कृषि अर्थतन्त्रमा धान उत्पादनको महत्व «

कृषि अर्थतन्त्रमा धान उत्पादनको महत्व

कृषिमा निर्भर रहेर गरिने आर्थिक क्रियाकलापहरूको योगलाई कृषि अथतन्त्र भनिन्छ । यसमा खेतबारी खनजोत गरी बाली लगाउनुदेखि पशुपन्छी पालन, माछापालन र यिनीहरूसँग सम्बन्धित सम्पूर्ण काम पर्छन् ।
वस्तुतः नेपालको अर्थतन्त्रको मुख्य आधार कृषि नै हो । सरकार यही क्षेत्रको विकासको सपना बाँडेर अनुदान र ऋण प्राप्त गरिरहेको छ । तर, कृषिमा हालसम्म पनि कुनै ठोस विकास गर्न सकिएको छैन । यो कुरा प्रत्येक वर्ष बढ्दै गएको खाद्यान्न उत्पादनले इङ्गित गर्छ ।
कृषि विकासका लागि सरकारले धेरै प्रयास गरेको छ । यस क्षेत्रको विकासका लागि लिएको अनुदान र ऋणको उपलब्धि देखाउन सरकारले तोडमोड गरेको देखिन्छ । तर, यो सान्दर्भिक देखिँदैन । कृषि सम्पूर्ण जीवको प्राणाधार हो । हालसम्म पनि नेपालीको दुईतिहाइ व्यक्तिको मुख्य पेसा कृषि नै हो । यसको विकास गर्न सके मात्र भोक र रोगबाट बच्न सकिन्छ । यसको उत्पादनको गुणस्तर समान हुन्छ भने उत्पादनको दर भने मौसममा निर्भर गर्छ ।
एक आधिकारिक तथ्याङ्कअनुसार नेपालको ४७ लाख हेक्टर खेतीयोग्य जमिनमध्ये ३० लाख ९१ हेक्टरमा मात्र खेती गरिएको छ । कृषिको क्षेत्रफललाई नियाल्दा हिमाली क्षेत्रमा ३५ प्रतिशत, पहाडी क्षेत्रमा ४२ प्रतिशत र तराई क्षेत्रमा २३ प्रतिशत मात्र जमिन छ ।
कुल खेतीयोग्य जमिनको लगभग २०–२५ प्रतिशत जमिन बाँझो छ । यसरी बाँझो हुनुमा खासगरी वैदेशिक रोजगारीका लागि युवाशक्ति पलायन हुनाले हो । यसबाट नेपालको धान उत्पादनमा प्रत्येक वर्ष नकारात्मक प्रभाव परेको छ ।
यो वर्ष नेपालमा झन्डै ५५ लाख ५१ हजार मेट्रिक टन धान उत्पादन भएको तथ्याङ्क कृषि मन्त्रालयले सर्वजनिक गरेको छ । यो परिमाण गत वर्षको तुलनामा करिब ५९ हजार मेट्रिक टन अर्थात् १.०५ प्रतिशतले कम हो ।
गत वर्ष ५६ लाख १० हजार मेट्रिक टनभन्दा बढी धान उत्पादन भएको थियो । समयमा मल आपूर्ति पर्याप्त मात्रामा हुन नसकेको र रोगको कारणले यो वर्ष धान उत्पादनको कम भएको सम्बन्धित पक्षको भनाइ छ ।
गत वर्षको पाँच महिना (वि.सं २०७७ साउन–मंसिर) मा १७ अर्ब १८ करोड ८६ लाख ९ हजार मासिक अर्थात् औसत ३ अर्ब ६३ करोड ५७ लाखको चामल आयात गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा ६५.३ प्रतिशतले बढी हो । धानखेतीमा सुधार नगरीकन, यहाँ चामल आयात घटाउन गाह्रो छ ।
आजसम्म पनि यहाँका अधिकांश ठाउँमा परम्परागत किसिमबाट धानखेती गर्नाले यसको उत्पादन वृद्धि गर्न सकिएको छैन । योबाहेक उपयुक्त समयमा बीउबिजन, मल, कीटनाशक औषधि आदिको अभावले धान उत्पादनमा नकारात्मक प्रभाव परेको छ ।
वस्तुतः धान उत्पादन वृद्धिका लागि नयाँ–नयाँ अनुसन्धानको आवश्यकता छ, जसका लागि धेरै बजेटको आवश्यकता छ । तर, यहाँ अनुसन्धानका लागि थोरै बजेट छुट्ट्याइन्छ, जुन सदुपयोग गर्न पनि सकिएको छैन । हुन त केही वर्षयता नार्कले केही उन्नत जातका धानको बीउ विकास नगरेको होइन । तर, प्रचार–प्रसारको कमीले यिनीहरूलाई प्रयोग गर्न सकिएको छैन ।
चैते धानखेतीलाई प्रश्रय दिन सके पनि यहाँ धान उत्पादन निकै वृद्धि हुन्छ । तर, हालसम्म पनि उक्त खेती थोरै ठाउँमा मात्र सीमित भएकाले धान उत्पादनमा सकारात्मक प्रभाव परेको छैन । यथार्थतः नेपालको अर्थतन्त्रमा धानखेतीले महत्वपूर्ण भूमिका खेल्छ । त्यसैले आगामी दिनहरूमा उक्त खेती प्रवद्र्धन गर्न उपयुक्त योजना बनाई कार्यान्वयन गर्न नितान्त आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्