ओझेलमा झिलमिला «

ओझेलमा झिलमिला

 कञ्चनपुरको चुरे पहाडसँगै जोडिएको झिलमिला ताल संरक्षण नहुँदा ओझेलमा परेको छ । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरदेखि करिब २५ किलोमिटर टाढा चुरे फेदमा रहेको ताल संरक्षण एव् प्रचारप्रसार हुन नसक्दा लोप हुने अवस्थामा पुगेको हो ।
वर्षात्को समयमा चुरे क्षेत्रबाट बगेर आउने माटो तालमा जम्मा हुने भएकाले पनि तालको अस्तित्व संकटमा परिरहेको छ । भिमदत्त नगरपालिका वडा नम्वर ९ ब्रह्मदेव स्थित झिलमिला ताल सुदूरपश्चिमका ठूला तालहरुमध्ये एक हो । तालको गहिराइबारे यकिन गर्न नसकिए पनि झन्डै १ किलोमटिर लमई र ३०० मिटर चौडाई रहेको यहाँका स्थानीयहरुको भनाइ छ । चारैतिर हरिया डाँडाहरु भएका कारण तालको सौन्र्दय अति नै आकर्षक देखिन्छ । प्रकृतिसँग रम्नको लागि झिलमिला ताल पुग्ने पर्यटकहरुको मनै लोभ्याउने गरेको छ ।
मौसमअनुसार तालको रंग परिर्वतन हुने स्थानीयको भनाइ छ । प्राकृतिक रुपमा धनी झिलमिला ताललाई धार्मिक महत्वका हिसाबले पनि महत्वपूर्ण गन्तव्यका रुपमा लिइन्छ । प्राचिनकालबाट झिलमिला क्षेत्रमा गएर सच्चा भावले पूजा आराधाना गर्नाले सबै मनोकांक्षा पूर्ण हुने धार्मिक विश्वास रही आएको छ ।
नेपालका मात्र नभई भारतबाट पनि श्रद्धालुहरु आउने गरेको भएपनि ताल संरक्षणका निम्ति सरकारबाट कुनै पहल नभएको स्थानय लाल बहादुर विष्टले बताए । उनले भने, “यहाँ केहि छैन । बाटो, खानेपानी, बिजुली सरकारले नै सबै व्यवस्थित गर्नुपर्छ । यो ताल धार्मिक पर्यटनको हिसाबले पनि महत्वपूर्ण छ ।”
तालमा रहेको पानीको सतह सधै एकनासको रहनु, आश्चर्यजनक माछा, तालको वरपर हरियाली रुखहरु भएपनि तालमा पात पतिङ्गर देखा नपर्नु, तालमा घामको किरणसँगै तालको रङ परिवर्तन हुनु, तालमा धेरै पानी भएपनि पानीको निकास नहुनुलगायत कुराहरुले झिलमिला तालको महत्व झल्काएको छ ।
द्वापर युगमा पाण्डवहरुको १२ वर्ष वनबास र एक वर्ष गुप्तवास बस्ने क्रममा महाभारत पर्वतमा पाण्डवहरुको बास भएको र महाभारत पर्वतमा हिँड्दै जाँदा द्रौपदीलाई तिर्खा लागेर बाटोमा मुर्छित हुँदा कतै पानीका मुहान नपाएपछि अर्जुनको वाणको प्रहारबाट झिलमिला तालको उत्पत्ति भएको किम्बदन्तीमा उल्लेख गरिएको स्थानीय शंकर सिंह विष्टले बताए । उनले भने, “तालको प्रचारप्रसार हुनसकेको छैन । पहिला सरकारले यहाँसम्म पुग्ने बाटो र मन्दिर बनाउनु आवश्यक छ । त्यसपछि यहाँको प्रचार प्रसार गर्नुपर्छ ।”
प्राकृतिक तथा धार्मिक रुपले पर्यटक तथा श्रद्धालुहरुलाई लोभ्याउने ताल भए पनि त्यहाँसम्म पुग्नका लागि राम्रो बाटो तथा अन्य सेवासुविधा नभएकाले स्थानीय, प्रदेश तथा केन्द्रीय सरकारले ताल संरक्षणमा चासो देखाउनुपर्ने स्थानीयको भनाइ छ ।
धार्मिक, पौराणिक र जैविक विविधताले भरिपूर्ण झिलमिला ताललाई सरकारले पर्यटकीय गन्तव्यबाट छुटाउनु दुखद् भएको भिमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बताए । सरकारले सय वटा पर्यटकीय गन्तव्य छनोट गर्दा झिलमिला ताललाई पनि छनोट गर्नुपर्ने धारणा उनको छ । तालसम्म सहज रुपले पुग्नको लागि सघन सहरी विकास कार्यक्रम अन्र्तगत ९ किमि बाटो बनाउने लक्ष्यका साथ अगाडि बढेको नगर प्रमुख विष्टले बताए । उनले भने, “ईआईए रिपोर्ट नबनिदिँदा सडक कालोपत्रेमा समेत समस्या भएको छ । यसका लागि वन मन्त्रालय तथा सम्बन्धित निकायसँग सहजीकरणका लागि माग गर्दछु ।”
सहज रुपमा बाटोको पहुँच पु¥याउन सके पाहुना घरलगायत अन्य व्यवस्थापनका लागि बजेट विनियोजन गरेर काम अगाडि बढाउने प्रमुख विष्टले बताए । तालको संरक्षण, भौतिक पूर्वाधार निर्माण र प्रचारप्रसारमा नगरपालिकाले ध्यान दिएको बताउँदै नगर प्रमुख विष्टले नगरपालिकाले गुरुयोजना बनाएर अगाडि बढ्ने जानकारी दिए । भ्युटावर निर्माणको लागि नगरपालिकाले ८० लाख बजेट विनियोजन गरेको बताउँदै उनले ताराकोट, झिलमिला र बाह्रमासे झरनासम्म पुग्ने पदमार्ग बनाउन नगरपालिकाले गुरुयोजना बनाएर अगाडि बढ्ने बताए । नगरपालिकाले पर्यटनलाई पनि प्रमुख आधारका रुपमा लिएको बताउँदै प्रमुख विष्टले यस क्षेत्रको विकास र समृद्धिका लागि पर्यटन पनि महत्वपूर्ण भएकोमा जोड दिए ।

 

प्रतिक्रिया दिनुहोस्