सडक नै विकासको पूर्वाधार «

सडक नै विकासको पूर्वाधार

जाजरकोट-पाँच वर्षदेखि रुकुमको आठबिसकोट राडी बजारमा पसल गर्दै आएका श्याम थापा अहिले जाजरकोट नलगाड नगरपालिका–१० तल्लुमा पसल थापेर व्यवसाय गर्दै आएका छन् । उनी तल्लुमा आएको दुई महिनामात्र भएको बताए । राडीबजारमा भन्दा धेरै व्यापार तल्लुमा हुने उनको भनाइ छ ।
उनीजस्तै जाजरकोट बारेकाट गाउँपलिका–४ का सृष्टी थापाले खदाङमा होटल सञ्चालन गर्न लागेको करिब दुइ महिना भयो । पहिले रुकुमको चौरजहारीमा होटल सञ्चालन गरेका सृष्टीले तल्लुमा होटल गर्दा राम्रो फाइदा भएको बताउँछिन् । पूर्वी जाजरकोट, रुकुम र डोल्पाको व्यापारिक केन्द्रको रूपमा अहिले तल्लुमा बजार विस्तार भएको छ । चार महिनाअघि १० जना ग्राहक सुताउन र खुवाउन मुस्किल पर्ने तल्लुका होटल अहिले एकै पटक सय जनालाई सेवा दिनसक्ने अवस्थामा पुगेका छन् । जाजरकोट–डोल्पा सडक खण्डको मुटुमा पर्ने तल्लुबजार अहिले तीनै जिल्लाको सम्पर्क स्थानका रूपमा स्थापित भएको छ ।
जाजरकोट, रुकुम र डोल्पाबाट आएका सवारीसाधन एकैपटक रोकिने र ठूलो मात्रामा व्यापारसमेत हुने गरेको छ तल्लुबजार । जाजरकोट–नलगाड नगरपालिकाको तल्लुबगर पहिले पिउने पानी नपाउँदा गाउँमा मात्र बस्ने यहाँका स्थानीय अहिले सडकसँग जोडिएपछि तल्लुबगर जाजरकोट र रुकुमको व्यापारिक केन्द्रको रूपमा उदाएको छ । दैनिक दर्जन जीप र ट्याक्टर सञ्चालनमा आउन थालेपछि, पिठ्यूँमा बोकेर जाजरकोटबाट डोल्पामा खाद्यान्न बिक्री गर्न लिने यहाँका स्थानीय अहिले यातायातका साधनमा लिन थालिएका छन् ।
नेपाली सेनाले सडक निर्माणकार्य तीव्र रूपमा अगाडि बढाएसँंगै जाजरकोट, रुकुम र डोल्पाको जनजीवन सुगम बनेको छ । आफूले उत्पादन गरेका वस्तु गाउँमै बिग्रने अवस्था नभएको नलगाड नगरपालिका–१३ का वडाध्यक्ष नरेन्द्र शाहीले बताए । अहिले डोल्पामा उत्पादन हुने सिमी, दाँतेओखर, जडिबुटीहरू सजिलै जाजरकोट र रुकुम आउने गर्दछ । जाजरकोटमा उत्पादन हुने खाद्य वस्तु सजिलै डोल्पामा लिएर बिक्री हुने गरेको छ । छ महिना अगाडिजस्तै बजार नपाउँदा उत्पादन खेर गयो भनी चिन्ता मान्नुपर्ने अवस्था नरहेको तल्लुबगरका अमर शाहीले बताए ।
यातायात सञ्चालन भएपछि हरेक कुरा सहज हुँदोरहेछ , घर आँगनमा व्यापार बढ्नुका साथै व्यापारिक चेतनाको विकास भएको शाहीको भनाइ छ । दैनिक सामग्री ढुवानी गर्न जाँदामात्र दैनिक हजार रुपैयाँ कमाइ हुने उनको भनाइ छ । अहिले सडक विस्तारसँगै डोल्पाको त्रिवेणी, खदाङ, त्रिपुराकोट, जुफाल, दुनैमा भारी मात्रामा व्यापार बढेको छ । व्यापार बढेसँगै दैनिक उपभोग्य सामग्रीसमेत सस्तोमा पाइने गरेको मुट्कोचुला गाउँपालिका–२ का हेमन्त शाहीले बताए । भौतिक संरचना निर्माण गर्नका लागि विभिन्न सामग्री लिनसमेत सजिलो हँुदा विकासका काममा तीव्रता पाएको छ । यातायातको पहुँच नहुँदा जहाजबाट सामग्री लिँदा सामग्रीको मूल्यभन्दा जहाजको कार्गाे गरेको भाडा बढी लाग्दा मूल्य चर्को हुने गर्दथ्यो ।
अहिले औषधि, खाद्यान्न, आयोडिनयुक्त नुन, नेपाल खाद्य संस्थानको चामल, मासुका लागि च्याङ्ग्रा, भेडा लिनसमेत सजिलो भएको छ । टेलिफोनका टावर गाउँगाउँमा विस्तार गर्नसमेत सजिलो भएको नेपाल टेलिकम डोल्पाले जनाएको छ । अहिले केन्द्रीय विद्युत् प्रशारण लाइन विस्तारका लागि कामसमेत सुरु भएको ३३ केभी विद्युत् प्रशारण केन्द्र जाजरकोटले जनाएको छ । यातायात पुगेसँगै घोडा, खच्चड गाउँगाउँमा केन्द्रित भएको घोडा, खच्चड व्यावसायीले बताएका छन् ।
नुन लिन नेपालगन्ज, जाजरकोट आउँदा १ महिनादेखि ३ महिनासम्म लाग्ने गरेको पीडा सुनाउँदै त्रिपुरासुन्दरी नगरपालिका–९ दापुका हरि खत्रीले भने, “हाम्रो पालामा ओडारमा पिठो लुकाएर नुन, तेल र खाद्यान्न ल्याउन जाने गरिन्थ्यो इष्ट, आउँदा बास बस्ने ठाउँमा सोही ओडारमा राखेको पिठो निकालेर खाने गथ्र्यौं , कहिले मुसाले,अन्य जनावरले पिठो खाँदा भोकै बस्नुपर्ने बाध्यता आइलाग्थ्यो, आजभोलि घरनजिकै गाडी गुड्छन् भाग्यमानी जुनि रहेछ छोराछोरी, बुहारी, नाती र नतिनाको ।”
सडक निर्माण र स्तरोन्नतिको धेरै काम बाँकी रहेकाले सेना दिनरात काममा लागेको जाजरकोट–डोल्पा सडक निर्माण कार्यदलका प्रमुख विश्वबन्धु पहाडीले भने, “लामो संघर्षपछि डोल्पाको दुनैमा सेनाले बाटो पु¥याएको छ, जनता, राजनीतिक दल, जिम्मेवारी निकायको सहयोग र सहकार्यका कारण हामीले दुनैसम्म सडक लिएका छौं ।”
नुनदेखि सुनसम्म गाउँघरमै पाइन थालेपछि डोल्पालीमा उत्साह थपिएको छ । अब माथेल्लो डोल्पामा सडक निर्माणमा जोड दिई नेपाल, भारत र चीनको त्रिदेशीय नाकाको रूपमा यो सडकलाई विस्तार गर्नसके जाजरकोट, रुकुम र डोल्पा जिल्लालाई फाइदा हुने देखिन्छ ।
सञ्जय केसी 

प्रतिक्रिया दिनुहोस्