भूपूगोर्खाले आजदेखि अनशन बस्ने «

भूपूगोर्खाले आजदेखि अनशन बस्ने

भूतपूर्व गोर्खाहरू बेलायतीसरह समान पेन्सनलगायत माग राख्दै आमरण अनशन बसेको १२र्औ दिन पुग्दासमेत बेलायत सरकारले आफ्ना समस्या समाधानमा चासो नदिएको भन्दै भूतपूर्व ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति युके–नेपालले आजदेखि अनशन बस्ने चेतावनी दिएको छ ।
बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संयुक्त संघर्ष समितिले नेपाल सरकारले बेलायतसँग कूटनीतिक पहल नगरेको आरोप लगाउँदै भोलिदेखि विरोध -यालीसहित अनसन बस्ने चेतावनी दिएको हो ।
संघर्ष समितिले बुधबार अनशनरतहरूको अवस्था, भावी रणनीतिलगायत आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै भूतपूर्व ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका अध्यक्ष लालबहादुर घिसिङ (एलवी) ले १८ अगस्ट (आज) सम्म नेपाल र बेलायत सरकारबाट सकारात्मक पहल नगरे नेपालका नागरिक समाज, मानव अधिकारवादी, कानुनविद, बौद्धिक व्यक्तित्वहरूको साथ र सहयोग लिएर काठमाडौंमा भोलिबाटै विरोध -यालीलगायत अनशन र अन्य कार्यक्रमहरू सुरु गर्ने चेतावनी दिए ।
उनले भोलि माइतीघरबाट ११ बजेदेखि भद्रकाली हुँदै रिले अनशन सुरु हुने जानकारी दिए । उनले १८ वर्ष नाघेका सन्तानलाई आवासीय सुविधा, निःशुल्क औषधोपचार, समान पेन्सन र क्षतिपुर्तिलगायतका विभिन्न पाँच सूत्रीय माग राखी आमरण अनशनमा बसेको बताए ।
उनले साथीहरूको ज्यान जोखिममा परेको अवस्थामा सरकारले कूटनैतिक पहल गर्नुपर्ने बताए । उनले पानीमात्र खाएर अनसन बसेका ज्ञान बहादुर राईको अवस्था अत्यन्तै गम्भीर रहँदासमेत सरकारले समस्या समाधान गर्न कुनै पहल नगरेको देख्दा उदेक लागेको बताए । उनले आफूहरूको माग पुरा गर्न बेलायत सरकारसमक्ष वार्ता गर्न उच्चस्तरीय समिति गठन गरी वार्ताको मिति तोक्न सरकारसँग जोडदार माग गरे ।
यसको साथै उनले यो मुद्दा राष्ट्रिय मुद्दा भइसकेको भन्दै सम्पूर्ण नेपालीहरूले यसलाई समाधान गर्न आ–आफ्नो स्थानबाट पहल गर्न कार्यक्रमहरूमा सहभागी भइदिन पनि आग्रह गरे । अगस्ट २१ जुलाई २०२१ बाट लण्डनमा प्रधानमन्त्रीको कार्यालयमा अगाडी २४ घन्टे अनशन सकेर ७ अगस्टबाट समितिका ३ जना सदस्यहरू ज्ञानराज राई, धनबहादुर गुरुङ र पुष्पा राणा अनिश्चित्कालिन आमरण अनसन बसेको पनि १० दिन पुगेको उनले बताए ।
भुतपुर्व ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका महासचिव शेरबहादुर घिसिङले भोलिबाट ठूलो दोस्रो अनसन हुने बताए । अनसनरत एक जना धनराज गुरुङको अवस्था गम्भीर रहेको भन्दै नेपाल सरकारले समकक्षी लण्डन सरकारलाई लिखित आग्रह गरेको भए यस्तो स्थिति नआउने जिकिर गरे । ‘सरकारले वास्ता नगरेको कारण आज हामी अनसन बस्न बाध्य भयौ ।’–उनले भने । उनले रोजगारीभन्दा राष्ट्रियता ठूलो नभएको पनि धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्