पुँजीगत खर्च समयमै हुन नसक्दा बजारमा तरलता अभाव देखियो : चेम्बर «

पुँजीगत खर्च समयमै हुन नसक्दा बजारमा तरलता अभाव देखियो : चेम्बर


नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बजेटमा विनियोजन गरिएको पुँजीगत खर्चसमयमै खर्च हुन नसक्दा बजारमा तरलता अभाव हुने गरेको बताएका छन् । आर्थिक वर्ष २०७७-०७८ मा भएको पुँजीगत खर्च पनि विगत सरहनै न्यून रहेकाले आर्थिक वर्ष २०७८-०७९ को बजेटमा विनियोजन गरिएको पुँजीगत खर्च समयबद्ध तालिका अनुसार खर्च गरिनु पर्नेमा उनले जोड दिएका छन् ।
अर्थमन्त्रालयका सचिव मधु मरासिनीसँग चेम्बरका पदाधिकारीले बिहीबार गरेको छलफलमा अध्यक्ष मल्लले प्रत्येक त्रैमासिकमा प्रभावकारी अनुगमन गरिनु पर्ने बताए । अध्यक्ष मल्लले कृषि क्षेत्रलाई प्रोत्साहन दिन कृषिमा यान्त्रीकरण, वैज्ञानिकीकरण एवम व्यावसायीकरण हुनुपर्ने र कृषि उत्पादन ढुवानीको लागि भन्सार सहुलियतमा गाडीको सुबिधा उपलब्ध हुन सकेमा ढुवानीलागतमा कमी भइ आन्तरिक तथा बाह्य व्यवसाय वृद्धि हुने चेम्बरले जनाएको छ ।
मल्लले बिमा व्यवसायलाई सरलीकृत गर्न साबिकमा प्रिमियम वापत चेकबाट भएको भुक्तानीलाई मान्यता दिने व्यवस्थालाई निरन्तरता दिन माग गरे । उनले राजस्व परामर्श समितिमा निजी क्षेत्रको प्रतिनिधित्वको लागि पनि आग्रह गरे । यसैगरी रुग्ण उद्योगलाई सहुलियत बैंक ब्याजदर, कृषि उपजको बजार सुरक्षण तथा महँगी नियन्त्रणका लागि २ वर्षको लागि कृषि उत्पादनको बाइव्याक अन्तरगत बफर स्टक राख्ने व्यवस्था गर्न चेम्बरले माग गरेको छ ।
निर्यातलाई प्रोत्साहन दिन निर्यात अनुदान, विदेशमा रोजगारी गुमाएकालाई स्वदेशमै रोजगारी, लगानीको स्रोतको वैधतामा सरलीकरण, विदेशी लगानी, रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा प्रवाह, घर जग्गा खरिद बिक्रीमा ब्रोकर लाइसेन्सको व्यवस्था गर्न पनि मल्लले माग गरे ।

प्रतिक्रिया दिनुहोस्