पशुपालनमा आठ बैंकको १२ करोड बढी ऋण प्रवाह

लमजुङमा पशुपालन क्षेत्रमा आठवटा वित्तीय संस्थाको १२ करोडभन्दा बढी रुपैयाँ ऋण प्रवाह भएको पाइएको छ । जिल्लास्थित भेटेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका अनुसार जिल्लामा रहेका आठवटा वित्तीय संस्थाले छुट्टाछुट्टै ऋण प्रवाह गरेका हुन् ।
कार्यालयको तथ्यांकअनुसार सरकारी तथा निजी बैंक तथा वित्तीय संस्थाहरूले जिल्लाका ९९ कृषकलाई १२ करोड ११ लाख ७४ हजार रुपैयाँ ऋण प्रवाह गरेका छन् । तथ्यांकअनुसार गत आर्थिक वर्षमा ऋण प्रवाह गरेका वित्तीय संस्थामध्ये सबैभन्दा धेरै कृषि विकास बैंकले ऋणप्रवाह गरेको छ ।
कृषि विकास बैंकले ४० जना पशुपालक कृषकका निम्ती तीन करोड ३३ लाख रुपैयाँ प्रवाह गरेको पाइएको छ । सोबाहेक नेपाल सरकारअन्तर्गतको नेपाल बैंकले एक करोड १२ लाख र राष्ट्रिय वाणिज्य बैकले ५९ लाख रुपैयाँ ऋण प्रवाह गरेको पाइएको छ । नेपाल बंैकबाट जिल्लाका १० जना पशुपालक कृषकले कृषि ऋण लिएका छन् भने वाणिज्य बैंकबाट चारजना कृषकले मात्र सहुलियत व्याजमा ऋण लिएको देखिएको छ ।
सरकारले व्यावसायिक कृषि प्रवद्र्धनका लागि विशेष सहुलियत ल्याएसँगै सरकारी स्वामित्वमा रहेका उक्त वित्तीय संस्थाहरूले व्यवसायिक आधार मूल्याँकन गरी विशेष ऋण प्रवाह गरेको जनाएका छन् । व्यावसायिक कृषिका लागि सहुलियत ऋणले कृषकहरूलाई पनि ठूलो राहत मिलेको कृषकहरूको प्रतिक्रिया छ । सोबाहेक जिल्लाका निजी बैंकहरूले पनि सहुलियत व्याजमा ऋण प्रवाह गरेको जनाएका छन् । जसमध्ये सबैभन्दा धेरै सिद्धार्थ बैंकले तीन करोड ४६ लाख रुपैयाँ ऋण प्रवाह गरेको जनाएको छ । सिद्धार्थ बैंकले जिल्लाका २० जना कृषकलाई पशुपंक्षी तथा मत्स्यपालनका लागि ऋण प्रवाह गरेको जनाएको हो ।
जिल्लामा ग्लोबल आईएमई बंैकले सातजना पशुपंक्षीपालक कृषकका लागि ६८ लाख रुपैयाँ ऋण प्रवाह गरेको जनाएको छ भने एभरेष्ट बैंकले १० जना कृषकका लागि एक करोड १८ लाख ७४ हजार रुपैयाँ सहुलियत ऋण प्रवाह गरेको जनाएको छ । त्यसैगरी जिल्लामा रहेको प्राईम बैंकले ६ जना कृषकका लागि एक करोड ५३ लाख रुपैयाँ सहुलियत व्याजमा ऋण प्रवाह गरेको जनाएका छन् । जिल्लामै रहेको एनएमबी बंैकले भने दुईजना कृषकका लागि २५ लाख रुपैयाँ सहुलियत ऋण प्रदान गरेको जनाएको छ ।
जिल्लामा पशुपंक्षीपालक कृषकका लागि सहुलियत व्याजमा ऋण लगानी गरेका बैक तथा वित्तीय सस्थासँग तथ्याँक माग गरी पशुुसेवा कार्यालयले जानकारी गराएको हो । जिल्लाका १५ वटा बैक तथावित्तिय सँस्थाहरुसँग ऋणप्रवाहको तथ्याँक माग गरिए पनि आठवटा बैंकले मात्रै सहुलियत ऋण सेवा प्रवाहको बारेमा कार्यालयमा जानकारी गराएको पशुसेवा कार्यालय लमजुङका प्रमुख डा. रुपेश श्रेष्ठले बताए ।
जिल्लामा अघिल्लो आर्थिक वर्षमा तीनवटा बैंकले मात्रै सहुलियत व्याजमा ऋण प्रवाह गरेको जनाएका थिए । बैंक तथा वित्तिय संस्थाहरूले व्यावसायिक कृषि प्रवद्र्धनका लागि सहुलियत व्याजमा ऋण प्रवाह गर्ने सरकारी प्रावधान भए पनि उक्त ऋणमा पहुँचवालाले नै फाइदा लिँदै आएको अनुमान छ । कृषि प्रायोजन भनिए पनि सस्तो व्याजदरमा ऋण पाउने भएपछि सोही शीर्षकमा ऋण लिएर अन्यत्र खर्च गर्ने गरेको पाइएको छ ।
अघिल्लो वर्षको तथ्याँकअनुसार लमजुङमा मात्रै करिब पाँच लाखको हाराहारीमा पशुपक्षी पालन गरिएका छन् । जिल्लामा दुई लाख ५७ हजार नौ सय ४० वटा कुखुरा पालिएको कार्यालयले जनाएको छ ।
सोबाहेक ३६ हजार ४६ गाई, ५० हजार एकसय १८ भंैसी, एक लाख ८० हजार ७३ बाख्रा, १३ हजार सात सय ३२ भेडा र चार हजार चार सय ५७ बंगुर पालिएका छन् । जिल्लामा १८ हेक्टर माछापालन समेत गरिएको कार्यालयले जनाएको छ ।