बाँके र बर्दियामा रासायनिक मल अभाव «

बाँके र बर्दियामा रासायनिक मल अभाव

बर्दिया-अन्नभण्डार मानिने बाँके र बर्दियामा हिउँदेबालीलाई आवश्यक मलजल गर्नुपर्ने समयमा रासायनिक मलको अभाव भएको छ । कृषि सामाग्री कम्पनी लिमिटेडमार्फत वितरण हुँदै आएको अनुदानको युरिया मलको अभाव भएपछि बाँके र बर्दियाका ग्रामीण क्षेत्रका कृषक उब्जनीमा ह्रास आइ लगानी डुब्ने पीरले चिन्तित हुन थालेका छन् ।
तोरी, मसुरो र गहुँ खेतीको लागि युरिया मल हाल्नुपर्ने समयमा मंसिर दोस्रो सातादेखि रासायनिक मलको अभाव भएपछि कृषकहरु चिन्तित बनेका हुन् । हिउँदे बालीमा सिँचाइ सुविधाको मार खेप्दै आएका कृषकलाई मलको समेत अभाव भएपछि उनीहरु खेतमा पानीको जोहो गर्न र रासायनीक मलका लागि विभिन्न ठाँउमा धाउन थालेका छन् । मल अभावमा उब्जनी घटने हुँदा सरकारले तत्कालै मलको समस्या समाधान गरी आपूर्ति गर्नुपर्ने बाँके जानकी गाउँपालिका ३ का कृषक हरिराम यादवले बताए । पहिले भारतवाट ल्याउने गरेपनी आजभोलि निकै कडाई गरेकोले यसबर्ष गहुखेती विग्रने चिन्ता लागेको उनको भनाइ छ ।
कृषि सामाग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय नेपालगन्जका अनुसार मंसिर तेस्रो सातादेखि बाँकेमा युरिया मल अभाव भएको हो । मल अभाव भएको जानकारी सम्बन्धित निकायमा गराएपनी अझै दुई साताभन्दा बढी लाग्ने जानकारी प्राप्त भएको कार्यालयका निमित्त प्रमुख रमेश पौडेलले बताए ।
बाँके जिल्लामा ५ हजार मेट्रीक टन युरिया, २ हजार टन डीएपी र ७५ टन पोटास आवश्यक पर्नेमा केन्द्रले करिव २ हजार ५ सय टन युरिया १ हजार ४ सय टन डीएपी र ७० टन पोटास पठाउने गरेको छ । जिल्लाको मागका आधारमा केन्द्रवाट कम मल आयात हुने गरेका कारण समस्या हुने गरेको कार्यालयले जनाएको छ ।
उता बर्दियामा समेत डेढ महिना देखि युरिया मलको अभाव भएको कार्यालयले जनाएको छ । हिउदे बालीको समयमा मल अभाव भएपछि कृषकहरुलाई निकै समस्या भएको कृषि सामाग्री कम्पनी लिमिटेड बर्दियाका प्रमुख नरहरि पोखरेलले बताए । कृषकहरु दीनहु मल लिन आउने गरेपनी खालीहात फर्केर जाने गरेको उनको भनाई छ । भारत सरकारले अझै चलान आदेश नदीएको बुझीएको बताउँदै यसवर्षको हिउदे सिजनमा किसानलाई मल आपुर्ति गर्ने सम्भावना ज्यादै न्युन रहेको उनी बताउँछन् ।
सरकारी अनुदानको मल बिक्री वितरणको जिम्मा पाएको कृषि सामाग्री कम्पनी लिमिटेडले बर्दियाका १ सय १० सहकारीमार्फत मल बिक्री वितरण गर्ने गरेको छ । हाल ति सहकारीहरुमा दैनिक जसो कृषकहरु मलको लागि आउने गरेको र मल नपाउदा भारतवाट गुणस्तरहीन मल प्रयोग गर्न कृषकहरु बाध्य भएको स्थानीय मल बिक्री गर्दै आएका सहकारीको भनाइ छ ।
जिल्लामा सँधै खेती लगाउने समयमा रासायनिक मलको अभावहुने गरेको छ । प्रत्यक बर्ष खेतीपातीको समयमा कृषकले समयमै मल पाउन सक्दैनन् । मलको अभावमा उत्पादकत्वमा ह्रास आउने भएकोले कृषिमा गरेको लगानी डुब्ने हुँदा मलको कोटा वृद्धि गरी समयमै मल व्यवस्थागर्न कृषकहरुले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्