विकास बैकले पनि मागे सेयर ब्रोकरको लाइसेन्स «

विकास बैकले पनि मागे सेयर ब्रोकरको लाइसेन्स


विकास बैकहरुले आफूले पनि सेयर ब्रोकर लाइसेन्स पाउनु पर्ने दावी गरेका छन् ।
विकास बैंकहरुले पनि सहायक कम्पनीमार्फत सेयर ब्रोकरको काम गर्ने बाटो खोलिदिन आग्रह गर्दै विकास बैंकहरुको संस्था डेभलपमेन्ट बैंकर्स एसोसिएसनले धितोपत्र बोर्डलाई पत्र लेखेको हो ।

धितोपत्र सम्बन्धी ऐनमा वाणिज्य बैंकहरुलाई सेयर दलालको काम गर्ने छुट दिइएको भएपनि विकास बैंकहरुले पाउने बाटो खुला नभएकाले आफूहरुलाई निषेध गरिएको गुनासो पनि विकास बैंकहरुको छ ।


अध्यक्ष प्रद्युमन पोखरेलद्वारा हस्ताक्षरित पत्रका अनुसार राष्ट्रियस्तरका विकास बैंकहरुको औषत चुक्तापुँजी ३ अर्ब ४० करोड रुपैयाँ नाघिसकेको छ । त्यस्तैगरी विकास बैंकहरुले एक हजार भन्दा बढी शाखाबाट करिव ४१ लाख खातावालालाई बैंकिङ सेवा प्रदान गर्दै ३ लाखभन्दा बढी ग्राहकलाई कर्जा प्रवाह गरेका छन् । त्यस्तै, २०७८ असार मसान्तसम्ममा ४४५ अर्ब रुपंयाँ निक्षेप परिचालन गरी ३८३ अर्ब रुपैयाँ कर्जा प्रवाह पनि गरेका छन् ।


विकास बैंकहरुको पुँजी संरचना पनि बलियो भइसकेको, देशका कुनाकाप्चासम्म सञ्जाल विस्तार भएको र वाणिज्य बैंकलाई तोकिएको शर्तकै अधिनमा रहेर आफूहरु पनि सेयर ब्रोकरको काम गर्न तयार भएकोले बाटो खुल्ला गर्न अनुरोध गरिएको पोखरेलको जिकिर छ ।


‘धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ६२ मा बोर्डको सिफारिसमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी प्रचलित कानून बमोजिम स्थापना भएका बैंक वा वित्तीय संस्थाले आफ्नो सहायक कम्पनीमार्पmत मात्र धितोपत्र व्यवसाय गर्न पाउने गरी तोकिदिन सक्नेछ,’ भन्ने र सोही ऐनलाई कार्यान्वयन गर्नका लागि नेपाल सरकारबाट स्वीकृति लिइ नेपाल धितोपत्र बोर्डले बनाएको धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को दफा७ को १ नं. बुँदामा प्रचलित कानून बमोजिम स्थापना भएको ‘क’ वर्गका बैंक वा विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाको कम्तिमा ५१ प्रतिशत स्वामित्व भएको सहायक कम्पनीले बोर्डबाट अनुमतिपत्र प्राप्त गरी धितोपत्र दलाल वा धितोपत्र व्यापारीको कार्य गर्न सक्नेछ,’ भन्ने व्यवस्था अनुसार विकास बैंकहरुले पनि आफ्ना सहायक कम्पनीमार्फत धितोपत्र व्यवसाय गर्ने अनुमति प्रदान गरिदिनका लागि धितोपत्र बोर्डलाई पत्र लेखेका उनले बताए ।


विकास बैंकहरुले कम्पनी ऐन २०६३ अनुसार स्थापना भइ बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ अनुसार नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत लिइ बैंकिङ सेवा प्रदान गर्ने हुनाले आफूहरु पनि प्रचलित कानून बमोजिम स्थापना भएका बैंक वा वित्तीय संस्था भएको दावी पनि डेभलपमेन्ट बैंकर्स एशोसिएसनको छ ।

प्रतिक्रिया दिनुहोस्