । “यो नाका भौगोलिक हिसाबले पनि अन्य नाकाभन्दा निकै महत्वपूर्ण छ,” अध्यक्ष घिमिरे भन्छन्, “चट्टान भएकाले हिउँ पर्ने सिजनमा पनि सवारी सञ्चालन गर्न सकिन्छ ।”
ट्र्याक खोलिसकेर चीनसँग सडक सञ्जाल जोड्न सकिए चिनियाँ पर्यटकको समेत ओइरो लाग्ने मकालु-५ नुमबजारका व्यापारी कमलिम्बा राई बताउँछन् । दक्षिणतर्फबाट नुमबजारलाई छिचोलेर अगाडि बढिसकेको छ यो सडकले । दक्षिणतर्फबाट सडकले छोएपछि नुमबजारको रुपरंग नै फेरिएको उनको अनुभव छ । “उत्तर-दक्षिण जोडिएपछि त यस क्षेत्रका बजारमात्रै होइन आसपासका वस्तीको मुहार फेरिनेछ,” राई भन्छन्, “बाँकी ट्र्याक खोल्ने काम चाँडै गरियोस् ।”

 

प्रतिक्रिया दिनुहोस्