अफगानिस्तानमा रहेका नेपालीहरूको छिटो उद्धार गरी स्वदेश फिर्ता ल्याउन सरकारलाई निर्देशन «

अफगानिस्तानमा रहेका नेपालीहरूको छिटो उद्धार गरी स्वदेश फिर्ता ल्याउन सरकारलाई निर्देशन

प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले अफगानिस्तानमा रहेका नेपालीहरूको छिटो उद्धार गरी स्वदेश फिर्ता ल्याउन सरकारलाई निर्देशन दिएको छ ।
समितिको बुधबार सिंहदरवारमा बसेको बैठकले अफगानिस्तानमा रहेका नेपाली नागरिकहरूको वास्तविक तथ्यांक र अवस्था पत्ता लगाई सुरक्षित रुपमा खाने बस्ने व्यवस्था मिलाउँदै छिटो भन्दा छिटो उद्धार गरी नेपाल फर्काउन सरकारलाई निर्देशन दिएको हो । समितिले दिएको निर्देशनबारे सभापति कृष्णभक्त पोखरेलले भने, ‘श्रम स्वीकृति लिई वा अन्य पक्रियाबाट त्यहाँ पुगेका नेपाली नागरिकको जोखिममा पर्नसक्ने जानकारी विभिन्न सञ्चारमाध्यममा आइरहेको सन्दर्भमा त्यहाँ रहेका नेपाली नागरिकको एकिन तथ्यांक र वास्तविक अवस्था पत्ता लगाई, सुरक्षित रुपमा खाने, बस्ने प्रवन्ध मिलाइ जोखिमपूर्ण अवस्थामा रहेका नेपालीको जीवन रक्षा र मानव अधिकारको संरक्षण गर्न र छिटोभन्दा छिटो उद्धार गरी सुरक्षित रुपमा नेपाल ल्याउन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई निर्देशन गर्ने ।’
बैठकमा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले सरकारले अफगानिस्तानमा रहेका नेपालीहरूलाई नेपाल ल्याउने सन्दर्भमा महत्वपूर्ण निर्णय र पहलकदमी गरिरहेको बताए । उनले अफगानिस्तानमा भएको राजनीतिक परिवर्तनको सन्दर्भमा नेपालले तटस्थताको नीति लिएको र गम्भिरतापूर्वक अवलोकन गरिरहेको बताए । उनले भने, ‘यो घटनाको बारेमा नेपाल सरकारले तटस्थताको नीति लिएको छ । त्यहाँको पुरानो संस्थापन पक्ष र विद्रोही पक्ष जस्तोखालको घटनाक्रमहरू भएको छन्, त्यसलाई हामीले गम्भिरतापूर्वक अवलोकन गरिरहेका छौँ ।’
गृहमन्त्री खाँणले भदौं १ र २ गतेदेखि २ सय ७२ जनाको उद्धार भइसकेको जानकारी दिए । त्यसमध्ये ९ जना भारतीय नागरिक रहेको पनि उनले उल्लेख गरे । परराष्ट्र मन्त्रालयले नेपाली युवाहरू कार्यरत रहेको राष्ट्रको त्यहाँ रहेको कटनीतिक नियोग र काठमाडौंस्थित कुटनीतिक नियोगलाई सम्पर्क गरिरहेको बताए ।
अमेरिका, बेलायत, क्यानडा, जर्मनी, युरोपियन युनियन, जापानलाई औपचारिक रुपमा पत्राचार पठाएर त्यहाँ रहेका नेपालीहरूलाई सकुशल छिमेकी मुलुकमा पु-याइदिन र नेपाल जानका लागि सहजीकरण गरिदिन कूटनीतिक पहल गरिरहेको पनि उनले उल्लेख गरे । उनले नेपाली ध्वजावाहक जहाज भने अपगानिस्तान पठाउनसक्ने अवस्था नगरेको बताए । उनले भने, ‘नेपाली ध्वजावाहक जहाज पठाउन सरकार तयार छ । तयारी नै छौं हामीहरू । तर, अब काबुलमा जानसक्ने अवस्था रहेन । किनभने त्यहाँ नागरिक उडड्यनका जहाजहरू जानसक्ने अवस्था छैन । त्यहाँबाट अन्य माध्यमबाटैै छिमेकी मुलुकहरूमा ल्याउनुपर्ने देखियो। छिमेकी मुलुकमा नेपालीहरू फेरी नेपाल आउन सक्ने अवस्था रहेन भने नेपाली जहाज जानसक्छ । त्यसको पूर्वतयारी सरकारले गरेको छ । मन्त्रिपरिषद्ले सम्बन्धित विभागिय मन्त्रालयलाई त्यो निर्देशन दिइ पनि सकेको छ ।’
नेपालीहरू कार्यरत कूटनीतिक नियोग र दुतावासले नेपालीलाई सुरक्षित रूपमा अफगानिस्तान बाहिर ल्याउने प्रतिबद्धता जनाएको मन्त्री खाँणले बताए ।

प्रतिक्रिया दिनुहोस्