हात्ती दुब्लाएर बाख्रो हुँदैन : ओली «
Logo

हात्ती दुब्लाएर बाख्रो हुँदैन : ओली


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटेको नभई केही मानिस मात्र अलग भएको टिप्पणी गरेका छन् ।
यसले एकाध ठाउँमा असर गरे पनि अपूरणीय क्षति नहुने उनको दाबी छ । वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी फुटाएर नेकपा एमाले (समाजवादी) दल दर्ताका लागि बुधबार मात्र निर्वाचन आयोगमा निवेदन दिएका छन् ।


त्यसबारे प्रतिक्रिया दिएका अध्यक्ष ओलीले एमाले कमजोर नहुने दाबी गरेका छन् । उनले कोही चोइटिएर जाँदैमा एमाले नसिद्धिने दाबी गर्दै भने, ‘हात्ती दुब्लाएर बाख्रो हुँदैन।’ प्रतिनिधिसभामा एमालेसँग अहिले पनि १०० भन्दा बढी सांसद रहेको र छिट्टै चुनाव आउने उनले बताए । ओलीले चुनावबाट एमाले झनै शक्तिशाली भएर उदाउने दाबी गरे ।

नेता नेपालले एमाले कमजोर पार्ने बाहेक केही काम नगरेको ओलीको आरोप छ । लामो समय माधव नेपाल समूहमा रहेका, तर उनको नयाँ पार्टीमा नगएका नेताहरु एमालेमै रहेको उनले बताए । यस्तै एमाले अध्यक्ष ओलीले संसद छलेर छापामार शैलीमा अध्यादेश ल्याएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना गरे । एमाले विभाजन गर्ने गलत बदनियतका साथ अध्यादेश ल्याएको र यो सर्वोच्च अदालतको फैसला विपरीत भएको उनको भनाइ छ।


यस्तै नेकपा एमालेका अध्यक्ष ओलीले भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै नयाँ दल दर्ता गर्न माधवकुमार नेपाललाई साथ दिएका नेताहरुलाई एमालेमा फर्किन आग्रह गरेका छन् । अध्यक्ष ओलीले निर्वाचन आयोगमा माधव नेपालले बुझाएको सूचीमा आफू नरहेको घोषणा गर्न अप्ठेरो नमान्न पनि नेताहरुलाई आग्रह गरे । अध्यक्ष ओलीले कोही अलमल वा भ्रममा परेर गएको भए सम्झाउन पार्टीका नेताहरुलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्