सार्कमा खोप अभियानमा नेपाल चौथो स्थानमा
हालसम्म १६ प्रतिशत जनसंख्यालाई पूर्ण खोप

सरकारले हालसम्म खोप लगाउने मापदण्डमा परेकामध्ये १६ प्रतिशत जनसंख्याले पूर्ण मात्राको खोप लगाएको जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार असोजको अन्त्यसम्म खोप लगाउने जनसंख्या ३३ प्रतिशतभन्दा बढी पु-याउने लक्ष्य लिएअनुसार हालसम्म साढे ३६ लाख ४९ हजार ७६० जनाले पूर्णमात्राको खोप लगाएका छन् । सरकारले खोपलाई प्राथमिकतामा राखेपछि अघिल्लो हप्ताको तुलनामा कोभिडविरुद्धको खोप लगाउनेको संख्या ४ प्रतिशतले वृद्धि भएको देखिन्छ । साउनको तेस्रो हप्ता खोप लगाउने ९ लाख ५५ हजारबाट बढेर अन्तिम हप्ता १० लाख ६२ हजार पुगेको थियो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले असोज मसान्त एक तिहाइ जनसंख्यालाई खोप लगाउने लक्ष्यसहित खोप कार्यक्रम अघि बढेको बताए । उनले हाल ५० वर्षभन्दा कम उमेर समूहमा खोप कार्यक्रम सञ्चालन हुने बताए । सरकारले हाल विभिन्न विकास साझेदार तथा मित्रराष्ट्र गरी १ करोड ५ लाख २६ हजार २७० मात्रा खोप प्राप्त गरिसकेको छ । यसमध्ये हालसम्म कोभिसिल्ड खोप ३१ लाख ९१ हजार ४२० प्राप्त गरिसकेको मन्त्रालयले जनाएको छ । यसरी प्राप्त गरेको कोभिसिल्डमध्ये भारत सरकारबाट अनुदान प्राप्त ११ लाख र खरिद गरिएको १० लाख रहेको छ । यसैगरी हालैमात्र भुटान २ लाख ३० हजार, जापानबाट कोभ्याक्स सुविधाअन्तर्गत १५ लाख १३ हजार ४२० र कोभ्याक्स सुविधा (गाभी) बाट अनुदान प्राप्त ३ लाख ४५ हजार रहेको छ ।
नेपालमा सुरुमा कोभिसिल्ड खोप प्रयोगमा आए पनि त्यसपछि चीनबाट अनुदान र खरिद गरी ५८ लाख भेरोसेल खोप खोप प्राप्त भएको मन्त्रालयको भनाइ छ । यसरी चीन सरकारबाट अनुदान प्राप्त १८ लाख र खरिद गरिएका ४० लाख रहेको छ । संयुक्त राज्य अमेरिकाबाट अनुदान प्राप्त एक मात्राको जोन्सन एन्ड जोन्सन खोप १५ लाख ३४ हजार ८५० रहेको छ ।
नेपालमा हाल १८ वर्षमाथिको खोपका लागि योग्य जम्मा जनसंख्या २ करोड २९ लाख १ हजार २५४ रहेको छ । हालसम्म १८ वर्ष उमेर समूहमाथि पूर्णखोप प्राप्त जनसंख्या प्रतिशतमा १६ रहेको छ । यसरी हेर्दा १८ वर्ष उमेर समूहमाथिको जम्मा जनसंख्यालाई आवश्यक जम्मा खोपको मात्रा ३ करोड ७५ लाख १२ हजार ८०८ रहेको देखिन्छ ।
लामो समयपछि दोस्रो मात्राको कोभिसिल्ड लगाउने मानिस १८ लाखभन्दा बढी रहेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. पौडेलले आगामी आइतबारबाट यसअघि कोभिसिल्ड लगाएकालाई एस्ट्राजेनिका खोप लगाउने योजना रहेको बताए । मन्त्रालयले कोभिसिल्डको पहिलो मात्रा खोप लगाएको धेरै समयको अन्तरालमा दोस्रो मात्रा खोप लगाउँदा पनि प्रभावकारी हुने जनाएको छ । सुरुमा पहिलो मात्रा खोप लगाएको ४ हप्ताको अन्तरालमा दोस्रो मात्रा खोप लगाउनुपर्ने भनिएको थियो । तर, केही अध्ययनले पहिलो मात्रा खोप लगाएको १२ हप्ता पछि दोस्रो मात्रा खोप लगाउँदा अझै बढी प्रभावकारी हुने पनि जनाएको मन्त्रालयले उल्लेख गरेको छ ।
कोभिड–१९ विरुद्धको पूर्णखोप लगाउनेमा सार्क राष्ट्रमा नेपाल चौथो स्थानमा रहेको छ । भुटानमा पूर्णरुपमा खोप पाएको ६१ प्रतिशत, माल्दिभ्स ५४ प्रतिशत, श्रीलंका १७ प्रतिशत र नेपाल १६ प्रतिशत तथा आंशिक रूपमा खोप पाएको २० प्रतिशत रहेको छ ।