द्वैध औपनिवेशिक मानसिकताको प्रभाव

सीमा वारिपारिको क्षेत्रमा रहेका विद्युतीय प्रसारण लाइनमा हुने गरेको अवरोधलाई आर्थिक औपनिवेशिकताको प्रभावले ग्रस्त मानसिकताको उपजका रूपमा लिन सकिन्छ ।
सार्वभौमसत्ता सम्पन्न मुलुकका सम्प्रभु नागरिक समाजलाई आफ्नो मातृभूमिप्रति असीम श्रद्धा र ममता रहेको हुन्छ । कुनै पनि प्रकारको औपनिवेशिक दासतालाई स्वतन्त्र राज्य व्यवस्थाले स्वीकार गर्न सक्दैन । स्वाभिमानीपूर्वक आत्मसम्मानका साथ आत्मनिर्भरताको मार्गमा अगाडि बढ्ने क्रममा औपनिवेशिक मानसिकताको भयबाट पूर्णतया मुक्त रहँदै राजनीतिक–आर्थिक प्रगतिको मार्ग पहिचान गर्नुपर्ने हुन्छ ।
आन्तरिक एवं बाह्य द्वन्द्वको नकारात्मक प्रभावको अनधिकृत लाभ उठाउँदै शक्तिशाली बाह्य साम्राज्यबाट मुलुकको स्वाधीनता, सार्वभौमसत्ता वा भौगोलिक अखण्डतामाथि अकल्पनीय विलचनजन्य परिस्थितिको निर्माण गर्नु वा गर्न चाहने नीतिगत व्यवहारलाई सामान्यतः औपनिवेशिकताको संज्ञा दिन सकिन्छ ।
अघोषित रूपमै भए पनि केही हदसम्म प्रस्तुत प्रवृत्तिको सामना गर्न मुलुक बाध्य रहेको तथ्यलाई इन्कार गर्न मिल्दैन । तथापि सार्वभौमिकता एवं भौगोलिक अखण्डताको सन्दर्भमा अपवादबाहेक धेरै हदसम्म राज्यलाई सफलता प्राप्त भएकै छ । राष्ट्रिय स्वाधीनताको विषयमा अनधिकृत सन्धि सम्झौताहरू गर्दै औपनिवेशिक मार्गमा हिँड्न नचाहने नेपाली प्रवृत्तिगत विशेषताका कारण दुई विशाल गणराज्यको बीचमा अवस्थित हिमाली गणराज्य नेपालले आफ्नो सार्वभौमसत्ता हालको अवस्थासम्म बन्धकमा राख्नुपरेको छैन भन्दा फरक नपर्ला । यद्यपि औपनिवेशिक मानसिकताबाट उद्यत रहेका समूहले मुलुकका राजनीतिक समूहलाई बेलाबखत विभिन्न प्रकारका आर्थिक एवं राजनीतिक प्रलोभनमा पारी प्रस्तुत व्यवहारहरू प्रतिस्थापन गर्ने प्रयास भएकै कारण मुलुकमा विभिन्न प्रकारका राजनीतिक–आर्थिक उतारचढाव हुने गरेको हो ।
सामान्यता औपनिवेशिक प्रभाव सम्बद्ध मुलुकको नागरिक पहिचानसँग सम्बन्धित रहने गर्छ । यस प्रकारको पीडाजन्य असरबाट नेपाल तथा नेपाली–जनमानसले कुनै पनि प्रकारको ऋणात्मक असर हालसम्म भोग्नुपरेको छैन, जसलाई राष्ट्रियताको सन्दर्भमा शुभसूचकको रूपमा लिन सकिन्छ । प्रस्तुत राजनीतिक व्यवहारबाट आफ्नो निहित स्वार्थपूर्ति नहुने अवस्था पैदा भए अर्को औपनिवेशिक प्रभावबाट ग्रसित तुल्याउने प्रयत्नहरू हुनेछन्, जसमा राजनीतिक पक्षको भूमिका गौण रहने हुँदा मुलुकको स्वाधीनता एवं सार्वभौमिकतामा कुनै प्रकारको ऋणात्मक असर पर्नेछैन ।
स्वतन्त्र मुलुकका नागरिक समुदायको सामाजिक जिजीविषाका विविध पक्षअन्तर्गतको महत्वपूर्ण पक्षका रूपमा रहेको अर्थसरोकारसँग प्रत्यक्ष सरोकार रहने पक्षलाई तात्विक असर पर्ने गरी प्रभावित तुल्याउन सकिए राजनीतिक असरभन्दा बढी ओजनदार रहने तथ्यलाई मनन गर्दै व्यवहारतः लागू गर्ने प्रयास गरिन्छ, जसलाई आर्थिक उपनिवेशको उपमा दिँदा फरक नपर्ला ।
जसको प्रभावजन्य असर सीमान्तकृत समूहका अतिरिक्त पुँजीपति वर्गमा समेत रहनेछ, जुन निश्चित रूपमा नागरिकको दैनिकीलगायत रोजीरोटीसँग प्रत्यक्ष संलग्न रहँदै आएको पाइन्छ । घोषित–अघोषित रूपमा यस प्रकारको अवस्थालाई पनि मुलुकले पार गरिसकेको छ । आर्थिक नाकाबन्दीलगायतका बेलाबखत पेट्रोलियम पदार्थमा हुने गरेको अप्रत्यक्ष न्यूनताका साथै सीमा वारिपारिको क्षेत्रमा रहेका विद्युतीय प्रसारण लाइनमा हुने गरेको अवरोधलाई आर्थिक औपनिवेशिकताको प्रभावले ग्रस्त मानसिकताको उपजका रूपमा लिन सकिन्छ । यसका अतिरितm मुलुकको आर्थिक क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्ने प्रवृतिका अल्पकालीन, मध्यकालीन एवं दीर्घकालीन असरदार सन्धि सम्झौतासमेतले यस कार्यलाई थप मजबुत बनाउन मद्दत पु-याउनेछ ।
राजनीतिको क्षेत्रमा आबद्ध रहने समूहलाई क्षणिक रूपमा प्राप्त हुने लाभहानिको आडमा मुलुक तथा नागरिक समाजलाई असहजताको भुमरीमा पार्ने कार्यले अन्ततः आर्थिक मनोविकृतियुक्त कार्यलाई मात्र प्रोत्साहन दिनेछ, जसले मुलुकलाई अन्त्यहीन आर्थिक औपनिवेशिकतामा ग्रसित गराउनेबाहेक अन्य कुनै ठोस उपलब्धिमूलक कार्य प्राप्त हुन सक्दैन । परिणामतः कालान्तरमा आर्थिक–राजनीतिक औपनिवेशिक धारमा मुलुक फस्न सक्ने सम्भावना रहेकाले समयमा नै विचार पु-याउनुपर्ने हुन्छ ।
प्रारम्भिक चरणमा आर्थिक उपनिवेशको नकारात्मक प्रभाव नागरिक समाजमा नदेखिए तापनि आर्थिक असमानताले ग्रसित गराउने प्रयास भने निश्चित रूपमा हुनेछ, जसका लागि वस्तु तथा सेवा खरिदको क्षेत्रमा सामान्यभन्दा सामान्य नागरिक समूहको पहुँचको अभिवृद्धि गर्दै उक्त सेवाप्रति लतउन्मुख व्यवहारको प्रयासलाई प्रमुख प्राथमिकतामा राखी कार्य आरम्भ गरिनेछ ।
तत्पश्चात्को अवस्थामा लत बसेकै कारण उक्त वस्तु तथा सेवाप्रतिको झुकाव अत्यधिक रहन जाने देखिन्छ । तदुपरान्त आर्थिक औपनिवेशिक मानसिकताले युक्त मुलुकले आफ्नो चलनचल्तीको मुद्रालाई सामान्यतया बाह्य मुलुकले सहजै खरिद गर्न नसकोस् भन्ने अभिप्रायःले महँगो पार्ने रणनीतिलाई अवलम्बन गर्दै व्यवहारत लागू गर्ने प्रयास गरिनेछ, जसबाट आर्थिक उपनिवेशले ग्रसित मुलुकका नागरिक समाजलाई सहज रूपमा लतयुक्त वस्तु तथा सेवाको खरिदको सन्दर्भमा असमञ्जस्यताको परिस्थिति निर्माण हुनेछ भन्न सकिन्छ, जसका कारण आर्थिक रूपले शक्तिसम्पन्न मुलुकको प्रभावजन्य आर्थिक रणनीतिभित्र विशेष गरी विकासोन्मुख एवं अल्पविकसित मुलुकहरू पर्ने गरेको तथ्यहरूले प्रमाणित गर्दै आएको वर्तमान अवस्था हो ।
यस प्रकारको ऋणात्मक असरलाई चिर्दै घनात्मक लाभ कसरी हासिल गर्ने भन्ने विषयलाई सकारात्मक रूपले लिँदै अग्रगामी आर्थिक छलाङसहितको दु्रतगामी आर्थिक सबलीकरणको सम्भावना बोकेका क्षेत्रहरू नेपालको हकमा विशेषतः ऊर्जा विकासको निरन्तरता, औद्योगिक विकासको दीर्घकालीन आक्रामक रणनीतिक योजनाका अतिरिक्त व्यावसायिक कृषि अवधारणालाई इमान्दारीपूर्वक आत्मसात् गर्ने प्रयासको विकासले आगामी केही वर्षभित्रमा नै जनजनले प्रत्यक्ष महसुस गर्ने गरी आर्थिक विकासको अनुभव गर्न सकिनेछ ।
तर, यसका लागि स्वदेशी श्रमलाई स्वीकार गर्दै वैदेशिक सहयोगलाई अति आवश्यक पर्ने कार्य क्षेत्रबाहेकका अन्य कुनै पनि क्षेत्रमा पूर्णतया निषेध गर्ने रणनीतिलाई अख्तियार गर्ने हो भने जसको प्रतिफल सकारात्मकतातर्फ अग्रसर रहने कुरामा कुनै प्रकारको द्विविधा रहनेछैन । प्रस्तुत भयभीत आर्थिक संकटबाट सकुशल मुक्त रहन आर्थिक रूपमा सबल रहँदै बाह्य परिनिर्भताबाट पृथक् रहनु नै एक मात्र भरपर्दो उत्तम उपायका रूपमा लिन सकिन्छ । आर्थिक संकटसम्बन्धी प्रस्तुत व्यवहारलाई पाठका रूपमा लिँदै औपनिवेशिक मानसिकताले भरिपूर्ण मुलुकको आर्थिक विकासमा गहिरो छाप पार्ने प्रमुख कारक तत्वको यकिन पहिचान गरी उक्त तत्व विशेषलाई मुलुकको आवश्यकताअनुरूपको कार्यक्षेत्रमा मात्राअनुसारको समायोजन गर्न सक्ने हो भने मनग्य आर्थिक लाभ लिन सक्ने परिस्थितिको जन्म भइसकेको देखिन्छ ।