४४ महिनामा ४४ हजार घर «

४४ महिनामा ४४ हजार घर

गोरखा-भूकम्प गएको ४४ महिना बित्दा केन्द्रबिन्दु गोरखा जिल्लामा ४४ हजार दुई सय ३१ निजी आवासको निर्माणकार्य सकिएको छ ।
७० हजार ५ सय २८ लाभग्राही रहेकोमा हालसम्म ५० हजार ४ सय ३४ ले तेस्रो किस्ताका लागि निवेदन दिएका छन् । जसमध्ये ४४ हजार दुई सय ३१ घरधुरीले अन्तिम किस्ता बुझिसकेको जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) का इन्जिनियर युवक श्रेष्ठले बताए । यस्तै, दोस्रो किस्ताको लागि ५५ हजार ३ सय ४२ ले निवेदन दिएकोमा ५४ हजार ४ सय ३८ घरधुरीले दोस्रो किस्ता बुझिसकेका छन् । बाँकीको घर निरीक्षणका क्रममा रहेको उनको भनाइ छ । जिल्लामा ६२ हजार ४ सय ८१ घरधुरीले पहिलो किस्ता बुझेका थिए । तर पहिलो किस्ता बुझेर पनि तीन हजार ९ सय १४ घरले दोस्रो किस्ताका लागि निवेदन दिएका छैनन् । यो संख्या घर नै नबनाएका तथा मापदण्ड नपुगेर किस्ता पाउन नसकेकाको रहेको इन्जिनियर श्रेष्ठले जानकारी दिए । प्राविधिक फिल्डमा परिचालन हुनुभन्दा पहिले बनिसकेका घरमा किस्ता सिफारिसमा समस्या देखिएको उनको भनाइ छ ।
यसका लागि प्राविधिक परिचालन गरी भूकम्प प्रतिरोधी बनाउनका लागि निर्देशन, प्राविधिक सरसल्लाह दिनुका साथै घर सुरक्षित बनाई किस्ता सिफारिस गर्ने गरिएको इन्जिनियर श्रेष्ठले बताए । कतिपय आरसीसी घरमा समेत न्यूनतम मापडण्द नपुग्दा समस्या प्रवलीकरण गर्न कठिनाइ भएको प्राविधिकले बताएका छन् । अझै पनि दक्ष कामदार तथा प्राविधिकको कमीले मापदण्ड अनुसारका घर बनाउन चुनौती रहेको उनीहरूको भनाइ छ । यसकारण प्राविधिक र कामदारलाई थप तालिमका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा साझेदार सस्थासँग समन्वय भइरहेको इन्जिनियर श्रेष्ठले जानकारी दिए । केही मापडण्द नपुगेका निजी आवास सुधार र प्रवलीकरण गर्न लाभग्राही इच्छुक नभएकाले उनीहरूलाई सुरक्षित घर बनाउनुपर्ने विषयमा स्थानीय जनप्रतिनिधिबाट पनि सहजीकरण थालिएको प्राविधिकले बताएका छन् ।
भूकम्पले घरमा आंशिक क्षति पुगेर प्रबलीकरण गर्नुपर्नेको सूचीमा गोरखाका ५ हजार २ सय ६ घरधुरी परेका छन् । तीमध्ये ७ सय ६६ जनाले पहिलो किस्ताको ५० हजार रुपैयाँ बुझिसकेका छन् । तर प्रबलीकरण सूचीमा परेका धेरैजसो घर पूर्णक्षतिको सूचीमा पर्नुपर्ने भन्दै पुनरावेदनका लागि सम्पर्कमा आएका जिल्ला आयोजना कार्यान्वयन इकाई ( अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधारका प्रमुख रामशरण आचार्यले जानकारी दिए । निजी आवास निर्माणका लागि प्राविधिक परिचालन, अनुगमन तथा गुनासो ब्यवस्थापनका लागि स्थानीय तहले पनि काम थालेकाले भूकम्पले भत्केका बाँकी घर निर्माणले तीव्रता पाउने उनको विश्वास छ ।

 

प्रतिक्रिया दिनुहोस्