लमजुङ र मनाङ अन्तरजिल्ला सुरक्षा समन्वय बैठक

हिमाली जिल्ला मनाङमा अन्तर जिल्ला सुरक्षा समितिको समन्वय बैठक भएको छ । सिमाना जोडिएको मनाङ र लमजुङको सुरक्षा समितिको समन्वय बैठक भएको हो ।
प्रमुख जिल्ला अधिकारीहरू सहित दुईवटै जिल्लाका सबै सुरक्षा प्रमुखहरू सम्मिलित अन्तर जिल्ला सुरक्षा समन्वय बैठक भएको हो । बैठकमा वर्तमान सुरक्षा अवस्था, एक जिल्लाबाट अर्काे जिल्लालाई हुनसक्ने सुरक्षा चुनौती, सुरक्षा सम्बद्ध सूचनाहरूको आपसी आदान प्रदान, सीमा क्षेत्रमा हुनसक्ने अवैध उत्खनन, ओसारपसार नियन्त्रण लगायतका समसामयिक विषयमा छलफल भएको मनाङ प्रशासनले जनाएको छ ।
बैठकमा प्रत्येक जिल्लामा रहेका सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग सहितको सहभागिता थियो । मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेको अध्यक्षतामा भएको सो बैठकमा प्रजिअ लामिछाने र लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले सम्बन्धित जिल्लाको शान्ति सुरक्षाका बारेमा जानकारी गराएका थिए ।
बैठकले जिल्लामा भएका श्रोत र सम्भाव्यतालाई अधिकतम प्रयोग गरी सम्बन्धित जिल्लाको शान्ति सुरक्षालाई व्यवस्थीत बनाउन लागीपर्ने निर्णय गरेको छ । बैठकले जिल्ला भित्र र सीमा क्षेत्रमा हुनसक्ने संविधान विरोधी गतिविधि, गैरकानुनी क्रियाकलाप, चन्दा आतंक जस्ता गतिविधिहरूलाई एक आपसमा सूचना आदानप्रदान गरी निस्तेज गर्ने निर्णय गरेको छ ।
यसैगरी सीमा क्षेत्रमा हुन सक्ने अवैध हातहतियार, विष्फोटक पदार्थ, लागू औषध, पुरातात्विक वस्तु, बहुमुल्य जडिबुटीलगायत अवैध वस्तुको ओसार पसार रोक्न सीमा क्षेत्रमा भएका सुरक्षा चेक पोष्टहरूलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । त्यसैगरी पदमार्गमा आएका पर्यटकहरूको निगरानी, पर्यटकहरूको सुरक्षाका विषयमा सूचना आदान प्रदान, फरार अपराधीहरूको सुक्ष्म निगरानी गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले यस वर्षको मनसुन जन्य घटनाका कारण दुवै जिल्लामा परेको विपद् तथा महामारी जस्ता रोगका कारण उत्पन्न हुन सक्ने जोखिम तथा क्षतिको न्युनिकरणका लागि आपसी समन्वय र सहकार्य गर्ने निर्णय पनि गरको छ । बैठकले बेंसीसहर चामे सडक खण्डमा बर्खामा बाढी पहिरो र हिँउदमा हिमपातका कारण बन्द भएमा आ–आफ्नो क्षेत्रमा यथाशीघ्र खुलाउन आवश्यक पहल गर्ने लगायतका निर्णय गरेको छ ।
बैठकमा लमजुङका प्रजिअ लुईटेल सहित नेपाली सेनाका सेनानी किशोर अधिकारी, प्रनाउ कृष्णबहादुर कार्की, सशस्त्र प्रनाउ नवराज थापा, राष्ट्रिय अनुसन्धान लमजुङका प्रमूख कुमार बुढाथोकीको उपस्थिति रहेको थियो । यसैगरी मनाङका तर्फबाट प्रजिअ लामिछानेसहित नेपाली सेनाका सेनानी सुजित अधिकारी, सशस्त्र प्रनाउ होमनाथ पन्थी, राष्ट्रिय अनुसन्धान मनाङका प्रमुख सुन्दरमणी पोख्रेल, प्रहरी निरीक्षक अर्जुनध्वज अधिकारी लगायतको सहभागिता थियो ।