६ महिनामा सहिद लखनको खर्च १० प्रतिशत «

६ महिनामा सहिद लखनको खर्च १० प्रतिशत

  • ५ करोड १२ लाख ८४ हजार चालू बजेट रहेकोमा एक करोड ३३ लाख ३७ हजार रुपैयाँ खर्च भएको छ ।

गोरखा-गोरखाको सहिद लखन गाउँपालिकाले चालू आवको ६ महिनासम्ममा १० प्रतिशतमात्रै विकास बजेट खर्च गरेको छ ।
चालू आवमा गाउँपालिकाको १८ करोड ८० लाख ४२ हजार ७ सय ६७ रुपैयाँ पुँजीगत बजेट रहेकोमा पुस मसान्तसम्म एक करोड ९० लाख ७४ हजार ८१ रुपैयाँमात्रै खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवनबहादुर आले मगरले जानकारी दिए । सशर्त अनुदानअन्तर्गत १६ करोड १२ लाख ३० हजार रुपैयाँ बजेटमध्ये ७ करोड ५० लाख ८१ हजार ६५५ रुपैयाँ खर्च भएको छ । सशर्त अनुदानको कुल बजेटमध्ये ४६.५७ प्रतिशत खर्च भएको उनले बताए । “हामीले सशर्त अनुदानमार्फत खर्च गर्ने गरी तय गरेका योजनामा खर्च भएको बजेट हो यो,” उनले भने, “स्वास्थ्य, शिक्षा, वातावरण, ऊर्जालगायतका शीर्षकमा सशर्त अनुदानका बजेट छन् ।” पुँजीगत खर्चको आधारमा गाउँपालिकाको चालू खर्च भने दोब्बरभन्दा बढी छ । चालू बजेटअन्तर्गत ६ महिनाको अवधिमा २६ प्रतिशत खर्च भएको छ ।
५ करोड १२ लाख ८४ हजार चालू बजेट रहेकोमा एक करोड ३३ लाख ३७ हजार रुपैयाँ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत मगरले बताए । सामाजिक सुरक्षा खर्चअन्तर्गत ५ करोड ९८ लाख ९५ हजार बजेट रहेकोमा २ करोड ४५ लाख २१ हजार रुपैयाँ खर्च भएको छ । समग्रमा गाउँपालिकाको ४६ करोड ४ लाख ५१ हजार बजेटमध्ये हालसम्म १३ करोड २० लाख १४ हजार रुपैयाँ खर्च भएको उनले जानकारी दिए । “यो कुल बजेटको २८.६७ प्रतिशत हो,” उनले भने, “हामी योजना कार्यान्वयनका चरणमा छौ । अब फागुन मसान्तसम्म हाम्रो खर्च प्रतिशत ६०/७० प्रतिशत पुग्छ ।” गाउँपालिकामार्फत विकास निर्माणका लागि ४ वटा योजना बोलपत्रमार्फत सम्झौता भई कार्यान्वयनमा छन् । अब १० योजना बोलपत्र सूचना प्रकाशन भई कार्यान्वनयमा जाने भएकाले खर्च प्रतिशत पनि बढ्ने उनको भनाइ छ । विकास बजेट कार्यान्वयनका लागि गाउँपालिका प्रतिबद्ध रहेको उनले जानकारी दिए । गाउँपालिकामार्फत स्वास्थ्यतर्फको कुल बजेटमध्ये ४७.२५ प्रतिशत, कृषितर्फको १७.६६ प्रतिशत र पशु सेवातर्फको ४०.५६ प्रतिशत बजेट हालसम्म खर्च भएको छ । यस्तै, शिक्षा युवा तथा खेलकुदतर्फको कुल बजेटमध्ये ३४.५० प्रतिशत र अन्य प्रवद्र्धनात्मक कार्यक्रममा १८.६७ प्रतिशत बजेट खर्च भएको गाउँपालिकाले जनाएको छ ।

योजना कार्यान्वयनमा ढिलाइ नगर्न स्थानीयको सुझाव
सहिद लखन गाउँपालिकाका बासिन्दाले योजना कार्यान्वयनमा ढिलाइ नगर्न गाउँपालिकालाई सुझाव दिएका छन् । चालू आवका योजना कार्यान्वयनमा ढिलाइ नगर्न सुझाव दिँदै उनीहरूले निर्धारित समयमा नै विकास निर्माणका काम सक्न सुझाएका हुन् । गाउँपालिकाले कार्यालय परिसरमा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी स्थानीय बासिन्दाले विकास बजेटको खर्च प्रतिशत बढाउन, सामुदायिक विद्यालयको शैक्षिकस्तर सुधार गर्न सुझाव दिएका छन् । चालू आवमा गाउँपालिकाले उपभोक्ता समितिमार्फत २४० योजना कार्यान्वयन गर्दैछ । त्यसमध्ये हालसम्म जम्मा १३ उपभोक्ता समितिसँग मात्रै सम्झौता भएकाले योजना कार्यान्वयनमा ढिलाइ हुने आशंका ब्यक्त गर्दै सहभागीले समयमा नै कामसक्ने वातावरण बनाउन आग्रह गरेका छन् । भूकम्पपछिको पुनर्निर्माणलाई ब्यवस्थित गर्दै वास्तविक भूकम्पपीडितलाई अनुदानबाट वञ्चित हुन नदिन उनीहरूले माग गरेका छन् । कार्यक्रममा हालसम्मका गाउँपालिकाका गतिविधिबारे जानकारी दिँदै प्रमुख प्रशासकीय अधिकृत जीवनबहादुर आले मगरले गाउँपालिकाले १८ वटा कानुन निर्माण गरेको बताए । यस्तै, मुख्य सडकको डीपीआर तयार भएको, विपन्न भूकम्पपीडितलाई घर बनाउन घुम्तीकोषमार्फत सापटी दिन थालिएको, सडक स्तरोन्नति गरिएको किसानलाई प्रोत्साहनका कार्यक्रम कार्यान्वयन गरेको उनको भनाइ छ । गाउँपालिकाका अध्यक्ष रमेश थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका मनोजकुमार जोशी, कांग्रेसका खुनप्रसाद रेग्मी, नयाँ शक्तिका दिनेशकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापा लगायतले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्