दोस्रो चरणको जिम्मा थाई कम्पनीलाई «

दोस्रो चरणको जिम्मा थाई कम्पनीलाई

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल

राष्ट्रिय गौरवको आयोजना भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको दोस्रो चरणको निर्माणको जिम्मा थाइल्यान्डको कम्पनीले पाएको छ । एरोनोटिकल रेडियो अफ थाइल्यान्डले विमानस्थलको कम्युनिकेसन, नेभिकेसन र सर्भिलेन्स (सिएनएस) र एयर ट्राफिक म्यानेजमेन्ट (एटीएम) निर्माणको जिम्मा पाएको प्राधिकरण स्रोतले जानकारी दिएको छ । विमानस्थलको सवैभन्दा महत्वपूर्ण मानिने प्राविधिक जडानको जिम्मा थाइल्यान्डको कम्पनीले पाएको हो । दोस्रो चरणको निर्माणको लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले आह्वान गरेको ग्लोबल टेन्डरमा तीन कम्पनी अन्तिम चरणको छनोटमा परेका थिए ।
तीन कम्पनीमध्ये थाइल्यान्डको कम्पनीले निर्माणको जिम्मा पाएको हो । गत शुक्रबार छानिएको उक्त कम्पनीले सबैभन्दा थोरैमा बनाउने गरी प्रस्ताव गरेको थियो । कम्पनीले काम सुरु भएको २ सय ७० दिनमा सक्नेगरी प्रस्ताव पेश गरेको थियो । जसमा कम्पनीले ६५ करोड रुपैयाँमा ठेक्का पाएको हो । प्राधिकरणले बढीमा ८० करोड रुपैयाँसम्मको सीमा तोकेको थियो । आगामी भदौसम्ममा अन्तर्राष्ट्रिय उडान समेत सुरु गर्ने लक्ष्य राखिएको भैरहवा विमानस्थल निर्माणको काम यतिवेला तीब्र गतिमा भइरहेको छ ।
दोस्रो चरणको काम गर्न केही ढिला भयो भनेपनि हाल रहेको संरचनाबाट पनि संचालनमा ल्याउन सकिने भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीले बताए । “हामीले अगष्ट सम्ममा विमानस्थल संचालनमा ल्याउने छौ,” अधिकारीले भने । अन्तर्राष्ट्रिय उडानमा केही समय लाग्ने भएकोले नयाँ धावनमार्ग तयार हुनेवित्तिकै आन्तरिक उडान सुरु गर्नेगरी काम भइरहेको प्रमुख प्रवेश अधिकारीले जानकारी दिए । “अहिले धावनमार्ग कालोपत्रे गर्ने कार्य धमाधम भइरहेकोले सम्पन्न हुनेवित्तिकै आन्तरिक तर्फको उडान नयाँबाट सुरु गर्न लागेका हांै,” आयोजना प्रमुख अधिकारीले भने । आयोजनाको ठेक्का पाएको चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनलाई आगामी जुन २९ सम्मको समय दिइएको छ ।
विमानस्थलको धावनमार्ग ३ हजार मिटर लामो हुनेछ भने चौडाई ४५ मिटर रहेको छ । हालको आन्तरिक उडान गरिरहेको धावनमार्ग भने १ हजार ५ सय मिटर लामो र २३ मिटर चौडाइरहेको छ । सोही पुरानो धावन मार्गलाई ट्याक्सी वे को रुपमा प्रयोग गरिने आयोजना प्रमुख अधिकारीले जानकारी दिए । अहिले विमानस्थल निर्माणको भौतिक प्रगति ५७ प्रतिशत छ । उनले अहिले टर्मिनल र टावरको फिनिसिङ कार्य भइरहेको र धावनमार्गको कालोपत्रे पनि ९० प्रतिशत हुने जानकारी दिए ।
एसीयाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सन् २०१६ देखि विमानस्थल निर्माण सुरु भएको थियो । भूकम्प तथा भारतीय नाकाबन्दी एकवर्ष धकेलिएको थियो । २०१८ मा सञ्चालनमा ल्याउने बताउँदै निर्माणको ठेक्का पाएको चिनियाँ नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन र स्थानीय ठेकेदार संगको झगडाका कारण ७ महिना निर्माण कार्य ठप्प समेत भएको थियो ।
आयोजना निर्माणको लागि ८ अर्ब ५५ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरेको थियो । तर, लागत बढेर पहिलो चरणमै ११ अर्ब पुग्ने अनुमान गरिएको छ । भने यता मुअब्जाको लागि २३ अर्ब रुपैयाँ माग गरिएको छ । अहिलेसम्म ९ अर्ब वितरण गरिएको र अब बाँकी निकासा गर्र्दै जाने तयारी समेत सरकारको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बैकल्पिक विमानस्थलको रूपमा हेरिएको छ । समयमा काम सम्पन्न नहुँदा नेपाल आउने र जाने हवाई यात्रुले सास्ती बेहोर्दै आएका छन् । विमानस्थलमा एयरवसको ए ३४० र बोइङको ७७७ सम्मका ठूला जहाज अवतरण गराउन सकिन्छ । यस विमानस्थलको स्तरोन्नतिसँगै सन् २०२० सम्ममा ६० लाख यात्रु धान्न सक्नेगरी गुरुयोजना निर्माण भएकोे छ ।

प्रतिक्रिया दिनुहोस्