पाँच सय संक्रमित जिल्ला एक महिनामा दोब्बर «

पाँच सय संक्रमित जिल्ला एक महिनामा दोब्बर

पाँच सयभन्दा बढी संक्रमित भएका जिल्लाको संख्या विगत १ महिना यता दोब्बरले बढेको छ । आममानिसले जनस्वास्थ्यका मापदण्ड पालन नगरेका कारण संक्रमण बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


साउनमा सामान्य रहेको संक्रमण दर क्रमशः वृद्धि भएर भदौसम्म आइपुग्दा दोब्बर भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढने जनाउँदै अक्सिजन ग्यास, आईसीयू शैया र भेन्टिलेटर व्यवस्थापन गर्न अनुरोधसमेत गरिसकेको छ ।


एक महिना अघिसम्म पाँच सय बढी संक्रमित भएका जिल्ला नौवटा रहेकोमा हाल आएर २१ वटा जिल्लामा संक्रमण पैmलिएको देखिएको छ । यसैगरी काठमाडौं उपत्यकामा संक्रिय संक्रमितको संख्यासमेत बढेको स्वास्थ्य तथा जनसंख्या मनत्रालयले जनाएको छ । साउनका पहिलो हप्ता पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला नौ रहेकोमा हाल झापा, मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, लतितपुर, चितवन, मकवानपुर, काभ्रे, दोलखा, नुवाकोट, सिन्धुली, नवलपरासी पूर्व, कास्की, बाग्लुङ, गोरर्खा, स्याङजा, तनहँु, दाङ, रुपन्देही र सुर्खेत रहेका छन् ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले पाँच सयभन्दा बढी कोरोना संक्रमित भएका जिल्ला बढ्दै गइरहेकाले सचेत हुन सबैलाई अनुरोध गरेका छन् । काठमाडौं उपत्यकामा साउन १२ गते ८ हजार रहेकोमा हाल सो संख्या ११ हजार ७७५ पुगेको छ । यसैगरी संक्रिय संक्रमित ३१ हजारबाट बढेर ४० हजार पुगेको छ ।


स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्यका मापदण्डको पालना र निषेधाज्ञाका बाबजुद पनि कोभिड–१९ को संक्रमण दरमा कमी आएको देखिएको जनाउँदै थप सजग हुन अनुरोध गर्न थालेको छ ।


मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले भविष्यमा आउन सक्ने सम्भावित चुनौतीलाई सामना गर्न मन्त्रालयले सातै प्रदेश सरकारलाई कम्तीमा एक हजारवटा अक्सिजनका सिलिन्डर भरी तयारी अवस्थामा प्रदेश आपूर्ति केन्द्रमा मौज्दात राख्नुहुन निर्देशन दिएको बताए । यसका साथै मन्त्रालयले मौजुदा सिलिन्डर पनि खाली नराख्न र अक्सिजन पीएसए प्लान्ट, अक्सिजन टयांक तथा अक्सिजन कन्सन्ट्रेसनहरू चालू र चुस्त अवस्थामा राख्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्