मेलम्चीको ठेक्का रद्द प्रक्रिया अघि बढ्यो «

मेलम्चीको ठेक्का रद्द प्रक्रिया अघि बढ्यो

सरकारले मेलम्ची खानेपानी आयोजनाको काम पूरा नगर्ने ठेकेदारसँगको सम्झौता रद्द गर्ने प्रक्रिया अगाडि बढाएको छ । आयोजना समाप्त नहुँदै काम छोडेर भाग्न खोजेको इटालियन कम्पनी सीएमसीसँगको ठेक्का प्रक्रिया रद्द गर्ने प्रक्रिया अघि बढाएको हो । खारेजी नगर्ने कारण भए त्यसको कारणसहित १४ दिनभित्र जवाफ पठाउन आइतबार मेलम्ची खानेपानी विकास समितिले ठेकेदार कम्पनीलाई पत्र लेखेको छ । “ठेकेदार कम्पनीलाई १४ दिने सूचना दिँदै समितिले पत्राचार गरेको छ,” खानेपानी मन्त्रालयका प्रवक्ता शंकर सुवेदीले भने ।
पत्रमा मेलम्ची खानेपानी समितिलाई कुनै जानकारी नदिइ आयोजनास्थल छोडेर भागेको उल्लेख गर्दै यसका कारणसहित जवाफ दिन भनिएको छ । त्यसैगरी आर्थिक रुपमा टाट पल्टेको भन्दै खारेजीका लागि इटाली सरकारलाई सीएमसीले निवेदन दिएको उल्लेख गर्दै यसबारे जवाफ दिन पनि पत्रमा भनिएको छ । पछिल्लो समयमा आर्थिक रुपमा टाट पल्टेपछि सीएमसीले नेपालमा आयोजना बनाउन सक्छ की सक्दैन भन्ने अन्योल छ ।
इटालियन कम्पनीले ठेक्का आफैँ छोडेर नगएको तथा काम समेत प्रभावकारी रूपमा अघि नबढेपछि सरकारले भने नयाँ ठेकेदार कम्पनी छनोट गर्ने तयारी अघि बढाएको छ । बिनाजानकारी नेपाल छोडेर भाग्न लागेको भन्दै सरकारले ठेकेदार कम्पनीका प्रतिनिधिहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएपछि मेलम्ची निर्माणको काममा अस्थिरता देखिएको छ । विवादपछि सीएमसीको धरौटीसमेत रोक्का भएको छ । आयोजनाको पक्षमा फैसला गर्दै उच्च अदालत पाटनले धरौटी रोक्का गर्ने आदेश दिएको थियो ।
वि.सं. २०६५ सालमा सिआरसिसि नामक चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । बि.सं २०६९ मा सीआरसीसी कम्पनीसँग सम्झौता भंग भएको थियो । मेलम्ची खानेपानी विकास समितिले इटालीको सीएमसी कम्पनीसँग वि.सं. २०७० असार ३१ मा दोस्रो निर्माण सम्झौता गरेको थियो । मेलम्ची खानेपानी विकास समिति र सिएमसीबीच ७ अर्व ७२ करोड ३४ लाखमा प्रारम्भिक निर्माण सम्झौता भएको थियो । खानेपानी मन्त्रालयका अनुसार हालसम्म ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । तर, बाँकी काम वैशाखसम्ममा सम्पन्न गर्ने लक्ष्य राखे पनि ठेकेदार कम्पनीसँगको विवाद बढेपछि मेलम्चीको पानी कहिले आउला भन्नेमा अन्योल छ ।

प्रतिक्रिया दिनुहोस्