पर्वतको जलजलाका अध्यक्षलाई पक्राउ गर्न अदालतको पुर्जी «

पर्वतको जलजलाका अध्यक्षलाई पक्राउ गर्न अदालतको पुर्जी

पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) लाई पक्राउ गर्न कास्की जिल्ला अदालतले पर्वत प्रहरीलाई पत्र पठाएको छ ।
गत साउन ३१ गते अदालतको तहसिल शाखाबाट पर्वत प्रहरीलाई लेखिएको पत्रमा मल्ललाई पक्राउ गरी अदालतमा दाखिला गर्न अनुरोध गरिएको हो । अध्यक्ष मल्ललाई व्यावसायी ध्रुवबहादुर थापासँग लेनदेनको मुद्दामा २०७७ चैत २७ मा पक्राउ गरी ६ महिना कैदमा राख्न जिल्ला कारागार कास्कीमा पठाइदिनु भनी आदेश भएकाले पक्राउ गर्न भनिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
पर्वतका प्रहरी प्रमुख शिवराज बुढाथोकीले अदालतको पत्र आएपछि मल्ललाई पक्राउ गर्न खोजी भइरहेको जानकारी दिए । ‘हामीले खोजी गरिरहेका छौँ, उहाँ कहाँ हुनुहुन्छ भन्ने थाहा पाइएको छैन,’ उनले भने, ‘जतिसक्दो छिटो पक्राउ गरेर अदालतमा पेश गर्नेगरी खोजी भइरहेको छ ।’
यसबारे बुझ्न सम्पर्क गर्दा अध्यक्ष मल्लले आफूले अहिलेसम्म कसैलाई एक रुपैयाँ पनि नठगेको बताउँदै २०६८ सालमा राजेश बोहराले फोर्स गाडी निकाल्दा जमानी बसिदिएको र बोहराले पैसा तिर्न नसकेपछि आफैंले तिरिदिएको बताए । २०६८ साल कात्तिक १४ गते आफू जमानी बसिदिएको र तिर्नुपर्ने रकम १० लाख १७ हजार ९५ रुपैयाँ रहेको पनि मल्लको भनाइ छ ।
‘किनेको मान्छेले तिर्न नसकेपछि कानुनअनुसार जमानी बसेको मान्छेले तिर्नुपर्ने हुन्छ । मैले पैसा तिरिरहेको छु । धनी नबिल बैंक पोखरा शाखा हो भने ध्रुव थापा प्रोप्राइटर रहेको हिमालयन इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कन्स्ट्रक्सन प्रालि छ । बा २ ख ३२८४ नम्बरको फोर्स माइक्रो गाडी राजेश बोहराको नाममा ऋणी थियो,’ उनले भने, ‘उसले नतिरे म तिरौँला भनेर नै जमानी बसेको हुँ । मल्लले भने ।
बोहोराले गाडी चलाउन नसकेपछि हिमालयन अटोले गाडी पनि लगेर त्यहीँ राखेको छ । यो बारेमा बल्ल थाहा पाएपछि मैले सबै पैसा दिएको छु,’ मल्लले भने ।
नेपाली कांग्रेस पर्वतको कोषाध्यक्ष समेत रहनुभएका मल्लले आगामी १४ औँ अधिवेशनमा जिल्ला सभापतिको उम्मेदवारको तयारी गरेका छन् । जिल्ला सभापतिमा लड्ने कुरा गरिरहेको र बलियो दाबेदार समेत रहेकाले आफूलाई यसबाट विफल पार्न यो अदालती प्रक्रिया अपनाइएको मल्लको गुनासो छ । फैसला भएको पनि मलाई त थाहा नै छैन । पहिले त्यो बारेमा थाहा भएको भए त तिरिदिन्थेँ,’ उनले भने, ‘मैले कसैलाई एक रुपैयाँ ठगेको र खाएको छैन, यो १० लाख तिर्नु पनि ठूलो कुरा थिएन । उनीहरूले समयमा नै मलाई भनेको भए तिरिन्थ्यो । कसरी हुन्छ बेइज्जत गराउने उद्देश्यले भएको हो जस्तो मलाई लाग्छ ।’
हिमालयन अटोका प्रोप्राइटर तथा वादी ध्रुव बहादुर थापाले आफूले पाउनुपर्ने रकम सबै आएपछि अदालतमा पुगेर पैसा बुझिलिएको कागज गरिसकेको र यो मुद्दा सकिएको बताए । ‘उनले साथीको लागि गाडी निकालिदिएका हुन्, उनी आफैँले लगेका पनि होइनन् । तर जमानी बसेका कारण यो अवस्था आएको हो,’ थापाले भने, ‘पैसा पहिले नै तिरेको भए यो अवस्था आउने थिएन । यो मुद्दाका सबै प्रक्रियाहरू डिसमिस भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्