ठूलो अर्थतन्त्रमा भारतले बेलायतलाई यसै वर्ष उछिन्ने «

ठूलो अर्थतन्त्रमा भारतले बेलायतलाई यसै वर्ष उछिन्ने

इकोनोमिक टाइम्स

नयाँ दिल्ली-विश्वको ठूलो अर्थतन्त्रको वरियतामा यसै वर्ष भारतले बेलायतलाई उछिन्न सक्ने विश्वव्यापी परामर्शदातृ फर्म पीडब्लूसीले जनाएको छ ।
यो वर्ष बेलायतको जीडीपी वृद्धि १.६ प्रतिशत र फ्रान्सको १.७ प्रतिशत हुने पीडब्लूसीको ग्लोबल इकोनोमी वाच रिपोर्टले देखाएको छ । तर भारतले भने ७.६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने छ ।
“विश्वका ठूलो अर्थतन्त्रको वरियतामा भारत र फ्रान्सले यसै वर्ष बेलायतलाई उछिन्ने छन् । यी मुलुकहरुले विश्वव्यापी सूचीमा बेलायतलाई सातौ स्थानमा धकेल्नेछन्,” प्रतिवेदनले भनेको छ ।
विश्व बैंकको तथ्यांक अनुसार भारत २०१७ मा विश्वकै छैटौ ठूलो अर्थतन्त्र बनेको थियो । फ्रान्सलाई पछि पार्दै यो मुलुक उक्त स्थानमा पुगेको हो । र यस वर्ष बेलायतलाई समेत पछि पारेर भारत पाँचौ स्थानमा आउने छ ।
“आर्थिक वर्ष २०१९–२० मा भारत ७.६ प्रतिशतको स्वस्थ वृद्धि दरमा फर्कनुपर्छ । यदी विश्वव्यापी अर्थतन्त्रमा व्यापार तनावको अवस्था नआएको तथा तेलको क्षेत्रमा आपूर्तिमा कुनै गडबडिमा नआएमा यो वृद्धि हासिल हुने छ ।”
पीडब्लूसीका वरिष्ठ अर्थशास्त्री माइक जाकेम्यानले भने,“ठूला अर्थतन्त्र मध्ये भारत विश्वकै तीव्र वृद्धिको मुलुक हो । ठूलो जनसंख्या र सकारात्मक जनसांख्यिकी लगायतका कुराले भारतको सम्भावना उच्च छ ।”
“ठूलो अर्थतन्त्रको वरियतामा बेलायत र फ्रान्सले लुकामारी खेल्दै आएका छन् । तर २०१८ मा बेलायतको निष्क्रिय अवस्थाको वृद्धिका कारण यो वर्ष अर्थतन्त्रको ठूलो आकारमा फ्रान्सको पक्षमा देखिन्छ । पाउन्डको तुलनामा युरोको अधिमूल्यन भएकाले पनि फ्रान्सको अर्थतन्त्रको आकारमा वृद्धि हुने छ,” जाकेम्यानले बताए ।
जी–७ का मुलुकहरु दीर्घकालिन औसत वृद्धि दरमा फर्कन लागेसँगै विश्वव्यापी अर्थतन्त्र समग्रमा यो वर्ष सुस्त हुने देखिएको पीडब्लूसीको प्रतिवेदनले देखाएको छ ।
विश्व बैंकका अनुसार २०१७ मा भारत २.५९ ट्रिलियन डलरका साथ विश्वकै छैटौ ठूलो अर्थतन्त्र भएको छ । २.५८ ट्रिलियन डलरका साथ फ्रान्स सातौ स्थानमा रहेको छ । पाँचौ स्थानमा रहेको बेलायतको जीडीपी २.६२ ट्रिलियन डलर रहेको छ ।
विश्वकै ठूलो अमेरिकी अर्थतन्त्रका आकार १९.३९ ट्रिलियन डलर रहेको छ । दोस्रो स्थानमा १२.२३ ट्रिलियन डलरका साथ चीन रहेको छ । जापानको जीडीपी ४.८७ ट्रिलियन रहेको छ । यो विश्वकै तेस्रो ठूलो अर्थतन्त्र भएको मुलुक हो भने ३.६७ ट्रिलियन डलरका साथ जर्मनी चौथो स्थानमा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्