निगालोका टुसाको व्यापार «

निगालोका टुसाको व्यापार

लमजुङ सदरमुकाम बेसीशहरलगायतका बजारमा टुसाको व्यापार सुरु भएको छ । वर्षाको सिजनमा पाइने निगालोका टुसा उच्च लेकदेखिका व्यापारीले बजार ल्याइएर बिक्री वितरण गर्न थालेका हुन् । टुसा बजारमा पुर्याएपछि किन्नेको हानथाप हुने गरेको छ । माग अनुसार आपूर्ति हुन नसक्दा टुसा एकैछिनमा सकिने गरेको छ । कतिपय समयमा त गाँउदेखि टुसा बिक्री गर्दै शहर आउँदा बाटोमै सकिने गरेको व्यापारीहरु बताउँछन् ।


स्वादिलो तरकारीको रुपमा परिचित ग्रामिण क्षेत्रमा पाइने निगालोको ‘टुसा’ धेरैले रुचाउने हुँदा बजारमा टुसाको हानथाप हुने गरेको छ । सदरमुकाम बेसीशहरसहित खुदी, उदीपुर, भोटेओडारलगायतका बजारमा टुसाको व्यापार निकै राम्रो हुने गरेको छ । जिल्लाको उत्तरी भेगका बासिन्दालाई अहिले टुसा टिप्न र बिक्री गर्न भ्याइ नभ्याई छ ।


टुसाको शहरी क्षेत्रमा अत्याधिक माग भएकोले ‘टुसा’ भाँच्न ग्रामिण भेगका बासिन्दाहरु लेकका जंगल पुग्ने गर्दछन् । प्रायः वर्षायाम सकिएर साउन देखि असोज महिनासम्म जंगलमा टुसा पाइन्छ । दुई हजारदेखि चार हजार मिटर उचाइका भीरहरुमा पाइने निगालोको टुसा ग्रामिण भेगका नागरिकका लागि आम्दानीको राम्रो स्रोत बनेको छ ।

दैनिक एक जनाले दुई हजारदेखि तीन हजारसम्मको टुसा भाँच्ने गर्दछन् । लेकदेखि सदरमुकामसम्म आइपुग्दा तीन दिनसम्म लाग्ने व्यपारीहरु बताउँछन् । टुसा अहिले प्रतिमुठा ९० देखि एकसय रुपैयाँसम्म खरिद बिक्री हुने गरेको छ । टुसालाई तरकारी, अचार र सुप बनाएरसमेत प्रयोग गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्