शिक्षा समितिमा सरकारको चर्को आलोचना «

शिक्षा समितिमा सरकारको चर्को आलोचना

प्रतिनिधिसभाका सांसदहरुले कक्षा १२ को परीक्षा अझै सञ्चालन गर्न नसकेकोमा सरकारको चर्को आलोचना गरेका छन् ।
संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबारको बैठकमा बोल्दै समितिका सदस्यहरुले दुई/दुई पटक कक्षा १२ को परीक्षा स्थगित गरेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका हुन । सांसद जयपुरी घर्तीमगरले विनाविकल्प कक्षा १२ को परीक्षा स्थगित गरेर सरकारले गम्भीर गल्ती गरेको बताए । समितिका सभापतिसमेत रहेकी उनले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरेर कक्षा १२ को परीक्षा सञ्चालन गर्न समितिले दिएको निर्देशन किन पालना नगरेको ? भनि सरकारलाई प्रश्नसमेत गरिन् ।
समितिका अर्का सदस्य मानबहादुर विश्वकर्माले कक्षा १२ को परीक्षा पटक–पटक रोक्ने काम नगर्न सरकारलाई सचेत गराए । उहाँले विद्यार्थीहरुलाई आतंकित पार्नेगरी कक्षा १२ को परीक्षा स्थगित गराउन कोरोना रोकथाम तथा संकट व्यवस्थापन (सीसीएमसी)ले भूमिका खेलेको भन्दै आक्रोश समेत व्यक्त गर्नु भयो । कोरोनाको समयमा स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर भएपनि परीक्षा संचालन गर्नुपर्नेमा सांसद विश्वकर्माको जोड छ ।
समितिका अर्का सदस्य एवम् पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चाँडोभन्दा चाँडो कक्षा १२ को परीक्षा सञ्चालन गर्ने वातावरण निर्माण गर्न सम्बन्धित सबै निकायको गम्भिर ध्यानाकर्षण गराए । उनले परीक्षा संचालनका लागि विद्यार्थीहरुलाई तत्काल आवश्यक कोरोना खोपको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सचेत गराए ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले सिसिएमसीले दिएको निर्देशनका कारण कक्षा १२ को परीक्षा स्थगित गर्नु परेको स्पष्टीकरण समितिमा दिएका थिए । उहाँले आफूहरु चरणवद्ध रूपमा भए पनि कक्षा १२ को परीक्षा संचालन गर्न तयार रहे पनि कोरोनाका कारण त्यसबाट पछि हटने परिस्थिति आएको बताए ।
प्रवक्ता शर्माले कोरोना संकटकै कारण सीसीएमसीले आफूहरुलाई परीक्षा संचालन गर्ने अनुमति दिन नसकेको पनि समितिलाई जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्