दोलखाका सबै स्थानीय तहको खर्च क्षमता बढ्यो «

दोलखाका सबै स्थानीय तहको खर्च क्षमता बढ्यो

आर्थिक वर्ष २०७७/०७८ को पुँजीगत खर्चमा दोलखाका स्थानीय तहहरुले विगतमाभन्दा बढी खर्च गरेका छन् ।
वर्षको सुरुवात र अन्तिमतिर कोरोना कहरका कारण बन्दाबन्दी भएपनि स्थानीय तहहरु अघिल्लो वर्षभन्दा बजेट खर्च बढाउन सफल भएका हुन् । अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा औषत ६० प्रतिशत खर्च गरेका दोलखाका स्थानीय तहले गत आर्थिक वर्ष २०७७/०७८ मा औषत खर्च ८० प्रतिशत रहेको छ । दोलखाको ९ वटा स्थानीय तहमध्ये खर्च अन्तर बढी भएपनि चालु आर्थिक वर्ष सबैको औसत रहेको छ ।
भीमेश्वर नगरपालिकाले कुल बजेटको ८५.१७ प्रतिशत खर्च गरेको छ । जुन अघिल्लो वर्षभन्दा १३ प्रतिशत बढी हो । भीमेश्वरको चालुतर्फ ९३ प्रतिशत खर्च गर्न सफल नगरपालिकाले पुँजीगततर्फ भने ७९.३६ प्रतिशत मात्र प्रगति गरेको हो । नगरपालिकाका सूचना अघिकारी जगदीश अर्यालका अनुसार ९४ करोड ५३ लाखमध्ये ८० करोड ५१ लाख खर्च भएको छ । त्यस्तै पुँजीगततर्फ ५३ करोड ९२ लाखमध्ये ४२ करोड ७९ लाख खर्च भएको छ ।
त्यसैगरी वित्तीय व्यवस्थापनमा १५ लाख बजेटबाट ६ लाख १४ हजार ७९५ मात्र खर्च भएको छ । जुन ४०.९९ प्रतिशत हो । भीमेश्वरले उपभोक्ता समिति र ठेक्कामार्फतका काम बेलैमा सुरु गराउँदा खर्च बढाउन सफल भएको हो । केही ठेक्का ढिला हुँदा मोबिलाइजेसनमा मात्र लिएको तर, निर्माण व्यवसायीले दोस्रो र तेस्रो किस्ता लिन नआएका कारण पुँजीगत खर्च कम देखिएको उनले बताए । निषेधाज्ञाका कारण कभड हल र टुँडिखेल विस्तारको रकम लक्ष्य अनुसार व्यवसायीले नलिएको उनले बताए । यी दुवै नगरपालिकाका ठूला योजना हुन् ।
जिरी नगरपालिकाले विनियोजित बजेटको ८० प्रतिशत खर्च गर्न सफल भएको छ भने पुँजीगततर्फ ८५.६ प्रतिशत र चालुतर्फ ७६.४५ प्रतिशत खर्च गरेको छ । जिरी नगरपालिकाको कुल विनियोजित बजेट ५३ करोड ९७ लाखमध्ये ४३ करोड २६ लाख खर्च भएको छ । पुँजीगततर्फ २१ करोड ७९ लाखमध्ये १८ करोड ७५ लाख खर्च भएको छ भने चालुतर्फ ३३ करोड १७ लाखमध्ये २४ करोड ६० लाख खर्च भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीश शिवाकोटीले असार मसान्तसम्म जति काम भएको सोही अनुसार भुक्तानी भएको बताए । सरकारको पुँजीगत खर्चभन्दा चालु खर्च बढी भएपनि जिरी नगरपालिकाले पनि चालु नियन्त्रण गरी पुँजीगत खर्च बढी गरेको छ ।
बैतेश्वर गाउँपालिकाले ८४.३० प्रतिशत खर्च गरेको छ । पुँजीगत खर्चमा ८२.३ प्रतिशत गरेको छ । अघिल्लो वर्ष झण्डै ९० प्रतिशत पुँजीगत गर्न सफल भएपनि गत वर्ष पुँजीगत खर्च घटेको छ । बैतेश्वर गाउँपालिकाको विनियोजित संघीय सरकारबाट प्राप्त ५७ करोड ३१ लाख लाखमध्ये ४८ करोड ३१ लाख खर्च गर्न सफल भएको छ । जसमध्ये पुँजीगत बजेट २३ करोड ६५ लाखमध्ये १९ करोड ४१ लाख खर्च गरी ८२ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । चालुतर्फ पनि ३० करोड ४० लाखमध्ये २८ करोड ९० लाख खर्च गरी ९५ प्रतिशत नै खर्च भएको छ । बैतेश्वर गाउँपालिकाले पुँजीगतभन्दा चालु खर्चमा जोड दिएको देखिन्छ ।
गाउँपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत विक्रम कार्कीका अनुसार बागमती प्रदेश सरकारबाट आएको २ करोड पुँजीगत बजेटमा १ करोड ७१ लाख खर्च गरी ८५.६ प्रतिशत प्रगति हासिल भएको छ । प्रदेश सरकारले चालुतर्फ ४५ लाख १२ पठाएकोमा २९ लाख ४३ हजार खर्च भएको छ । त्यसैगरी गाउँपालिकाको आन्तरिक आयतर्फ ३ करोड २४ लाखमध्ये ५३ प्रतिशत खर्च भएको छ ।
भौगोलिक रुपमा गौरीशंकरभन्दा ठूलो विगू गाउँपालिकाले ५२ करोड ४५ लाख विनियोजित बजेटमध्ये ४३ करोड ७३ लाख खर्च गरेको छ, जुन ८३.३ प्रतिशत हो । विगू गाउँपालिकाको पुँजीगततर्फ २३ करोड १० लाखमध्ये १८ करोड ८६ लाख खर्च गरी ८१.६ प्रतिशत प्रगति गरेको छ भने चालु खर्च भने ८४ प्रतिशत रहेको छ । पुँजीगत र चालु खर्च समानुपातिक रुपमा विगू गाउँपालिकाले खर्च गरेको छ । चालुतर्फ २९ करोड ३५ लाख बजेटमध्ये २४ करोड ८५ लाख खर्च गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि पौडेलले जानकारी दिए ।
कालिञ्चोक गाउँपालिकाले ८२.९५ प्रतिशत प्रगति हासिल गरेको छ । गाउँपालिकाले चालुतर्फ ८७.८५ प्रतिशत प्रगति गरेकोमा पुँजीगततर्फ भने ७५.८५ प्रतिशत खर्च गरेको छ । जुन पुँजीगत खर्च अघिल्लो वर्षको तुलनामा अत्याधिक हो । अघिल्लो आव २०७६÷७७ मा पुँजीगत खर्च ४७ प्रतिशत मात्र थियो । अघिल्लो वर्ष स्थायी केन्द्रमा भएको विवादका कारण बैठकसमेत बस्न नसक्दा खर्च हुन सकेको थियो । केन्द्र विवाद थाँती राखेर नियमित काममा जुट्दा खर्च बढेको अध्यक्ष विनकुमार थामीले बताए ।
कालिञ्चोक गाउँपालिकाको गत आर्थिक वर्षको ७३ करोड ५० लाख बजेटमध्ये ६० करोड ९७ लाख खर्च भएको छ । जसमध्ये पुँजीगततर्फ ३० करोड ७ लाखमध्ये २२ करोड ७६ लाख खर्च भएको छ भने चालुतर्फ ४३ करोड ४९ लाखमध्ये ३८ करोड २१ लाख रहेको छ ।
गौरीशंकर गाउँपालिकाले ५० करोड ६४ लाख कुल विनियोजना बजेटमध्ये ४० करोड १८ लाख खर्च गरी ७९.३४ प्रतिशत खर्च गरेको छ । जुन अघिल्लो वर्षको भन्दा ४ प्रतिशत कम हो । पुँजीगततर्फ २० करोड ८१ लाखमध्ये १५ करोड ८ लाख खर्च गरी ७२.४६ प्रतिशत भुक्तानी गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकुमार श्रेष्ठले जानकारी दिए । चालुतर्फ २९ करोड ८२ लाखमध्ये २५ करोड ९ लाख खर्च भएको छ ।
२ आर्थिक वर्ष लगातार उत्कृष्ट काम गरेको भन्दै बागमती प्रदेशबाट कदर पत्र प्राप्त गरेको शैलुङ गाउँपालिकाले ७७ प्रतिशत प्रगति हासिल गरेको छ । ६३ करोड ३४ लाख विनियोजित बजेटमध्ये ४७ करोड ६३ लाख खर्च गर्न सफल भएको छ । यसमध्ये पुँजीगततर्फ २८ करोड ७७ लाखमा २१ करोड ६६ लाख अर्थात ७२.७५ प्रतिशत र चालुतर्फ ३३ करोड ५६ लाखमध्ये २७ करोड ७ लाख अर्थात ८०.६६ प्रतिशत खर्च गर्न सफल भएको छ । गाउँपालिका अध्यक्ष भरतप्रसाद दुलालले बजेट तर्जुमा गरेअनुसार बजेट कम आएकाले पुँजीगत खर्च कम देखिएको बताए ।
मेलुङ गाउँपालिकाको जम्मा ७२ प्रतिशत कुल बजेट खर्च भएको छ । चालुतर्फ ७३.४७ प्रतिशत खर्च गरेको गाउँपालिकाले पुँजीगततर्फ भने ७०.३७ खर्च गरेको छ । जुन अघिल्लो वर्ष ४२ प्रतिशत मात्र खर्च गरेको थियो । मेलुङको ३७ करोड ९४ लाख पुँजीगत बजेटमध्ये २६ करोड ७० लाख बजेट खर्च भएको छ । चालुतर्फ भने ३६ करोड ७६ लाखमध्ये २७ करोड १ लाख खर्च भएको छ । मेलुङको कुल बजेट ७४ करोड २२ लाखमध्ये ५३ करोड ५१ लाख खर्च भएको छ ।
मेलुङ गाउँपालिकामा विगतमा प्रमुख प्रशासकीय अधिकृत लामो समय रिक्त हुँदा खर्च गर्न नसके तापनि गत आर्थिक वर्ष प्रमुख प्रशासकीय अधिकृत नफेरिएको कारण सुरुदेखि काम गर्दा खर्च बढेको हो ।
प्रमुख प्रशासकीय अधिकृत महेन्द्र विकले पुँजीगत खर्चतर्फ सबै योजनाको काम पूरा भएपनि ३ वटा सडकको भुक्तानी हुन नसकेकाले पुँजीगत खर्च कम देखिएको बताए । मेलुङ गाउँपालिकाले सुरुका ३ वर्ष पँुजीगत खर्च ५० प्रतिशत कटाउन सकेको थिएन ।
तामाकोसी गाउँपालिकाले ६९.९६ प्रतिशत प्रगति हासिल गरेको छ । जसमा पुँजीगततर्फ ६६.१२ प्रतिशत र चालुतर्फ ७२ प्रतिशत खर्च भएको छ । गाउँपालिकाको कुल बजेट ७० करोड ९३ लाखमध्ये ४० करोड ५८ लाख खर्च भएको छ । पुँजीगततर्फ २६ करोड ५९ लाखमध्ये १७ करोड ५८ लाख खर्च भएको छ भने चालुतर्फ ४४ करोड ३० लाखमध्ये ३२ करोड १ लाख खर्च भएको छ ।

प्रतिक्रिया दिनुहोस्