डा. केसीसँग औपचारिक वार्ता सुरु गर्न सरकारलाई आग्रह «

डा. केसीसँग औपचारिक वार्ता सुरु गर्न सरकारलाई आग्रह

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरुले अनसनरत डा. गोविन्द केसीसँग औपचारिक वार्ता सुरु गर्न सरकारसँग माग गरेका छन् । पूर्व उपाध्यक्षद्वय गोविन्दराज पोखरेल र स्वर्णीम वाग्लेले आइतबार विज्ञप्ति जारी गर्दै वार्ताका लागि उच्चस्तरीय टोली गठन गर्न माग गरेका हुन् ।
“चिकित्सा क्षेत्रको आमूल सुधारका लागि संघर्षरत डा. केसी आफ्नो १६औं अनशनको ११औं दिनमा हुनुहुन्छ । २०७१ देखि २०७४ सम्म नेपाल सरकारका विभिन्न जिम्मेवार पदमा रहँदा धेरै अनसनहरु वार्ताबाट टुङ्ग्याउन वार्ताकार वा सक्रिय सहजकर्ताको भूमिका निर्वाह गरेको स्मरण गर्दै सरकारको तर्फबाट पर्याप्त चासो नदेखाइएको अवस्थाप्रति हाम्रो ध्यान गएको छ,” पोख्रेल र वाग्लेको विज्ञप्तिमा भनिएको छ, “राज्य र समाज दुवैका लागि डा. गोविन्द केसीको जीवन रक्षा आजको नैतिक अपरिहार्यता हो । ”
संविधानले लिपिवद्ध गरेको समाजवादउन्मुख अर्थतन्त्रमार्फत् समुन्नति हासिल गर्न सरकारले शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात, सामाजिक सुरक्षा र वातावरण संरक्षणमा अग्रणि भूमिका खेल्नुपर्ने पनि विज्ञप्तिमा उल्लेख छ । प्रत्येक नागरिकले यी क्षेत्रमा सहज पहुँच र गुणस्तरीय सेवा पाउनुपर्ने व्यवस्थाको प्रत्याभूति गर्ने दायित्व सरकारको भएकाले सहभागितात्मक लोकतन्त्रमा सरकारले नागरिकका आन्दोलन र विरोधलाई वार्तामार्फत् नै हल गर्नुपर्नेमा उनीहरुको जोड छ । “निष्ठाका प्रतिमूर्ति केसीको लडाईं अनुचित निजी स्वार्थको विरुद्ध छ । उहाँको संघर्ष आम नेपाली जनताको पक्षमा छ । त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थानमा सुधार, मेडिकल कलेजमा सिट निर्धारण र चर्को शुल्कमा सीमा, निःशुल्क उच्च अध्ययन, विदेश पढ््नुअघि परीक्षा, चिकित्सा शिक्षा नीति र ऐनको प्रारूप आदि तयार गर्न उहाँको मुख्य योगदान रहेको छ,” अपिलमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्