डेढ महिनापछि चुनावी समीक्षा गर्दै कांग्रेस «

डेढ महिनापछि चुनावी समीक्षा गर्दै कांग्रेस

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबार बस्ने भएको छ । गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा दोस्रो दलमा खुम्चिएको कांग्रेसले परिणाम आएको करिब डेढ महिनापछि समीक्षा बैठक बोलाएको हो ।
निर्वाचन परिणाम आएलगत्तै समीक्षा गर्न केन्द्रीय समिति बैठक बोलाउनुपर्नेमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले माग गर्दै आएको थियो । त्यस्तै, कांग्रेसका ७ जना केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी, धनराज गुरुङ, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे, गगन थापा, प्रदीप पौडेल र बद्री पाण्डेले केन्द्रीय समिति बैठक बोलाउन माग गरेका थिए । केन्द्रीय समिति माग गर्नेमध्येका एक विश्वप्रकाश शर्मा केही दिनअघि कांग्रेस प्रवक्ता नियुक्त भएका छन् ।
प्रवक्ता शर्माले बिहिबार बिहान ११ बजे केन्द्रीय समिति बैठक बस्ने बताए । “माघ ४ गते बिहान ११ बजेलाई बैठक निर्धारित भएको छ,” प्रवक्ता शर्माले भने, “राष्ट्रिय सभा निर्वाचन तयारी एवं पराजयको गम्भीर समीक्षा हुनेछ ।” उनले अब बस्ने केन्द्रीय समिति बैठक पराजयको समीक्षाको सुरुवात भएको पनि बताए ।
निर्वाचन परिणाम कमजोर आएको भन्दै त्यसको जिम्मेवारी सभापतिले लिनुपर्नेमा केही केन्द्रीय सदस्यले जोड दिँदै आएका छन् । तर, सभापति देउवाले भने टिकट लिएर जाने तर निर्वाचन जित्न नसकेको दोष आफूलाई लगाइएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् । सोमबार शीर्ष तहका नेताहरूबीच केन्द्रीय समिति बैठकबारे छलफल भएको थियो । पौडेल समूहले छिटो बैठक बोलाउन सुझाव दिएको थियो ।
बैठकमा पौडेल समूहले विधानविपरीत भएकाले संसदीय बोर्ड र कार्यसम्पादन समिति दुवै खारेज गर्न माग गर्ने तयारी गरेको छ । सभापति देउवासँगको भेटमा पौडेलले नै सो समिति खारेज गरेर कांग्रेस सुधारको आरम्भ गर्नुपर्ने माग राखिसकेका छन् ।
पौडेल समूहका प्रकाशमान सिंह र शेखर कोइराला भने सभापति देउवालाई हटाउनुपर्ने अडानमा छन् । उनीहरूले सार्वजनिक रूपमा सभापति देउवाबाट अब चल्दैन भन्दै आएकाले सो विषय केन्द्रीय समिति बैठकमा उठ्ने देखिन्छ । तर, सभापति देउवा पक्षका एक केन्द्रीय सदस्यले सभापतिको विकल्प खोज्ने कुरा आए त्यसको बैठकमै प्रतिवाद गर्ने बताए । केन्द्रीय समिति बैठकले महासमिति बैठकमा जाने निर्णय गर्नसक्ने भए पनि विशेष महाधिवेशनसम्म नपुग्ने पनि उनले दबी गरे । त्यस्तै, बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनको बारेमा पनि छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्