नेपाल इंकका सिइओलाई अवसर «

नेपाल इंकका सिइओलाई अवसर

विश्व आर्थिक मञ्चमा विश्वका प्रभावशाली मुलुकका राजनेतादेखि शक्तिशाली कम्पनीका प्रमुख कार्यकारी अधिकारीहरू सहभागी हुन्छन् ।

नेपालको अर्थतन्त्र निकै लामो उतारचढावबाट गुज्रिएको छ । झन्डै सात दशक लामो समय त राजनीतिक परिवर्तन र त्यससँग जोडिएको उतारचढावबाटै गुज्रियो । वि.सं. १९९० यता नै हरेक १० वर्षमा कुनै न कुनै राजनीतिक उथलपुथल भएकै देखिन्छ । २०४६ र २०६३ को परिवर्तन सबैभन्दा ठूला उतारचढाव हुन् । यी परिवर्तनहरूको चक्रमा देशको अर्थतन्त्र भने पिल्सिएकै हो । पछिल्लो तीन दशकमै आर्थिक वृद्धिदर औसतमा ४ देखि ५ प्रतिशतको हाराहारीमा मात्र घुमिरह्यो भने आमनेपालीहरूको औसत प्रतिव्यक्ति आय पनि न्यून दरमा वृद्धि भयो । यसबीचमा नेपालले संयुक्त राष्ट्र संघ, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व व्यापार संगठन (डब्लूटीओ), सार्क, बिमस्टेकसहितका विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूको पनि सदस्यता नलिएको भने होइन, तर नेपालको कमजोर नेतृत्वका कारण यस्ता मञ्चहरूबाट पाउनुपर्नेजति लाभ नपाएकै हो । चाहे राष्ट्र संघीय सम्मेलन होस् वा विश्व बैंक÷आईएमएफ र एसियाली विकास बैंकको वार्षिक बैठक वा डब्लूटीओको वार्षिक सम्मेलन नै किन नहोस्, नेपालको फितलो प्रस्तुति हुने गरेको छ । यस्ता बैठक वा मञ्चमा सहभागी हुन जाने प्रधानमन्त्री, मन्त्रीहरू वा अन्य सरकारी अधिकारीहरू पहिलो त कमजोर तयारीका साथ जाने गर्छन्, उनीहरूका लागि यस्ता अवसर राष्ट्रको प्रतिनिधित्व गर्नेभन्दा पनि बिजनेस क्लासमा बसेर राजसी आतिथ्य ग्रहण गरेर विदेश घुमफिर गर्नेमा मात्र सीमित बनेको छ । त्यसैले छिमेकी मुलुकहरू वा नेपालजस्तै अतिकम विकसित मुलुकहरूले सबल मुद्दा उठाएर अन्तर्राष्ट्रिय ध्यान आफूतिर खिच्दा पनि नेपाल साक्षी–किनाराको बनेर फर्कन्छ ।
पुँजीवादीहरूको अन्तर्राष्ट्रिय क्लब भनेर चिनिने विश्व आर्थिक मञ्चमा नेपालले यस पटक पहिलोचोटि निम्ता पाएको छ र प्रधानमन्त्री केपी शर्मा ओली मञ्चमा सहभागी हुन् भनेर यताबाट प्रस्थान पनि गरिसकेका छन् । विश्व आर्थिक मञ्चमा विश्वका प्रभावशाली मुलुकका राजनेतादेखि शक्तिशाली कम्पनीका प्रमुख कार्यकारी अधिकारीहरू सहभागी हुन्छन् । हालैका दशकहरूमा राष्ट्र प्रमुखहरूलाई समेत समग्र मुलुकलाई एक आर्थिक प्रतिष्ठान (इन्कपोरेटेड वा इंक) मानेर मुलुकको सिइओका सम्बोधन गर्ने प्रचलन पनि बढेको छ, चाहे ती अमेरिकाका राष्ट्रपति हुन् वा भारतका कार्यकारी प्रधानमन्त्री नै किन नहुन् । यस्ता कार्यकारी राष्ट्र प्रमुखहरूले विश्व आर्थिक मञ्चजस्ता प्रभावशाली मञ्चहरूमा आफ्नो मुलुकलाई ब्रान्डिङ गर्ने अवसर चुकाउँदैनन् ।
कार्यकारी सरकार प्रमुखका रूपमा ‘नेपाल इंक’ सिइओ केपी ओली पनि स्वीजरल्यान्डको डाभोसमा उपस्थिति जनाउँदैछन्, उनको उपस्थिति स्वीजरल्यान्डको रमणीय पर्यटकीय भ्रमणमा मात्र सीमित नरही नेपालमा बढीभन्दा बढी वैदेशिक लगानी भिœयाउने दिशामा केन्द्रित रहन सक्यो भने मात्र पाएको अवसरको सदुपयोग ठहर्छ । यसका लागि उपलब्ध मञ्चहरूमा नेपालका तर्फबाट यहाँको अर्थतन्त्रका सबल पक्षहरूबारे बलियो प्रस्तुति दिन सक्नुपर्छ । अन्तर्राष्ट्रिय आर्थिक नेतृत्वले दुईतिहाइको सरकार, पानीजहाज र रेलका कुराबाट मात्र विश्वास गर्दैनन्, उपलब्ध आर्थिक अवसरहरूको भविष्यमा कतिको दोहन गर्न सकिन्छ भन्ने विश्वसनीय आधार पनि खोज्छन् । यस्ता आर्थिक मञ्चहरूमा व्यक्ति–व्यक्तिबीच करिडोरमा उभिएर हात मिलाएको फोटोले भन्दा समग्र प्रस्तुतिले बढी भूमिका खेल्छ । त्यहाँ नेपालले गर्ने प्रस्तुतिबाटै अन्तर्राष्ट्रिय समुदायसँग नेपालको भविष्यका सम्बन्ध कस्तो रहने भन्ने दृष्टिकोण पनि प्रस्तुत हुनेछ । यस पटकको विश्व आर्थिक मञ्चका सह–अध्यक्षता महिलाले गर्ने अवस्थामा नेपालको लैंगिक सहभागिताको विषय पनि चर्चाको विषय हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्